सत्तारूढ दल नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले रास्वपाको हस्ताक्षर अभियानलाई 'नाटकीय' भनेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले रास्वपाको हस्ताक्षर अभियानलाई 'नाटकीय हस्ताक्षर अभियान' भनेका हुन्।
‘एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ । २०८२ साल असार ७ गते नै भैरहवा कारागारमा पूर्पक्षमा रहेका एक जना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको छ । त्यसलाई मैले याचना पत्र भनेको छु । त्यो याचनापत्रसहित अहिले हस्ताक्षर अभियान जारी छ,' उनले भने।
उनले हस्ताक्षर अभियान राजनीतिक प्रोपोगाण्डा रहेको बताए।
'राजनीतिक प्रोपोगाण्डा हो, राजनीतिक प्रचार हो र आफ्नो रोटी सेक्ने उपक्रम हो । सर्वोच्च अदालतबाट समेत त्यसबारेमा जुन आदेश भएको छ, त्यो आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन । अदालतले हस्ताक्षरको संख्या हेरेर होइन, रिट निवेदनका साथ संलग्न तथ्य, प्रमाण, बहस, पैरवी र तथ्यका आधारमा अदालतले निर्णय गर्दछ । यो कुरा हेक्का राख्न आग्रह गर्न चाहन्छु, ’ उनले भने।
सांसद थापाले जान्नेलाई छान्ने भनेर चुनावबाट सांसद भएकाहरुको उपस्थितिमा अदालतको आदेश बर्खिलाप हुनेगरी क्रियाकलाप भइरहेको बताए। —न्युज एजेन्सी नेपाल