नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको रिहाइको बहानामा चन्दा संकलन अभियान चलाइरहेको आरोप लगाएको छ।
पार्टी सभापति राजेश्वर खनालले वक्तव्य जारी गर्दै सहकारी संस्थाहरूको वचत रकम अपचलन गरेको आरोपमा थुनामा रहेका सभापतिको रिहाइको बहानामा जिल्लाका विभिन्न स्थानहरूमा हस्ताक्षर संकलन र चन्दा संकलन अभियान चलाइएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
‘सहकारी पीडितहरूको उजुरी र संसदीय समितिको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा रहेका व्यक्तिका सम्बन्धमा सर्वसाधारण जनतालाई दबाब र प्रभावमा पारी सञ्चालन गरिएको यस प्रकारको क्रियाकलाप कानुनी राज्य र विधिको शासन विपरीत भएको ठहर गर्दै दबाब र प्रभावजन्य यस्ता कार्यहरू तत्काल बन्द गरी अदालत र सम्बद्ध पक्षको अनुसन्धान कार्यमा अवाञ्छित प्रभाव नपार्न सम्बन्धित राजनीतिक दल र सो क्रियाकलापमा संलग्न व्यक्तिहरु समक्ष जोडदार माग गर्दछौं,’ कांग्रेस चितवनको वक्तव्यमा भनिएको छ।
खनालले आर्थिक अपचलनको विषयमा अनुसन्धानको दायरामा रहेका व्यक्तिसँग सम्बन्धित रहेर पुनः चन्दा संकलन अभियान नै सञ्चालन गरिनुले जनमानसमा थप शंका उत्पन्न गरेको बताए। उनले चन्दा संकलन कार्य तत्काल रोकी सम्बन्धित पक्षलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले सभापति लामिछानेविरुद्ध राज्यले गरेको प्रतिशोधपूर्ण व्यवहारको विरोधमा हस्ताक्षर संकलन गरिएको बताएको छ। जिल्ला सभापति कृष्णप्रसाद भुसालले कसैबाट पनि जबरजस्ती हस्ताक्षर र चन्दा असुली नगरिएको दाबी गरे।
‘यदि हामीबाट कहीँ कतै जबरजस्ती हस्ताक्षर वा चन्दा असुली गरेको भए प्रमाण पेश गर्न चुनौती दिन्छौं,’ भुसालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘देशभरबाट दसौं लाखको संख्यामा हस्ताक्षर संकलन भएको छ। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीको उद्गम थलो चितवन जिल्लामा यसको व्यापकता अतुलनीय छ।’
विज्ञप्तिमा रास्वपाको अवस्था देखेर तिल्मिलाएका आफूलाई लोकतन्त्रबादी हुँ भन्ने अमुक तत्वहरूले भ्रम छर्न खोजेकाप्रति ध्यानाकर्षण भएको उल्लेख छ। सभापति भुसालले हस्ताक्षर गर्न पुगेका व्यक्तिहरूलाई गालीगलौज तथा धम्कीपूर्ण भाषा प्रयोग गरिएको जानकारी पाएको बताए।
