नेकपा (एमाले) सचिव रघुवीर महासेठले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागिपरेको आरोप लगाएका छन्।
आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रियसँगै अन्तर्राष्ट्रिय शक्तिहरू लागिरहेको र त्यसको नेतृत्व प्रचण्डले गरेको आरोप लगाएका हुन्।
‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यो गठबन्धन तोड्नलाई प्रयास भइरहेको छ। जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालज्यूले गरिरहनुभएको छ। उहाँलाई यसमा सहयोग गर्ने धेरै स्वतन्त्र पार्टीहरु पनि छन्। स्वतन्त्र सांसदहरू पनि छन्। राष्ट्रिय स्वतन्त्र पार्टी पनि छन्,' उनले भने।
वर्तमान सत्ता गठबन्धन मन नपराउने सत्ता घटककै केही सांसदहरु पनि यसमा लागेको उनले बताए।
'गठबन्धन घटककै केही मान्यजीहरु पनि हुनुहुन्छ। जो यो सरकार बनेदेखि नै यो गठबन्धनको विरोधमा उहाँहरू क्रियाकलाप गरिरहनुभएको छ। मधेस प्रदेशका केही समानुपातिक सांसदहरु यो गठबन्धन बनेको दिनदेखि नै विदेशी शक्तिको आडमा यो गठबन्धनको विरोध गरिरहेको छ,' उनले भने।
तर पनि अहिलेसम्म वर्तमान गठबन्धन सरकार प्रतिकुल अवस्थामा नपुगेको बताउनु भयो।
'किनभने अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बीचमा जुन एउटा तालमेल बनाएर दुई जनाको सोचअनुसार यो सरकार अघि बढिरहेको छ,’ उनले भने।
सचिव महासेठले देशमा अहिलेको भन्दा कुनैपनि गठबन्धनको विकल्प नरहेको बताए। —न्युज एजेन्सी नेपाल