प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अझै पनि महाकाली सम्झौता कार्यान्वयन गर्ने पक्षमा रहेको बताएका छन्।
शनिबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महाकाली सम्झौता ठिक रहेको र सरकार अझै कार्यन्वयन गर्ने पक्षमा रहेको बताएका हुन्।
'महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ। अहिले सबै कार्यान्वयन गर्ने पक्षमा छन् म पनि छु,' उनले भने।
उनले निकट भविष्यमै कार्यान्वयन गर्ने तयारी रहेको पनि बताए।
'सम्भव भएसम्म निकट भविष्यमै महाकाली सम्झौता पारित गर्दै पञ्चेश्वर परियोजना कार्यानव्यन गर्छौं। यो गर्नुपर्ने छ,' उनले भने।
उनले सोही सम्झौताअनुसार बिजुलीको पैसा, पानी लिइरहेको बताए। चाँदनी दोधारामा पानीको विषयमा फेरि कुरा अगाडि प्रधानन्त्री ओलीले बताए।
उनले त्यतिबेला पार्टी विभाजन गर्नका लागि महाकालीमा नक्कली इस्यू खडा गरिएको बताए।
'महाकालीको इस्यू भनेको जसलाई त्यतिबेला राष्ट्रवादको झन्डा देखाएर महाकाली भन्दै कुद्ने स्थिति थियो। नक्कली आडम्बरी र पाखण्डी कुरा थियो त्यसमा कुनै दम थिएन,' उनले भने, 'त्यो सन्धी ठिक छ। सम्झौता ठिक छ। तर त्यसबेला नदी खोला बेचे खाए भनियो। कुनै नदी खोला बेचिएको थिएन,' उनले भने।
उनले स्वाधीनता र सार्बभौसत्ता अलिकति पनि तलमाथि हुन नदिने पार्टीमाथि त्यस्तो आरोप लगाएको पनि बताए।
'नेकपा एमाले राष्ट्रको सार्वभौमसत्ता सम्प्रभूत्ता, भोगोलिक अखण्डता राष्ट्रिय हित स्वाधीनता स्वतन्त्रता अथवा स्वाभिमान केहीलाई पनि बेच्ने त कल्पनै छाडिदिऔं अलिकति तलमाथि हुन नेकपा एमालेले दिँदैन। यस्तो शक्तिमाथि आरोप लगाइयो,' उनले भने।