नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताएका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यवहारिक र सांस्कृतिक विचलन देखिएको बताएका हुन्।
'हिजो चाहे जनक्रान्तिको बेला होस् वा जनआन्दोलनको बेलामा जुन किसिमको समर्पण प्रदर्शन गर्दथ्यौं, आज-भोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ। सबैतिर पदको निम्ति, स्वार्थको निम्ति आफ्नो व्यक्तिगत प्रतिष्ठाको निम्ति मान्छे तँछाडमछाड गरेको सबैतिर देखिन्छ,' उनले भने।
कम्युनिष्ट पार्टी स्थापना हुनुको पछाडि जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रुपले समर्पित गर्ने प्रतिवद्धता व्यक्त भएको थियो त्यो अनुसार अहिलेका आन्दोलन अघि बढ्न नसकेको बताए।
कम्युनिस्ट आन्दोलनले विचार, राजनैतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरुको मुक्तिका निम्ति समर्पित हुनुपर्ने त्यस्तो नभएको बताए।