काठमाडौं महानगरपालिकाले निर्धारित समय (असार १०) मा बजेट ल्याउन चुकेपछि बजेट तर्जुमा तथा कार्यकम समितिले मेयर बालेन साहको ध्यानाकर्षण गराएको छ।
मंगलबार राति अनौपचारिक रुपमा बसेको बजेट तर्जुमा समिति बैठकले मेयर साहलाई बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।
सो निर्णयबारे बुधबार बिहान औपचारिक रूपमै मेयर शाहको ध्यानाकर्षण गराइएको समितिका सदस्यसचिव सुमित्रा लामिछानेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
मेयर बालेनले नै आफ्नो नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्न पहल नगरेपछि काठमाडौं महानगर समयमा बजेट ल्याउनबाट चुकेको आरोप पनि बजेट तर्जुमा समितिले लगाएको छ।
महानगरकै प्रवक्ता नवीन मानन्धरले पनि मेयरबाट पहल नभएको बताए।
‘सबैभन्दा बढी पहल मेयरज्युले गर्नुपर्ने हो तर उहाँबाटै त्यो भएन कि भन्ने लागेको छ,’ मानन्धरले भने, ‘उहाँले समन्वय गरेको भए त हिजै बजेट आइहाल्थ्यो नि!'
पुरानो बसपार्कको भ्युटावरको विषयमा अनियमितताको आरोप लगाएर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यालय प्रवेशमै रोक लगाएका थिए। पछि सरकारले पुनः गुरागाइँलाई महानगर पठाएको थियो। त्यतिबेला वडाध्यक्ष र कर्मचारीहरूले गुरागाइँलाई कार्यालय प्रवेश गराएपछि मेयर बालेन बैठक र छलफलमा सहभागी छैनन्।
बजेट तर्जुमा समितिको बैठकमा २०८२/०८३ को बजेट सीमा निर्धारण नहुँदा महानगरपालिकाले सञ्चालन गरेको विकास निर्माण, कर्मचारीको पारिश्रमिक, जेष्ठ नागरिकले प्राप्त गर्ने भत्ता, तथा काठमाडौं महानगरपालिकाको फोहोरमैला संकलन तथा विर्सजनमा समेत साउन १ गतेबाट बजेट अभावले प्रत्यक्ष असर पर्न सक्ने विषयमा छलफल भएको एक सदस्यले जानकारी दिए।
अनौपचारिक बैठकमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ ले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) अुनमान कार्यापालिकाबाट स्वीकृत गराई असार १० गते भित्र नगरसभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था गरेकोमा ऐनले तोकेको उक्त समयसीमाको पालना नगरेको सम्वन्धमा पनि गम्भीर समीक्षा गरेको छ ।
‘ऐनको दफा ६६ बमोजिमको नगर प्रमुखको संयोजकत्वमा गठन भएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको आफ्नो कार्य वैशाख १० गते भित्र सम्पन्न गरी बजेट तर्जुमा सम्बन्ध्ी कार्य सम्पादनमा सहजिकरण गरी दिनुपर्ने दफा ६६ (६) ले तोकेको समय सीमा पालना हुन नसकेको सम्वन्धमा पनि बैठकमा समीक्षा भएको पत्रमा उल्लेख छ।
‘ऐनको दफा ६६ बमोजिम प्रमुखज्युको संयोजकत्वमा गठन भएको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले निर्धारण गरेको आयाको प्रक्षेपण र वितरणको खाका र बजेट सीमामा आधारिकत भई दफा ६७ बमोजिमको यस बजेट तथा कार्यक्रम तर्जुमा समितिले महानगरपालिकाको बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्न सक्ने भएको हुँदा दफा ६६ बमोजिमको स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक सम्पन्न गरी यस समितिको काम कारबाहमा सहजीकरण गरिदिनका लागि स्रोत तथा बजेट निर्धारण समितिका संयोजक रहनु भएका श्रीमान प्रमुखज्युको ध्यानाकर्षण गर्दै प्रस्तुत निर्णयको जानकारी गराउने निर्णय गर्दछौँ,’ पत्रमा भनिएको छ ।
बजेट तर्जुमा समितिको संयोजकमा उपप्रमुख डंगोल छन्।
सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईँ, सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर, रावश्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक ईश्वरमान डंगोल, सुशासन समितिका संयोजक ख्याम तिवारी, सामाजिक समितिका संयोजक रामकुमार केसी, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, भवन व्यवस्थापन समितिका संयोजक हिरालाल तण्डुकार, शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, कृषि तथा पशुपंक्षी तथा सहकारी व्यवस्थापन समितिका संयाजक रामजी भण्डारी, विपद् समितिका संयोजक प्रेम थापा र सुमित्रा लामिछाने सदस्य सचिव छन्।

