नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधेयकहरू समितिबाट पारित हुने विधेयकहरू सरकारले सदनबाट पारित गर्न ढिला गर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
बुधबार राज्य व्यवस्था समितिको बैठकमा प्रहरी विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले समितिबाट पारित गरिसकेका विधेयकलाई अनावश्यक रूपमा ढिलाइ हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन्।
उनले प्रहरी विधेयकसँगै संघीय निजामती ऐन, विद्यालय शिक्षा विधेयकहरू पनि महत्वपूर्ण रहेको बताए।
‘...सरकारसँग केही लचिलो भएर समझदारी गरेर भए पनि महत्वपूर्ण संघीय निजामति ऐन, विद्यालय शिक्षा विधेयक भनेको लगायत पारित गरौं। तर कता कता चिन्ता भएको छ। यत्तिकै टारिने त होइन भनेर चिन्ता भएको छ। सरकारको ध्यानाकर्षण त गराइराखेको छु। छेडाखानी नगरियोस्। डिले नगरियोस्,’ उनले भने।
यस्तै उनले सरकारसँग लचिलो हुनुको कारण पनि विधेयकहरू छिटो पारित होस् भन्ने उद्देश्यले रहेको बताए।
‘मैले कतिपय कुरामा सरकारसँग समझदारी बनाऔं भन्नु पछाडिको कारण संवेदनशील र महत्वपूर्ण विधेयकहरू छिटो ऐनमा परिणत हुोउन् भनेर हो,’ उनले भने।
उनले विधेयक समितिबाट पारित भएर सदनमा गएपछि पनि चलखेल हुने गरेको बताए।
‘समितिमा बस्छौं, छलफल गर्छौं। माननीय सदस्यज्यूहरूले अध्ययन गरेर विचार गरेर पारित पनि गर्छौं। तर हामीले पारित गरेका प्रस्तावहरू विधेयक फुल हाउस पुग्नेसम्म धेरै चलखेल हुने गरेका छन्। त्यसमा डिले हुने गरेको छ। धेरै कुराहरू हुने गरेको छ,’ उनले भने, ‘अहिले पनि देशको समग्र राजनीतिक परिस्थितिलाई हेरेर र केही संवेदनशील र असाध्धै महत्वपूर्ण विधेयकहरू जो हामीले धेरै मेहेनत गरेर सदन पुर्यायौं। सदनबाट समितिमा आयो। समितिमा छलफल गरेर पारित पनि गर्यौं। तर सदनमा पुगेर कार्यसूचीमा चढेर पनि हटाएको देख्दा चिन्ता पनि लागेको छ।’
प्रहरी विधेयकमाथि छलफल गर्न बुधबार गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, प्रहरी महानिरीक्षक दिपक थापा पनि सहभागी छन्।