जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रको मात्रै प्रधानमन्त्री बन्ने गरेको बताएका छन्।
शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक कार्यक्रममा उनले प्रधानमन्त्री र मन्त्रीहरु पूरा देशको नभइ आफ्नो निर्वाचन क्षेत्रको मात्रै हुने गरेको आरोप लगाएका हुन्।
'अरु देशमा प्रधानमन्त्री देशको हुन्छ । हाम्रोमा प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्रै हुन्छ । आफ्नो निर्वाचन क्षेत्रको प्रधानमन्त्री हुन्छ । सबै स्रोत,साधन त्यहीँ पुर्याउँछ। त्यसपछि मन्त्री निर्वाचन क्षेत्रको हुन्छ। कतिपय सांसद त घरको न घाटको हुन्छन्,' उनले भने।
अध्यक्ष यादवले पूरै देशको प्रधानमन्त्री र पूरै देशको संसद हुने स्थिति नबनाएसम्म स्थिरता नहुने जिकिर गरे।
उनले राजनीतिक स्थिरता नभइ विकास नहुने पनि बताए। -न्युज एजेन्सी नेपाल