नेपाली कांग्रेसका नेताहरूले सप्तरीको राजविराज नगरपालिकामा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालयदेखि प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण गराएका छन्।
'राजविराज नगरपालिकामा चरम भ्रष्टाचार, विकास अभाव र प्रशासनिक लापरबाहीविरूद्ध उच्चस्तरीय छानबिनको माग' गर्दै प्रधानमन्त्री, गृह मन्त्रालय, राजविराज नगरपालिका र जिल्ला प्रशासन कार्यालय सप्तरीसमक्ष गम्भीर ध्यानाकर्षण गराएको कांग्रेस नेता रंजित कर्णले जानकारी दिए।
उनका अनुसार यस सन्दर्भमा आवश्यक छानबिन र कारबाही नभएमा स्थानीय तहबाट थप संघर्षका कार्यक्रम अघि सारिनेछ।
नगरपालिकामा भएको भ्रष्टाचार र बजेट अनियमितताको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न, दोषी पदाधिकारीहरूलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न, अधुरा रहेका पूर्वाधार आयोजनाहरू तुरून्तै सम्पन्न गर्न, प्रहरी प्रशासनको उपस्थितिमा भएको तोडफोड घटनाको छानबिन गर्न उनीहरूको माग छ।
साथै नेपाल सरकारका कर्मचारीबाट जनतामाथि भएको दुर्व्यवहारबारे पनि छानबिन गरी आवश्यक कारबाही गर्न र स्थानीय निकाय र प्रहरी प्रशासनलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाई विकासमा केन्द्रित गर्न उनीहरूको माग छ।
जिल्ला प्रशासन कार्यालयमार्फत् उनीहरूले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराएका छन्।
