न्याय परिषदले ४ जना न्यायाधीशलाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको न्याय परिषद बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजन प्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्त गर्ने सिफारिस गर्ने निर्णय गरेको हो।
यस्तै उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवरलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश, उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीशमा र उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश पदमा नियुक्त गर्न सिफारिस गरेको हो।
यस्तै, उच्च अदालत दिपालयका न्यायाधीश गोकर्ण डाँगीको उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा सरूवा गर्ने सिफारिस गर्ने निर्णय भएको न्याय परिषद्का प्रवक्ता अशोक कुमार क्षेत्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, न्याय परिषदले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौंडा इजलासमा कार्यरत शान्ता सेढाईं सापकोटालाई तोक्न सिफारिस गर्ने निर्णय गरेको छ।