नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईलाई 'सबैभन्दा बुद्धि नभएका डाक्टर' भनेका छन्।
बुधबार रूकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बाबुराम भट्टराईसँग पार्टी एकताबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले बाबुरामलाई सबैले 'बुद्धि नभएको डाक्टर' भनेर चिन्ने बताउँदै एकता सम्भव नभएको बताएका हुन्।
'सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। त्यस्तासँग के गरी एकता गर्ने?,' उनले भने।
उनले पार्टी एकता गर्ने भनेरै अघिल्लो निर्वाचनमा आफू गोरखाबाट लडेको बताए।
'गोरखाबाट लड्दा नारायणकाजी कमरेड, म, बाबुराम लगायतले अब यो चुनाव मात्रै होइन पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँ पछि कम्युनिस्टको नाम सुन्न चाहनुभएन। कम्युनिस्ट पार्टीको नाम राख्ने हो भने म एकता गर्दिनँ भनेपछि के गर्ने?बाबुरामका लागि मर्ने?,' प्रचण्डले भने।
उनले बाबुराम खिइँदै खिइँदै गएर प्रतिक्रियावादीसँग मिल्न गएको आरोप पनि लगाए।
'कम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे त्यस्तोसँग के गरी एकता गर्ने? खिइँदा खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नुभएको छ। प्रतिक्रियावादीले पनि पत्याउँदैनन् आजभोलि। हाँसोको पात्र भएका छन् बाबुराम देशभरि। कस्तो बुद्धि नभएको डाक्टर,' प्रचण्डले भने।
उनले बाबुरामसँग भएकाहरू माओवादी केन्द्रमा फर्किने दाबी गरे।
'एकता गर्नेजतिसँग त गर्ने भइयो नी गंगानारायण श्रेष्ठ लगायतका उहाँसँग भ्रममा परेर गएका सबै फर्किँदै हुनुहुन्छ पर्सी। यो एकता होइन त? बाबुरामलाई के गरी ल्याउने? दिमाग चाहिँ ठाउँमा हुनुपर्यो। र पो ल्याउन सकिन्छ,' अध्यक्ष प्रचण्डले भने।