तोडफोड, हुलहुज्जत र कुटपिटपछि अवरूद्ध नेकपा (एमाले) धनुषाको अधिवेशनको बाँकी प्रक्रिया जेठ ७ गतेबाट सुरू हुने भएको छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार एमाले धनुषा अधिवेशनको निर्वाचन प्रक्रिया जेठ ७ गतेबाट हुनेछ।
वैशाख २० देखि सुरू भएको आठौं अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली टाँस्ने बेला विवाद भएको थियो।
त्यहाँ एमालेका दुई समूहबीच चुनावी प्रतिष्पर्धा हुँदै थियो। एउटा समूहको नेतृत्व केन्द्रीय सचिव रघुवीर महासेठले गरेका थिए। अर्को समूहको नेतृत्व केन्द्रीय सदस्य उमाशंकर अरगरिया लगायतले गरेका छन्।
उम्मेदवारको अन्तिम नामावली निकाल्नेबेला महासेठ इतर समूहले बखेडा झिक्दा अधिवेशन कुटाकुटमा परिणत भएर पाँच जना घाइते भएका थिए।
‘उम्मेदवारको नामावली टाँस्नेबेला झैझगडा भयो र निर्वाचनका सामग्रीहरू नै च्यातचुत भयो। अब कति सामग्री च्यातिएका छन् त्यो आधारमा जेठ ७ गते नै मतदान प्रक्रिया सुरू हुन्छ कि हुँदैन अहिले नै भन्न सकिँदैन,’ सुब्बाले सेतोपाटीसँग भने।
उनले बाँकी प्रक्रिया संशोधन नहुने र जे उम्मेदवारी दर्ता त त्यहीअनुसार अघि बढ्ने बताए।
‘असन्तुष्ट पक्षको दाबी, विरोधबारे हामी छानबिन गर्छौं। तर नयाँ प्रक्रिया सुरू हुँदैन,’ उनले भने।
एमाले धनुषामा सचिव रघुवीर महासेठ, पोलिटब्युरो सदस्य जुली महतो, केन्द्रीय सदस्य हरिनारायण महतो एकातिर छन्। एमाले मधेस प्रदेश संसदीय दलका नेता यादव, केन्द्रीय सदस्य उमाशंकर अरगरिया, मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, निवर्तमान अध्यक्ष राजकिशोर यादव, सञ्जीव झालगायत नेता एकातिर छन्।
दुवै पक्षले समूह बनाएर उम्मेदवार खडा गरेका छन्। महासेठ पक्षले अध्यक्षमा भोला यादव, उपाध्यक्षमा जयप्रकाश सुनरैत, सचिवमा दीपनारायण ठाकुर, उपसचिव (खुला) मा सविनविक्रम थापा र महिलातर्फ किरण कापरलाई अघि सारेको छ।
इतर समूहले अध्यक्षमा लक्ष्मीनारायण यादव, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा धिरेन्द्रकुमार मण्डल, खुला उपसचिवमा हरिकिशोर यादव र महिला उपसचिवमा रूकाकुमारी मिश्र अघि सारेका छन्।
अधिवेशनमा ६३० जना प्रतिनिधि छन्। एमालेमा धनुषाको मात्रै जिल्ला अधिवेशन बाँकी छ।
त्यस्तै १३ वटा जनसंगठनको अधिवेशन गर्न बाँकी रहेको सुब्बाले बताए।
१३ जनसंगठनको अधिवेशन पनि महिनाभित्र सक्न निर्देशन दिइसकेको उनले बताए।
एमालेले गत चैत मसान्तसम्म जनसंगठनको महाधिवेशन सम्पन्न गर्ने निर्देशन दिए पनि १० वटा मात्र जनसंठनको महाधिवेशन सम्पन्न भएका छन्।
आयोग अध्यक्ष सुब्बाका अनुसार अनेरास्ववियु, राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ राष्ट्रिय स्वास्थ्यकर्मी महास)लगायतको महाधिवेशन गर्न बाँकी रहेको छ।
ती जनसंगठनको महाधिवेशन यही जेठभित्र सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन गरिसकेका छन्। एमालेका २२ जनसंगठन रहेका छन्।
युवा संघको अधिवेशन यही जेठ ९ देखि ११ र अनेरास्ववियुको २५ देखि २७ गते हुँदैछ।