नेपाली कांग्रेसका नेता महेशकुमार कोर्मोचाको निधन भएको छ।
कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका पूर्वसभापति र २०४९ को स्थानीय तहको निर्वाचनमा जिल्ला विकास समिति ओलखढुंगाका सभापति रहेका कोर्मोचाको जेठ २ गते बेलुकी बिएण्डबी अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको थियो।
उनको पार्थिव शरीरलाई जेठ ४ गते (आज) बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। उनको पार्थिव शरीरलाई गृह जिल्ला ओखलढुंगाको खिजीचण्डेश्वरी लगी दाहसंस्कार गरिने कांग्रेसले जनाएको छ।
वि.सं. १९९९ सालमा जन्मेका कोर्मोचा ब्रिटिस सेनाको जागिर छोडेर नेपालको लोकतान्त्रिक आन्दोलनमा लागेका थिए।
नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूका क्रममा उनले लामो समय जेल जीवन र प्रवास समेत व्यहोरे।
उनी मानव अधिकारको क्षेत्रमा समेत सक्रिय रहँदै दर्जनौं संस्थाहरूसँग आवद्ध भएर ओलखढुंगाको विकासमा योगदान पुर्याउँदै आएका थिए।
कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोर्मोचाको निधनबाट कांग्रेसले एक कुशल संगठनकर्ता, अग्रज र एक अनुभवी राजनीतिज्ञलाई गुमाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कोर्मोचाको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।
‘लोकतान्त्रिक आन्दोलनका अथक योद्धा महेशकुमार कर्मोचाको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ। स्वर्गीय कोर्मोचाले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ,’ सभापति देउवाको भनाइ छ।