प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एक-एक रुपैयाँ उठाएर पार्टी कार्यालय भवन बनाउँछौं भन्ने मानिसहरू पनि निस्किएको टिप्पणी गरेका छन्।
गत असोजमा एमालेले भाटभटेनी सुपरमार्केट सञ्चालक मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय भवन शिलान्यास गरेको थियो।
व्यवसायीबाट दानमा जग्गा लिएर पार्टी कार्यालय भवन शिलान्यास गरेपछि उक्त कदमको विरोध गरेका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेसनालाई एमालेले निलम्बन गरेको थियो। उनीहरूको निलम्बन अझै फुकुवा भएको छैन।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा भएको कार्यक्रममा फेरि पार्टी कार्यालय शिलान्यासको प्रसंग उप्काए।
भन्नलाई केहीले एक-एक रुपैयाँ चन्दा उठाएर पार्टी कार्यालय बनाउन सकिन्छ भने पनि वास्तवमा एक रुपैयाँ पनि चन्दा नआउने अवस्था रहेको उनको भनाइ थियो।
‘यति ठूलो काम आँटियो, एक दुइटा सानातिना कामहरूमा साथीभाइहरू बहुत हौसिन्छन्, हामी छौं भन्छन्, चन्दा उठाएरै बनाइन्छ। हाम्रो पार्टी कार्यालय घर एक-एक रूपैयाँमा हामी बनाउँछौं भन्ने पनि निस्किए,’ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, ‘एक-एक रुपैयाँमा पार्टी अफिस बनाउने रे! एक एक रुपैयाँ चन्दा दिन्छौं, पार्टी अफिस बनाउँछौं। चन्दा कतिले दिन्छ भन्दा एक एक रुपैयाँ कहाँ साटेर ल्याउने भन्छन्। अहिलेको जमानामा एक रुपैयाँ कहाँबाट साटेर ल्याउने? दिँदैनन् त्यो पनि। त्यसकारण भन्ने एउटा हो वास्तविकता अर्को कुरा हो।’
प्रधानमन्त्री ओलीले कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले चितवनमा क्रिकेट रंगशाला बनाएको प्रसंग पनि निकाले।
‘धुर्मुस सुन्तलीले क्रिकेट मैदान सुरू गरे, बहुत दु:ख पाए। माया लाग्छ,’ बालुवाटारमा मंगलबार कलाकारहरूमाझ प्रधानमन्त्री ओलीले भने, ‘तर त्यो क्रिकेट मैदान पनि बन्छ। उनीहरूको दु:ख कष्ट पनि हट्छ एकदिन। मैले त यही दु:ख पाइन्छ भनेर नबनऊ भनेको थिएँ।’
यो पनि: प्रधानमन्त्रीले शिलान्यास गरे चलचित्र छायांकन स्टुडियो