नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले सांसदहरूको भूमिका कानुन बनाउने भए पनि पुल र बाटो बनाऔं भन्नु परेको बताएका छन्।
राष्ट्रिय समाचार समितिसँगको कुराकानीका क्रममा बर्तौलाले सांसदको भूमिका के हो र संवैधानिक अधिकार के हो भन्ने विषयमा प्रष्ट हुनुपर्ने पनि बताए।
‘सांसद भनेको कानुन निर्माण गर्ने हुन भन्ने बुझिन्छ, त्यो हो पनि तर हामीले निर्वाचनमा विशेष गरी कानुन निर्माणको पाटोभन्दा पनि विकास निर्माणको पाटोलाई बढी प्रचार गरियो। निर्वाचनको समयमा हाम्रो मुख्य काम कानुन निर्माण गर्ने हो भनेर भन्न सकेनौं,’ बर्तौलाले भने, ‘विकास निर्माणको अभियन्ता बनेर काम गर्छौं भनियो। २०७४ सालभन्दा अगाडि केन्द्रीकृत शासन प्रणाली हुँदा त्यो कुरा ठिकै थियो होला। हामी सङ्घीयतामा गइसकेपछि पनि सांसदले वडाअध्यक्ष वा पालिका प्रमुखले गर्ने कुरा गरिरहेका छौं।’
तीन तहको सरकारमा गइसकेपछि पनि सांसदले विकासको कुरा गरिरहेको उनले बताए।
‘मैले निर्वाचनको समयमा विकास निर्माणसँग जोडिएका जनताका माग पूरा गर्छु भनेको थिएँ। जस्तोः एक पालिका, एक आवासीय विद्यालय। त्यसका निम्ति नीति तहमै परिवर्तन गर्छु भनेको थिए। घरघरमा खानेपानीको व्यवस्था गर्छु भनेको थिए। स्रोतसाधन परिचालनका निम्ति सक्दो पहल गर्छु भनेको थिएँ। यी पाटोमा मैले केही सकारात्मक ढङ्गबाट काम गर्न पहल गरेको छु,’ उनले भने।
मानव संसाधान विकासका लागि विभिन्न तहका सरकारसँग समन्वय गरेर सीपमूलक कार्यक्रमका निम्ति काम गर्नुपर्ने उनले बताए।
‘आफ्नो भूमिका कानुन निर्माण गर्ने भए पनि हामीले सडक बनाऔं, पुल बनाऔं र विद्यालय बनाऔं भन्नु परेको छ। पछिल्लो समयमा हामीले सांसदको भूमिका, काम र कर्तव्यका बारेमा पनि समीक्षा गर्नुपर्ने भएको छ,’ उनले भने।