समाजवादी मोर्चाको बैठक नेकपा (माओवादी केन्द्र) को पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसिरहेको छ।
बैठक केही बेरअघि सुरू भएको माओवादी केन्द्रले जानकारी दिएको छ।
संविधान, गणतन्त्र र संघीयताविरूद्ध राजावादी शक्तिहरू चलमलाएको भन्दै यसको रक्षा र प्रवर्द्धनबारे बैठकमा छलफल भइरहेको माओवादी केन्द्रले जानकारी दिएको छ।
गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा ध्वंशात्मक प्रदर्शन गर्दा दुई जनाको ज्यान गएको थियो।
एक जना प्रदर्शनकारी कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको प्रहरीको गोली लागि मृत्यु भएको थियो। राजावादीहरूले निजी घरमा आगो लगाउँदा एभिन्युजका भिडियो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।
आन्दोलनकारीहरूले आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय, एकीकृत समाजवादीकै जिल्ला कार्यालय, तीनकुनमा रहेको दुईवटा निजी घर, सञ्चारगृह, कोटेश्वरमा रहेको जडिबुटी कारखानामा तोडफोड र आगजनी गरेका थिए। राजावादीहरूले १४ वटाभन्दा बढी सार्वजनिक सवारीसाधनमा आगजनी गरेका थिए।
समाजवादी मोर्चाले यसबारे छलफल गर्ने र निर्णय गर्ने जानकारी दिएको हो।