काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले खोजिरहेको छ।
उनको खोजी गर्न प्रहरीले विभिन्न युनिट परिचालन गरेको छ। तर उनी फेला परेका छैनन्।
यद्यपि शुक्रबार तीनकुनेबाट फरार हुनुअघि प्रसाईं धर्मगुरू पुस्कर खतिवडासँगै भागेको खुलेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार कार्यक्रमस्थलबाट प्रसाईं खतिवडासँगै निस्किएका थिए।
यो पनिः तीनकुनेमा प्रहरीको भिडलाई पेलेर गाडी हुइँक्याए दुर्गा प्रसाईंले (भिडिओ)
इमाडोलस्थित घरमा केहीबेर बसेर प्रसाईं त्यहाँबाट पनि फरार भएका हुन्।
धर्मगुरू खतिवडा भने पक्राउ परेका छन्।
‘दुबै जना सँगै इमाडोल आएका रहेछन्। केहीबेरमा निस्किएको भन्ने छ,’ उनले भने, ‘एउटा स्याउ र केरा खाएर निस्किएका रहेछन्।’
प्रहरीका अनुसार उनको मोबाइल अफ छ।
मोबाइलको अन्तिम लोकेशन गैरीगाउँ देखिएको थियो।
उनले आफूलाई जहाँ बोलाएपनि हाजिर हुन तयार हुने भन्दै सामाजिक सन्जालमा लेखेका थिए। तर अहिले सम्पर्कविहीन भएका हुन्।
प्रहरीले अहिले तीनकुनेमा राजावादी आन्दोलनमा सहभागी भएका नेताहरूलाई पक्राउ गरिरहेको छ।
रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ परिसकेका छन्। उनीहरूमाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ।