राजावादीहरूले राजसंस्था फर्काउन 'संयुक्त जनआन्दोलन'को घोषणा गर्दै नवराज सुवेदीलाई कमाण्डर तोकेपछि अहिले राजनीति गर्माएको छ।
यो प्रसंग यसकारण पनि चर्चामा छ। राजावादीहरूले राजसंस्था फर्काउन सदन र सडकमा मुद्दा उठाइरहेका अहिलेका चर्चित पात्रहरूलाई अघि सारेका छैनन्।
इतिहासमा सक्रिय तर वर्तमानमा गुमनाम बन्न पुगिसकेका र समकालीन राजनीतिमा बिर्सिइसकेका ८६ वर्षका वयोवृद्ध पञ्च अघि सारेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापाहरू क्रुद्ध बनेका छन्।
सुवेदीलाई कमान्डर तोकेर बनाइएको निर्देशक समितिमा लिङ्देन र थापाले त बस्न अस्वीकार नै गरिसकेका छन्।
सल्लाहकार तोकिएका सदस्यहरू पनि ‘जानकारी नै बिना राखिएको’ भन्दै समितिमा रहन इन्कार गरेका छन्।
सुवेदी अघि सार्नुमा पूर्वराजा ज्ञानेन्द्र शाहकै प्रत्यक्ष चासो देखिन्छ। ज्ञानेन्द्रको इच्छा पूर्ति गरिदिन राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणाले प्रमुख भूमिका खेलेका थिए।
ज्ञानेन्द्रकै आकांक्षाअनुसार मिश्र र राणाले राजनीतिबाट पाखा लागिसकेका ८६ वर्षीय सुवेदी मैदानमा उतार्दा राजावादीहरू भित्र भाँडभैलो मच्चिएको छ।
यो पनि: राजा पुनर्स्थापना गर्ने 'जनआन्दोलन' सुरू नहुँदै भाँडभैलो
तर नवराज सुवेदी अहिले अर्को कारणले पनि चर्चित छन्।
उनले लेखेको आत्मकथा इतिहासको एक कालखण्डमार्फत् उनले खुलासा गरेका दुई विषयले अहिले राजावादीहरूको मुख रातो भएको छ।
सुवेदीले किताबमा उल्लेख गरेको पहिलो प्रसंग पूर्वराजा ज्ञानेन्द्र शाहका बारेको हो।
२०२५ सालमा नवराज सुवेदी उद्योग वाणिज्य मन्त्री थिए। अघिल्लो क्याबिनेटमा सहायक अर्थमन्त्री भएका सुवेदी एक वर्षमै बढुवा भएर फुल मन्त्री भएका थिए।
त्यतिबेला राजा महेन्द्र शाह थिए। प्रधानमन्त्री कीर्तिनिधि विष्ट थिए। ज्ञानेन्द्रले व्यापार व्यवसायमा हात हालेका थिए।
त्यतिबेलै हात हालेका कतिपय व्यापारले अहिले पनि निरन्तरता पाइरहेका छन्। तत्कालीन ज्ञानेन्द्रले उद्दमीहरूले लगानी गरेर खोलेका नीजि उद्योगहरूमा बिना लगानी आफ्नो हिस्सा खोज्ने, दुःख दिने गरेको प्रसंग नवराज सुवेदीले आफ्नो आत्मकथामा विस्तारमा चर्चा गरेका छन्।
मन्त्री पदमा शपथ लिँदै गर्दा तत्कालीन राजा महेन्द्रले नै ‘लामो समय तिमीले यसै मन्त्रालयमा काम गर्नुपर्छ। मेरो परिवारको दबाब आउन सक्छ, डर नमानी काम गर’ भनेको प्रसंगसमेत उल्लेख गरेका छन्।
तिनताक अधिराजकुमार, अधिराजकुमारीहरू व्यापार–व्यवसायमा संलग्न रहेको र उनीहरूले अनेक दबाब दिने गरेको सुवेदीले बताएका छन्।
‘श्री ५ अधिराजकुमार हिमालय, बसुन्धरा र श्री ५ अधिराजकुमारी हेलेन तीनै जना व्यापारमा हुँदा उहाँहरूबाट बारम्बार दबाब आउँथ्यो। पछि श्री ५ अधिराजकुमार ज्ञानेन्द्र पनि थप होइबक्स्यो। राजा केही पनि नदे भन्ने तर, उहाँहरूलाई पूर्ण सहुलियत चाहिने,’ सुवेदीले भनेका छन्।
महँगा घडी उत्पादन गर्ने विश्व प्रशिद्ध ‘ओमेगा’ नेपालमा फ्याक्ट्री खोल्न चाहन्थ्यो। यहाँ बनेका घडी विदेश निर्यात गर्ने उसको योजना थियो। १७५ वर्ष पुरानो यो स्विस कम्पनी अहिले ‘स्वाच ग्रुप’ अन्तगत छ। सन् २०२२ मा यसको आम्दानी ८ अर्ब अमेरिकी डलर रहेको थियो। यो कम्पनीका सबैभन्दा महँगा घडीको मूल्य अहिले ७५ लाख देखि एक करोड रुपैयाँसम्म पर्छ।
सन् २०२४ मा बिक्री भएका ओमेगा घडीका महँगा मोडल। ‘वासिङ्टनबाट फर्किंदा म, भेषबहादुरजी र डा. पुष्करनाथ पन्थ तीन जनाले ओमेगा फ्याक्ट्री हेर्यौं र नेपालमा पनि खोल्नेबारे कुरा पनि गर्यौं,’ उनले किताबमा यसको प्रसंग राखेका छन्।
त्यतिबेला ओमेगाले नेपालमा फ्याक्ट्री खोल्ने तर कसैसँग पनि साझेदारी नगर्ने, हिस्सेदारी पनि नदिने सर्त राखेको सुवेदीले बताएका छन्।
‘उनीहरूको एउटै मात्र सर्त हामी सरकार या प्राइभेट कसैसँग पनि साझेदारीमा काम गर्देनौं भन्ने थियो। यो सर्त मञ्जुर हुन्छ भने एक वर्षभित्र फ्याक्ट्री चालू गर्छौं भन्ने उनीहरुको भनाइ थियो।’
तर ज्ञानेन्द्र शाहकै कारण त्यो कम्पनी नेपालमा नआएको उनले पुस्तकमा लेखेका छन्।
‘काठमाडौं आएपछि अधिराजकुमार ज्ञानेन्द्रलाई त्यसमा आधा सेयर (अंश) चाहियो, जुन कुरा मैले ठाडै इन्कार गरेँ। यसैकारण नेपालमा ओमेगा पनि आउन सकेन,’ उनले लेखेका छन्।
यही कारण ज्ञानेन्द्रसँग आफ्नो सम्बन्ध बिग्रिएको सुवेदीले बताएका छन्।
यसको २०६१ पछिका घटनाक्रममा पनि पुष्टि हुन्छ।
नेपालबाट पलायन भई भारतमा बसोबास गर्दै आएका तुलसी गिरी मन्त्रिपरिषदको उपाध्यक्ष बनाइँदा सुवेदी सम्झिएका थिएनन्। २०६१ को माघ १९ को ‘कू’ मार्फत् सत्ता हत्याएपछि ज्ञानेन्द्र शाहले पूर्वप्रधानमन्त्रीद्वय कीर्तिनिधि विष्ट र तुलसी गिरीलाई उपाध्यक्ष बनाएर आफ्नै अध्यक्षमा मन्त्रिपरिषद गठन गरेका थिए।
२०४६ को परिवर्तनपछि सुवेदी गुमनाम नै बने।
सुवेदीले आफ्नो पुस्तकमा उल्लेख गरेको दोस्रो विषय हो— २०३६ सालमा पञ्चायतलाई जिताउन र बहुदललाई हराउन एक तस्कर व्यापारीसँग तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा र उनले उठाएको चन्दाको।
तत्कालीन विद्यार्थी आन्दोलनको बलमा २०३६ सालमा जनमत संग्रहको घोषणा गरिएको थियो। २०३६ साल जेठ १० गते राजाले जनमत संग्रहको घोषणा त गरे। तर पञ्चायतलाई कसरी जिताउने भनेर तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई आपत् परेको रहेछ।
पञ्चायत जिताउन ठूलो धनराशि चाहिने भन्दै उनले उपायको खोजी गरेछन्। राजाले पञ्चायत जिताउनकै लागि विश्वासमा थापालाई अघि सारेका थिए।
तर विद्यार्थी आन्दोलनको रापताप, बहुदलवादीहरूको देशव्यापी माहोलका कारण पञ्चायतले कमजोर महसुस गरिरहेको सुवेदीकै आत्मकथाले पनि बोल्छ।
त्यस्तै अन्योलको अवस्थामा अहिले कमान्डर तोकिएका सुवेदीसँग चोथमल जटियासँग भेट हुन्छ।
२०३६ सालअघि जटियासँग भेट नभएको सुवेदीले आफ्नो आत्मकथा ‘इतिहास एक कालखण्ड’मा विस्तारमा उल्लेख गरेका छन्।
‘यिनको ठूलो कारोबार थियो। यिनलाई दुई नम्बरी व्यापारको जनक पनि भनिन्थ्यो। आजकल दुई नम्बरी धन्दाबाट पैसा कमाउने धेरै छन्। तर त्यस समयमा यस धन्दामा उनको एकछत्र राज्य थियो,’ उनले जटियाबारे उल्लेख गर्दै भनेका छन्।
त्यस बेला आफूलाई एक नम्बरी, दुई नम्बरी केही मतलब नभएको खालि पञ्चायत जिताउन पैसा चाहिएको सुवेदीले बताएका छन्।
त्यसपछि तिनै जटियासँग पञ्चायत जिताउन पैसा चाहिएकाले त्यही कुरा राखेको सुवेदीले आत्मकथामा उल्लेख गरेका छन्।
‘मन्त्रीज्यू, तपाईं प्रधानमन्त्री सूर्यबहादुर थापाज्यूलाई त्यो पनि पञ्चायत जिताउन खालि साढे तीन करोड चाहिएछ, यो त साह्रै लाजमर्दो कुरा भयो। म आजै दिन सक्छु तर पैसा दिने भएपछि मैले केही सुविधा पनि पाउनुपर्छ,’ जटियाले सर्त राख्दै भनेको कुरा पनि सुवेदीको आत्मकथा (खण्ड २) मा उल्लेख छ।
त्यसपछि जटियाले तीन सर्त अघि सारेको सुवेदीले बताएका छन्। पहिलो उनले नागरिकताकै सर्त राखेका थिए।
‘मेरा तीन सर्त छन्, (१) गृहमा कारबाही हुँदै छ, चाँडै नागरिकता पाऊँ (२) एक ठूलो कटन मिल (सुतीकार्खाना) काठमाडौंमा खोल्न पाऊँ (३) मसँग सर्पको छाला छ, विदेश निकासी गर्न पाऊँ,’ जटियाका सर्त उनले आत्मकथामा उल्लेख गरेका छन्।
चोथमल जटियाका यी तीन सर्त सुनेपछि आफूले उनलाई यससबारे अन्तिम जबाफ आज साँझ तपाईं, म र प्रधानमन्त्रीज्यूको कुरा भएपछि पाउनुहुन्छ भनेको पनि सुवेदीले बतएका छन्।
आफूले राति आठ बजे प्रधानमन्त्री निवास बालुवाटार आउनु भनेको र उठ्दाउठ्दै उनले फेरि ‘तपाईं र प्रधानमन्त्रीज्यूले मेरा यी तीन सर्त जिम्मा लिनुहुन्छ भने साढे तीन करोड होइन, पञ्चायतलाई जति चाहिन्छ, जतिबेला चाहिन्छ, म नै सबै रकमको व्यवस्था गरिदिन्छु’ भनेको सुवेदीले उल्लेख गरेका छन्।
जटियाका यी वचनबाट अब पञ्चायत जिताउन सकिन्छ भन्ने खुसी मनमा लिँदै आफू सिंहदरबार पुगेको सुवेदीले लेखेका छन्।
‘प्रधानमन्त्रीज्यू मलाई पर्खेर बसिरहनुभएको रहेछ। सबै कुरा सुनेपछि उहाँमा पनि खुसी छायो। नवराजजी, तपाईंले आज ठूलो काम गर्नुभयो। तपाईंलाई धन्यवाद छ,’ त्यतिबेला प्रधानमन्त्री थापाले भनेको प्रसंग राख्दै उनले किताबमा लेखेका छन्, ‘बेलुका जटियासँग भेटी कुरा भयो। उनले पनि हतार छैन, मेरो काम जनमतको चुनाउपछि गरिदिनुभए हुन्छ भने, हामी दुवैले उनको सर्त मन्जुर गयौं। यसपछि पञ्चायतलाई पैसाको चिन्ता भएन।’
तत्कालीन प्रधानमन्त्री थापाले नागरिकता दिलाइदिने, सुती कारखाना खोल्न दिने र सर्पको छाला तस्करी गर्न दिने सर्त मञ्जुर गरेपछि पञ्चायतलाई पैसाको कुनै कमी नभएको उनले पुस्तकमा खुलेआम स्वीकार गरेका छन्।
त्यसपछि तत्कालीन जनमत संग्रहको चुनावको दौरान पञ्चायतको प्रचारप्रसार बढेको, ठाउँठाउँमा जनसभा भएको सुवेदीले उल्लेख गरेका छन्।
‘पञ्चायतपक्षको प्रचारप्रसार यसपछि बढ्यो। ठाउँठाउँमा जनसभाहरू भए। भूपूप्रधानमन्त्रीहरू, मन्त्रीहरू जिल्लाजिल्लामा पुग्न थाले। ठाउँठाउँमा बहुदलवालाहरूले अवरोध खडा गरे तापनि पञ्चायतपक्षको गतिविधि तीव्र हुँदै गयो,’ उनले लेखेका छन्।
पञ्चायतलाई जिताउन आफू र प्रधानमन्त्री थापा हेलिकप्टरबाट जिल्ला दौडमा निस्किएको पनि सुवेदीले बताएका छन्।
राजावादीहरूले बहुदलकालमा भ्रष्टाचार बढेको, सदाचार हराएको र राजनीतिक दल र तिनका नेताहरू मुलुकको भन्दा आफ्नो स्वार्थमा केद्रित भएको आरोप लगाउँदै आएका छन्।
यो पनि:
२०४३ का राष्ट्रिय पञ्चायत अध्यक्ष ८६ वर्षीय सुवेदी राजा फर्काउने आन्दोलनका कमान्डर