नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवम् संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएको छ।
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य लक्ष्मण लम्सालका अनुसार उनको बिहीबार बिहान ३ः४५ बजे काठमाडौंको हेल्पिङ ह्यान्ड्स अस्पतालमा निधन भएको हो।
ज्वरो आएपछि सापकोटा गत फागुन ४ गते अस्पताल भर्ना भएका थिए।
२०२२ साल भदौ २२ गते जन्मिएका सापकोटा नेकपा (एमाले) काभ्रेपलाञ्चोकको १४ वर्ष पार्टी प्रमुख भएका थिए।
उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन काभ्रे–४ बाट निर्वाचित भएका थिए।
त्यसअघि तीन पटक उम्मेदवार भए पनि चुनाव जित्न भने सकेका थिएनन्।
काभ्रेका पुराना वामपन्थी नेता सापकोटा एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए। उनी एकीकृत समाजवादीको पोलिटब्युरो तथा बागमती प्रदेशको सहइन्चार्जसमेत थिए।
५९ वर्षीय सापकोटाका एक छोरी छिन्।
उनको पार्थिव शरीर केहीबेरमा पार्टी कार्यालय आलोकनगर लगिने र बिहान ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ।
उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने लम्सालले जानकारी दिए।