अखिल (क्रान्तिकारी)को शनिबार सम्पन्न निर्वाचनको मतगणना जारी छ। अहिले भूभोलका सात प्रदेशका मतगणना भइरहेको छ।गणना शनिबार बेलुकैदेखि सुरू भएको थियो।
उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको मतगणना भने बदर मत कस्तोलाई मान्ने भन्ने विषयमा विवाद हुँदा रोकिएको छ।
दुवै प्रदेशको मतदान काठमाडौंको भृकुटीमण्डपस्थित वाल्मीकि क्याम्पसमा भएको थियो। मतगणना शनिबार बेलुकैदेखि सुरू गर्ने भनिएपनि सदर र बदर मतबारे राति अबेरसम्म सहमति जुट्न नसक्दा गणना रोकिएको हो।
क्रान्तिकारीको निर्वाचन समितिका एक सदस्यका अनुसार मतदान सकिएपछि अध्यक्षका चारै जना उम्मेदवार र तिनका प्रतिनिधिबीच बदर मत कस्तोलाई मान्ने भन्ने विषयमा छलफल भएको थियो।
निर्वाचन निर्देशिकामा मतदान गर्दा कस्तो मसी प्रयोग गर्ने भन्ने तोकिएको छैन। वाल्मीकि मतदान केन्द्रमा मतदानका लागि प्रयोग गर्न रातो मार्कर राखिएको थियो।
मतदान सम्मन्न भएपछि छलफलका क्रममा एक प्रतिनिधिले केही विद्यार्थीले आफैले ल्याएको कलम मतदानमा प्रयोग गरेको बताएका थिए।
त्यसपछि त्यसरी भएका मतदनलाई सदर मान्ने कि नमान्ने भन्नेबारेमा चारै अध्यक्षका प्रतिनिधिसँग निर्वाचन समितिले छलफल गरेको थियो।
त्यस क्रममा विजयप्रकाश सापकोटा, उपदेश यादव र सुदिन पौडेलका प्रतिनिधिहरूले रातो मसीबाहेकका पनि एउटै मसी प्रयोग भएको छ भने सदर गर्नुपर्ने तर दुइटै मसी प्रयोग भएका छन् भने बदर गर्नुपर्ने बताएका थिए।
'तर हेमन्त राईका प्रतिनिधिहरूले भने रातोबाहेक अरू रङको प्रयोग भए त्यो बदर गर्नुपर्ने अडान राख्नुभयो। त्यसो भएपछि गणनाका लागि एक मत हुन सकेन,' ती सदस्यले सेतोपाटीसँग भने।
त्यसपछि दुई पक्षबीच केहीबेर विवाद हुँदै त्यसले उग्र रूप लिएको ती सदस्यले बताए।
'सहमति गरेर गन्नुपर्ने पक्षमा एउटा समूह र रातोबाहेकलाई सदर गरेर गन्नै नमिल्ने भनेर अर्को पक्षले अडान लिएपछि झडपकै अवस्था सिर्जना भयो,' उनले भने।
स्थिति तनावपूर्ण हुँदै गएपछि निर्वाचन आयोगले चारै अध्यक्षका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरी सहमतिको प्रयास गरेको थियो। तर सहमति जुट्न सकेन।
त्यसपछि निर्वाचन समितिले आइतबार बिहान ११ बजेदेखि मात्रै गणना सुरू हुने गरेर मतपेटिका सिल गरेको थियो।
'प्रहरीलाई खबर गर्यौं। चारै अध्यक्षका प्रतिनिधिको उपस्थितिमा मतपेटिका सिल गर्यौं। गणना बिहान ११ बजेदेखि सुरू गर्ने तयारी छ,' निर्वाचन समितिका एक सदस्यले भने।
वाल्मीकिमा झन्डै ५२२ मत खसेको थियो।
यो पनिः अखिल (क्रान्तिकारी)को अध्यक्षमा विजयप्रकाश सापकोटाको अग्रता