काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना मुद्दामा पूर्वडिआइजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार थुनछेक आदेश दिँदै ५० लाख धरौटीमा छाड्न भनेका हुन्।
यसअघि थुनछेक बहसमा जिल्ला न्यायाधिवक्ताहरू खडिन्द्रराज कटुवाल, सुभाषकुमार भट्टराई, राधिका सुवाल, बिना खड्का थापा र सहायक जिल्ला न्यायाधिवक्ता गणेशकुमार शर्माले बहस गरेका थिए।
जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए।
जोशीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, सतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्व खतिवडा, रोचक रेग्मी र दीक्षा सापकोटाले बहस गरेका थिए।
जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।
जोशीले सोमबार अपराह्न धरौटी बुझाइसकेका छन्।
यसअघि कास्कीको पोखरास्थित सुर्यदर्शन सहकारीको मुद्दामा कास्की अदालतले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।