पश्चिम तराई, महाकाली नदीपारि एउटा टापूजस्तो ठाउँ छ। त्यही टापू हो नेपालको पश्चिमी सीमान्त नगर। नाम — दोधारा चाँदनी नगरपालिका।
कञ्चनपुर जिल्लामा पर्ने यो नगरपालिकालाई गएको बर्खामा डुबानले सर्लक्कै निल्न खोजेको थियो।
गत असार २३ गते दोधारा चाँदनीमा घनघोर वर्षा भयो। त्यहाँका बासिन्दाले त्यसअघि त्यति ठलो वर्षा र बाढी अनुभव गरेका थिएनन्। त्यस दिन कञ्चनपुरको हनुमाननगर वर्षा केन्द्रमा ५७३.६ मिमी र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमी वर्षा मापन भएको थियो।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा वर्षा मापन गर्न सुरू भएको ७७ वर्षमा त्यस क्षेत्रमा त्यति ठूलो वर्षा भएको पहिलो घटना थियो। त्यति भारी वर्षा भए पनि दोधारा चाँदनीले मानवीय क्षतिको कहर भोग्नुपरेन।
अति भारी वर्षाको सम्भावना देखिएपछि नगरपालिका कार्यालयले माथिल्लो निकाय र स्थानीय प्रशासनको सहकार्यमा नदी किनार र तटीय क्षेत्रका बासिन्दालाई 'अहिलेदेखि नै सतर्क रहनु' भनेर सावधान गराएको थियो।
नगरपालिकाले नगरवासीका मोबाइलमा सम्भावित विपदको जानकारी गराउन मेसेज पठायो। विपदको सूचना दिन साइरन बजाउने व्यवस्था गर्यो, माइकिङ पनि गरायो।
मोबाइलमा प्राप्त सन्देशले नदी आसपासका बासिन्दालाई विपदबाट बच्ने पूर्वतयारी गर्न मद्दत पुगेको स्थानीयवासी भीमबहादुर सुनारले बताए।
'ठूलो वर्षा नहुँदै नगरपालिकाले सबैलाई सचेत गराएको हुँदा धेरै नोक्सान हुन पाएन। विपदबाट बचाउन नगरपालिकाले वर्षभरि नै तयारी गरेको थियो,' उनले भने।
बाढी र डुबानको क्षतिबाट नगरवासीलाई जोगाएको भनेर दोधारा चाँदनीका मेयर (नगर प्रमुख) किशोरकुमार लिम्बूको प्रशंसा भएको छ। यसरी प्रशंसित मेयरको थरले भने कञ्चनपुरका बासिन्दालाई अझै पनि अचम्म पार्छ।
खसआर्य बहुल सुदूरपश्चिममा, अझ दोधारा चाँदनीमा, सुदूरपूर्वी पहाडका लिम्बू कसरी मेयर हुने पुगे? यो सीमान्त भूमिमा उनको सपना र भविष्य कसरी जोडियो?
धेरैलाई अचम्म पार्ने जिज्ञासा यही हो।
यस्तै जिज्ञासाका साथ हामी पनि दोधारा चाँदनी पुग्यौं, मेयर किशोर कुमार लिम्बूको घरसम्म। यहाँ लिम्बू समुदायका पाँच परिवारको बसोबास रहेछ।
'हामी पुर्ख्यौली थातथलो ताप्लेजुङ छाडेर दोधारा चाँदनी आइपुगेका हौं,' यति भन्दै किशोरले आफ्नो कथा सुनाए।
उनका बुबा नन्दबहादुर भारतीय सेनामा थिए। उनीहरूका चार दाजुभाइमा चारै जना बेलायती सेनामा भर्ती भए।
'बुबा नेपालमै इन्स्पेक्टर बन्न चाहनुहुन्थ्यो। त्यसैले बेलायती सेनामा पुगेर पनि उहाँको मन अडिएन। इन्स्पेक्टर बन्ने धोको लिएर फर्किनुभयो,' किशोरले भने।
नन्दबहादुरले प्रयास गरे तर धोको पूरा भएन। विकल्पमा उनी भारतीय सेनामा भर्ती भए। सैनिकका रूपमा उनको बसाइ देहरादूनमा भयो। भारतीय सेनामा भर्ती हुनुअघि उनको बिहे भएको थियो। देहरादूनमा उनका तीन छोरा जन्मिए।
किशोर माइला हुन्।
देहरादूनमा नेपालीमूल समुदायको बाक्लो बसोबास थियो। नन्दबहादुर रमाएकै थिए। तर दिन बित्दै जाँदा भारतमा स्थायी बसोबास नगर्ने विचार गरे।
नेपाल पस्ने क्रममा दोधारा चाँदनीमा बसोबास गर्ने लिम्बू समुदायका व्यक्तिसँग सम्पर्क भयो। त्यही सम्पर्कबाट उनले २०३३ सालमा आफ्ना परिवारजनलाई कञ्चनपुरको दोधारा चाँदनी पुर्याए।
त्यस बेला किशोर चार वर्ष उमेरका थिए।
'बुबाको नेपाली फौजमा काम गर्ने सपना पूरा भएन, बाध्यताले भारतीय सेनामा भर्ती हुनुभयो,' किशोरले भने, 'बुबाले आफ्नो र परिवारको सजिलोका लागि बोर्डर नजिकै घरजग्गा किनेर हामीलाई त्यहीँ राख्नुभयो।'
किशोरले भनेको सिमाना नजिकैको ठाउँ हाल उनी मेयर रहेको दोधारा चाँदनी क्षेत्र नै हो। दोधारा चाँदनीपारि जोगबुढा नदीले नेपाल-भारत सिमाना छुट्ट्याउँछ। महाकालीपारि र जोगबुढावारिको भूभाग दोधारा चाँदनी नगरपालिका हो।
स्थानीय जानकारहरूका अनुसार त्यो सीमान्त क्षेत्रमा २०२० सालमा बस्ती बस्न सुरू भएको हो। त्यहाँ राजा महेन्द्र शाहले बस्ती बसाउन पहल गरेका थिए। त्यो समयमा आएका कतिपय परिवार दोधारा चाँदनीको कष्टकर जीवन धान्न नसकेर अन्यत्रै गए।
नगरपालिका बन्नुअघि दोधारा चाँदनी दुइटा गाविस (गाउँ विकास समिति) मा विभाजित थियो; दोधारा गाविस र चाँदनी गाविस।
किशोरको बसोबास दोधारा गाविस वडा नम्बर ४ मा थियो। बुबाले त्यहीँ जमिन किनेर खरले छाएको सानो घर बनाएका थिए।
समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो। तर लिम्बूका घर भने किशोरको सहित तीनटा मात्र थिए। अरू जातथरबारे एकआपसमा जानकारी थियो। तर लिम्बू थरबारे त्यहाँका पुराना बासिन्दा अनभिज्ञ थिए।
'लिम्बूहरू साह्रै थोरै भएकाले मान्छेलाई हाम्रो जातथर अनौठो लाग्थ्यो। स्कुलमा साथीहरू लिम्बू भनेको के हो भनेर सोध्थे,' किशोरले भने।
दोधारामा अत्यन्त अल्पसंख्यक समुदायका किशोर त्यहाँको मिश्रित समाजमा हुर्के, बढे। त्यही ठाउँ प्यारो भयो। विद्यार्थी छँदा किशोर फुटबल खेल्थे। नाच्थे पनि। नाटक लेख्ने, खेल्ने, खेलाउने काममा पनि सहभागी हुन्थे। भारतबाट सामान ल्याएर गाउँमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न पहल गर्थे।
कक्षा १० सम्म दोधारामै पढेर उनी थप पढाइका लागि काठमाडौं गए। उनका दाजु भने दस कक्षा पूरा गरेपछि दोधारामै शिक्षक भए।
केही वर्षपछि किशोरका बुबाले झापामा पनि घर बनाए। त्यसपछि झापा बस्ने कि दोधारा, परिवारमा दोधार भयो।
बुबा झापामै बस्न चाहन्थे। सेवानिवृत्त भएपछि बुबा, आमा र भाइ झापा नै गए। जागिरे दाजु भने दोधारामै बसे। किशोर पढाइको सिलसिलामा काठमाडौंमा थिए। उनी कहिले झापा जान्थे त कहिले दोधारा पुग्थे।
किशोर राष्ट्र संघीय निकायमा जागिर गर्न चाहन्थे। त्यसकै लागि २४ महिना अंग्रेजी भाषा सिके, कम्प्युटर सिके। काठमाडौंमा एउटा कलेजमा काम पनि गर्थे। त्यही समय किशोरका केही साथीहरूले दोधारामा एउटा निजी स्कुल चलाऔं भन्ने प्रस्ताव गरे। अन्ततः किशोरकै सक्रियतामा स्कुल दर्ता भयो।
किशोर स्कुल उद्घाटनका दिन दोधारा पुगे।
'धेरै अभिभावकले मलाई स्कुलमै बस्न आग्रह गरे। काठमाडौंमा स्नातकोत्तर तह पढ्दै थिएँ। तर स्कुल चलाउन पढाइ छाडेर दोधारामै बसेँ,' उनले भने।
पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म स्कुल चलाउन उनी सक्रिय भए। यस क्रममा धेरै अभिभावकसँग उनको चिनजान भयो। यसपछि किशोर सामाजिक काममा लागे। गाउँलेका समस्या समाधानमा सहभागी बन्न थाले।
उनले भने, 'गाउँमा कोही मर्दा र कसैलाई कुनै समस्या पर्दा म सहयोगका लागि अघि बढ्थेँ। कहिलेकाहीँ त चन्दा संकलन गरेर पनि सहयोग जुटाउँथेँ।'
यसैबीच उनले बिहे गरे। आफ्नो कमाइले दोधारामै घर बनाए। काठमाडौं छाडेको चार वर्षपछि महेन्द्रनगरबाट एकवर्षे बिएड (शिक्षा शास्त्रमा स्नातक) र एमएड (शिक्षाशास्त्रमा स्नातकोत्तर) पढाइ पूरा गरे। त्यसपछि भारतमा पनि स्नातकोत्तर तह पढे।
दोधारामा स्कुल सञ्चालक र समाजसेवीको परिचय बनाएका किशोर पछि नेकपा एमाले पार्टीमा आबद्ध भए। २०६१ सालमा एमालेको संगठित सदस्य भए। त्यतिन्जेल सक्रिय रूपमा भने पार्टीको काममा लागेका थिएनन्। संगठित सदस्य भएको सात वर्षपछि बल्ल दुई कार्यकाल गाउँ कमिटीमा काम गरे। यसपछि उनी पार्टीको स्थानीय नेताका रूपमा चिनिए। हाल उनी नेकपा एमालेको कञ्चनपुर जिल्ला कमिटी सदस्य छन्।
पार्टीले उनलाई २०७४ सालमा दोधारा चाँदनी नगरपालिकाको मेयर पदमा उम्मेदवारीको टिकट दियो। तर उनी नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भए। त्यस बेला स्थानीय तहको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन थियो।
२०७९ सालमा मेयर पदमा एमालेबाट पाँच जना आकांक्षी थिए। अन्ततः किशोरकै नाम सिफारिस भयो। कांग्रेस र माओवादी गठन्धनलाई हराएर किशोर विजयी भए।
मेयर भएपछि किशोरले वडाका टोलटोल पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गरे। छाडा पशुचौपाया व्यवस्थापनको पहल गरे। कृषकलाई केही बिउबिजन र उपकरणमा अनुदान दिने र माटो परीक्षणको काम सुरू गराए।
साढे दुई वर्षको आफ्नो कार्यकालमा नगरपालिकाले ४३ वटा ऐन र केही कार्यविधि बनाएको उनले बताए।
सडक मर्मतसम्भार र विस्तारमा पनि धेरै काम भएको छ। केही ठाउँमा नयाँ बाटा खोलिएका छन्।
नगरपालिकाका ४२ वटा सामुदायिक स्कुलमा शिक्षक समायोजनको काम भएको छ। निजी स्रोतका शिक्षकले दरबन्दीअनुसार नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउने व्यवस्था मिलाइएको छ। सबै प्रधानाध्यापकलाई नगरपालिकाले पाँच सय रूपैयाँ भत्ता थपिदिएको छ।
आफूले पढाएको विषयमा विद्यार्थीको औसत प्राप्तांक पचास प्रतिशत नघाउने शिक्षकले पचास हजार रूपैयाँ पुरस्कार दिने व्यवस्था छ। प्रत्येक वर्ष तीन जना उत्कृष्ट शिक्षक छनौट गरी नगर सभामा सम्मान पनि गर्छ। भौतिक संरचना, प्रविधिमैत्री शिक्षा र अतिरिक्त कक्षा सञ्चालनमा पनि काम भइरहेको किशोरले बताए।
नगरपालिकाले १५ शय्याको अस्पताल चलाएको छ जहाँ पाँच जना एमबिबिएस डाक्टर छन्। एक जना डाक्टर केन्द्र सरकारले दिएको हो, अरू दुई डाक्टर र केही कर्मचारी नगरपालिकाले राखेको हो। गर्भवतीका लागि स्वास्थ्य परीक्षण, एम्बुलेन्स सेवा र अल्ट्रासाउन्ड निःशुल्क छ।
यति सुविधाले पनि धेरै मानिसको भारत जाने बाध्यता हटेको स्थानीय नरबहादुर विकले बताए।
'सर्पले टोकेको उपचार यहीँ हुन्छ। सुत्केरीले सेवा पाएका छन्। टिबी (क्षयरोग) को उपचार हुन्छ। अपरेसन पनि हुन्छ,' नरबहादुरले भने, 'यो ठाउँका मान्छे सानो उपचारका लागि पनि भारत जानुपर्थ्यो। आजकाल गाउँमै हुन्छ। सजिलो भएको छ।'
२०७४ सालका जनप्रतिनिधिले पनि महत्त्वपूर्ण योगदान गरेको किशोरको बुझाइ छ।
'पहिले पनि नगरपालिकाले केही ऐन बनायो। कर्मचारी व्यवस्थापन गर्यो। केही भौतिक संरचनाहरू तयार भए,' मेयर किशोरले भने।
हाल दोधारा चाँदनी नगरपालिकाको वार्षिक आम्दानी करिब चार करोड रूपैयाँ छ। बजेट कम भएकाले सोचेअनुसार काम गर्न नसकेको उनी बताउँछन्।
यो नगरपालिकाको विकासको आधार सुख्खा बन्दरगाहलाई मानिएको छ। यो निर्माणको कागजी प्रक्रिया अघि बढेको सात वर्ष भयो। २०६४ सालमै प्रस्ताव भएको थियो तर झन्डै दस वर्षपछि मात्र सरकारले निर्माण प्रक्रिया सुरू गरेको थियो। राष्ट्रिय गौरवको आयोजना भनिए पनि जमिनमा काम सुरू नै नभएको किशोरले बताए।
'सुख्खा बन्दरगाह निर्माणका लागि रूख कटान गर्न ठेक्का हुनेछ। नेपाल सरकारले अनुमति दिएपछि भारतले ठेक्का लगाउनेछ। यस विषयमा मैले चासो लिएको छु,' उनले भने।
यहाँको विकासको अर्को आधार पर्यटन हो। नगरपालिकाले प्रत्येक वर्ष एक करोड रूपैयाँ बजेट छुट्ट्याएर पर्यटनका संरचना बनाइरहेको उनले बताए। महाकालीको किनारमा बाँध बनाउने, दोधारा चाँदनी झोलुंगे पुलमा बत्ती लगाउने, पार्क बनाउने लगायत तयारी पनि छ।
दोधारा चाँदनीलाई सबभन्दा बढी सताउने चाहिँ बाढी र डुबानले नै हो। तर बजेट अभावकै कारण पर्याप्त काम गर्न नसकेको उनी बताउँछन्।
'नगरपालिकाले गर्नुपर्ने काम धेरै हुन्छ तर बजेट थोरै। धेरै काम भए हुन्थ्यो भन्ने जनअपेक्षा हुन्छ। बाढी आउने र डुबान हुने ठाउँमा तटबन्ध गर्न आवश्यक छ तर बजेट छैन,' उनले भने, 'तैपनि सक्ने जति काम गरिरहेका छौं। क्षति कम गर्न लागि परेका छौं।'
यसरी सुदूरपूर्व पुर्ख्यौली थलो भएका किशोर कुमार लिम्बूले मेयरका रूपमा सुदूरपश्चिमको दोधार चाँदनी नगरपालिकामा काम गरिरहेका छन्। अहिले उनका आमा र भाइ सपरिवार झापामै छन्। बुबा दुई वर्षअघि बिते। दोधारामा किशोर र उनका दाजुको परिवार बस्छन्।
'बुबा बाध्यताले लाहुरे हुनुभएको थियो। उहाँको सपना छोराहरूले देशमै काम गरून् भन्ने थियो। म त्यही प्रयास गरिरहेको छु,' किशोरले भने।