नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा पुनर्विचार गर्न आवाज उठेको छ।
केन्द्रीय कार्यालय च्यासलमा आइतबार बोल्दै सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रकाश शाह र झपट रावलले भीम रावल, पाण्डे र तिम्सिनाको कारबाहीको प्रसंग निकालेका थिए।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा झपट रावलले पूर्वउपाध्यक्ष रावललाई कारबाही गर्नु गलत भएको बताए।
‘भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई कारबाही गर्नु गलत भयो। पार्टीमा विधि र न्याय स्थापित हुन सकेको छैन, तानाशाही प्रवृत्ति हुर्कियो,’ रावलको भनाइ उद्धृत गर्दै एक पोलिट्ब्युरो सदस्यले सेतोपाटीसँग भने।
प्रकाश शाहले पनि रावल, पाण्डे र तिम्सिनामाथिको कारबाहीले विधिको उपहास भएको बताएका थिए।
पार्टीमा नेताहरूको चाकडी गर्नेले मात्रै जिम्मेवारी पाउने प्रवृत्ति बढेकोसमेत उनको भनाइ थियो।
आइतबार २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए।
गत मंसिर १० गते एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। पार्टीको संस्थागत निर्णयविरूद्ध धारणा राखेको भन्दै पाण्डे र तिम्सेनालाई ६ महिना जिम्मेवारीबाट मुक्त राख्ने निर्णय गरेको थियो।
आइतबारबाट सुरू भएको बैठकमा सदस्यहरूले धारणा राख्नुपूर्व नै उनीहरूलाई कारबाही गर्ने निर्णय पारित गरिएको थियो।
निर्णय पारित भए पनि सदस्यहरूले बोल्ने क्रममा उनीहरूलाई कारबाही गर्नु गलत भएको बताएका हुन्। केन्द्रीय कमिटी बैठक सोमबार पनि चल्नेछ।