नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकले कुनै पनि निर्णय नगरेको बताएका छन्।
केन्द्रीय समिति बैठक सुरू हुनुअघि आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शर्माले स्थायी समिति बैठकमा सदस्यहरूले सुझाव मात्रै राखेको उल्लेख गरेका हुन्।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि स्थायी समितिका सुझाव केन्द्रीय समितिमा छलफल र बहसपछि निष्कर्षमा पुग्ने उद्घोष गरेको उनको भनाइ छ।
‘स्थायी समिति बैठकमा केन्द्रीय कमिटीका लागि एजेन्डा प्रस्तुत गरिएको, स्थायी समिति सदस्यले आफ्ना सुझाव प्रस्तुत गरेको र केन्द्रीय कमिटीमा छलफल बहस पश्चात निष्कर्षमा पुग्ने अध्यक्षले उदघोष गर्नु भएकोबाहेक कुनै निर्णय नभएकोमा, कतिपय सञ्चार माध्यममा स्थायी कमिटीको निर्णय भनी आएकोमा मेरो ध्यानाकर्षण भएको छ,’ शर्माको भनाइ छ।
धुम्बाराहीमा आइतबार दिउँसो १ बजेदेखि माओवादी केन्द्रीय समिति बैठक छ। शर्माले पार्टीभित्रका बैठकहरूमा विशेष महाधिवेशन गरेर जानुपर्ने मत राख्दै आएका छन्।