जिमी कार्टरले सन् १९७४ मा अमेरिकाको राष्ट्रपतिका लागि निर्वाचन लड्ने घोषणा गरेका थिए।
त्यो बेला उनकी आमा लिलियन कार्टरले खिसी गर्दै 'केको राष्ट्रपति' भनेर सोधेकी थिइन्।
सन् १९७० को अन्त्यमा भर्खर जर्जिया राज्यको गभर्नर निर्वाचित जिमीले उम्मेदवारी घोषणा गर्दा आमजनताजस्तै उनका परिवारजन पनि छक्क परेका थिए।
केही वर्ष अघिसम्म बदाम खेती गरिरहेका जिमीले उम्मेदवारी घोषणा गर्दा उनका भाइ बिली पनि आशावादी थिएनन्।
द न्यूयोर्क टाइम्सका अनुसार त्यो बेला बिलीलाई एक पत्रकारले उनी अनौठो भएको प्रतिक्रिया दिएका थिए।
ती पत्रकारलाई जबाफ फर्काउँदै बिलीले भनेका थिए, 'हेर्नुस्, मेरी आमाले ७० वर्षको उमेरमा भारतमा पिस कोर स्वयंसेवक भएर काम गरेकी थिइन्। मेरी एक दिदी संसारभरि धर्म प्रचार गर्दै हिँड्छिन्। जेठी दिदी आधाजसो समय हार्ले-डेभिडसन मोटरसाइकल चढेर बिताउँछिन्। अनि दाजु जिमी अमेरिकाको राष्ट्रपति बन्छु भन्ने सोच्छन्। मेरो परिवारमा को अनौठो छैन?'
सन् १९७४ अगस्टमा वाटरगेट काण्डपछि तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले राजीनामा दिएका थिए। त्यसपछि उनका उपराष्ट्रपति जेराल्ड फोर्डले पदभार सम्हाले। त्यत्रो संगीन अपराध गरेका निक्सनलाई फोर्डले पछि आममाफी दिने घोषणा गरे। त्यस्तै उनीसहितको सरकारका पालामा भियतनाम युद्धमा हजारौं अमेरिकी सैनिकको मृत्यु भएको र अमेरिकी अर्थतन्त्र पनि समस्यामा रहेकाले फोर्ड लोकप्रिय थिएनन्।
निक्सन र फोर्डको रिपब्लिकन पार्टीले नचाहिँदो युद्ध लडेको र जनतालाई पटक पटक ढाँटेको भन्दै जिमी डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न सफल भएका थिए। जिमीले आफूले कहिल्यै नढाँट्ने र शान्तिका लागि काम गर्ने वाचा गरे।
जिमीले खस्किँदो अर्थतन्त्रबारे फोर्डको आलोचना गर्न आफ्ना भाषणमा प्रायः 'मिजरी (दुःख) इन्डेक्स' बारे कुरा गर्थे। बेरोजगारी दर र मुद्रास्फीतिलाई जोडेर निस्किने यो इन्डेक्स राष्ट्रपतीय निर्वाचनका दिनसम्ममा बढेर १३ प्रतिशत पुगेको थियो।
यी विभिन्न कारणले सन् १९७६ को निर्वाचन जितेर जिमी अमेरिकाको ३९ औं राष्ट्रपति बने।
राष्ट्रपतिको शपथ लिएपछि कारबाट निस्केर श्रीमती र नौ वर्षकी छोरी एमीसँग केहीबेर हिँडेर ह्वाइट हाउस पुगेका जिमीले अरू राष्ट्रपतिभन्दा फरक भएको सन्देश दिए। उनले आफ्नो कार्यकालभरि शान्तिका लागि काम गर्ने र नढाँट्ने भनेर चुनावअघि गरेको वाचा पूरा गरे।
सत्य बोल्नेबारे उनी यतिसम्म इमानदार रहे कि, 'प्लेब्वाइ' पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले आफू 'मनबाट चाहिँ व्यभिचारी’ रहेको भन्दै आफूले अरू महिलालाई वासनाका नजरले हेरेको स्वीकार गरे।
जिमीले २२ वर्षका हुँदा बिहे गरेका थिए। गत वर्ष निधन भएकी उनकी पत्नी रोजलिनसँग जिमीले ७७ वर्षको वैवाहिक जीवन बिताए। तर प्लेब्वाइलाई दिएको जिमीको इमानदार जबाफको धेरै आलोचना भयो। परस्त्रीबारे त्यस्तो सोचेको स्वीकार गरेको भनेर परम्परागत सोच भएकाले उनको विरोध गरे। व्यभिचारलाई सामान्य रूपमा लिने आधुनिक मानिसहरूले पनि उनलाई उडाए।
जिमीको कार्यकालको सबभन्दा ठूलो उपलब्धि भनेको, इसराइल र इजिप्टबीच सन् १९७८ मा क्याम्प डेभिड सम्झौता गराएर, युद्ध लडेका राष्ट्रबीच सुलह गराएर मध्यपूर्वमा शान्ति स्थापनाका लागि खाका कोर्नु हो।
जिमीसँग त्यति बेला काम गरेका दुई अधिकारीले फरेन अफेयर्समा लेखेका बेग्ला बेग्लै लेखका अनुसार उनले धेरै मेहनत गरेर इसराइली प्रधानमन्त्री मेनाखेम बेगिन र इजिप्टका राष्ट्रपति अन्वर सदातलाई मनाएका थिए। दुवै नेता आ-आफ्ना देशका कट्टरपन्थीका डरले नरम भएर सम्झौता गर्न हच्किरहेका थिए। यस्तोमा १३ दिनसम्म क्याम्प डेभिडमा बेगिन र सदातसँगै बसेर कार्टरले उनीहरूलाई मनाए।
योभन्दा धेरै लचिलो हुन सक्दिनँ भनेर सम्झौता नगरी फर्किन लागेका बेगिनलाई मनाउन त उनले भावनात्मक उपाय अपनाए। बेगिनका आठ नातिनातिनी छन् र उनीहरूलाई बेगिन ज्यादै माया गर्छन् भन्ने जिमीलाई थाहा थियो। त्यसैले उनले आफूसहित बेगिन र सदातको क्याम्प डेभिडमा खिचिएको एउटा तस्बिरका आठवटा प्रतिहरूमा हस्ताक्षर गरे। हरेकमा एक जनाको नामले सम्बोधन गर्दै उनले आठै जनाको नाममा आफ्नै हातले एउटा सन्देश लेखे — 'जब तिम्रा हजुरबुबा र मैले मध्यपूर्वमा शान्ति ल्यायौं।'
ती तस्बिर बोकेर उनी इसराइल फर्किन लागेका बेगिनको कोठामा गए। उनलाई सन्देश सहितको तस्बिर देखाए। सन्देशमा आफ्ना नातिनातिनीको नाम पढ्दा बेगिनका ओठ कामे र आँखा रसाए। फर्किन ठीक पारेका झोला बिसाए र फेरि वार्तामा होमिए। अनि केही घण्टापछि बेगिन र सदात दुवै जना त्यो सम्झौताको ऐतिहासिक खाकाका लागि तयार भए।
कम्युनिस्ट चीनसँग अमेरिकाको दौत्य सम्बन्ध पनि जिमीले नै सुरू गरेका थिए। सन् १९७२ फेब्रुअरीमा रिचर्ड निक्सनले चीन भ्रमण गरेर सम्बन्ध सुधार थाले पनि दुई देशबीच कूटनीतिक सम्बन्ध सुरू भएकै थिएन।
त्यति बेलासम्म अमेरिकाका कारण संयुक्त राष्ट्र संघले पनि कम्युनिस्ट चीनलाई आधिकारिक चीन मान्दैन थियो। माओ त्सेतुङको जनमुक्ति सेनासँग गृहयुद्ध हारेर ताइवान गएर लुकेका चियाङ काइसेकको सरकारलाई आधिकारिक चीनको मान्यता थियो। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका पाँचमध्ये एक स्थायी सदस्यको हैसियत पनि ताइवानले नै प्रयोग गर्थ्यो। निक्सन र माओको ऐतिहासिक भेटपछि मात्रै कम्युनिस्ट चीन संयुक्त राष्ट्र संघको सदस्य बन्यो र सुरक्षा परिषदको स्थायी सदस्यको हैसियत पनि पायो।
तर त्यसपछि पनि अमेरिका र चीनको दौत्य सम्बन्ध थिएन। कार्टरले सन् १९७९ मा ताइवानसँग दौत्य सम्बन्ध तोडेर चीनसँग सम्बन्ध जोडे। 'एक चीन' नीतिप्रति अमेरिकी प्रतिबद्धता व्यक्त गरे। साथै ताइवानसँगको सम्बन्धबारे ऐन ल्याएर ताइवानलाई सैन्य सहायता दिई चीनबाट रक्षा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। अमेरिकाको ताइवानसम्बन्धी नीति अझै पनि त्यही ऐनद्वारा निर्देशित छ।
त्यस्तै उनले अमेरिकाका अरू देशसँगको कूटनीतिक सम्बन्धमा मानव अधिकारलाई प्राथमिकतामा राखे। अमेरिकाले बनाएको पनामा नहर बिस्तारै पनामाको स्वामित्वमा गएर सन् १९९९ को अन्त्यसम्म पनामाकै पूर्ण नियन्त्रणमा जाने सन्धि गरे। सो सन्धिले अमेरिकाले धेरै साना राष्ट्रको सार्वभौमसत्ता पनि स्वीकार गर्ने र सबैसँग बराबरको व्यवहार गर्ने उदाहरण देखायो।
उनले त्यति बेला अरूले विरलै सोच्ने पर्यावरणीय क्षेत्रमा पनि काम गरे। वातावरण जोगाउन अलास्काको धेरै भूभागमा विकास निर्माण गर्न रोक लगाए। साथै सौर्य ऊर्जाको प्रवर्धन गर्न ह्वाइट हाउसको छानामाथि सोलार प्यानल लगाए। सो ऊर्जा राष्ट्रपति निवासमा र ह्वाइट हाउसको चमेना गृहमा पानी तताउन प्रयोग गरिन्थ्यो।
तर उनको चारवर्षे कार्यकालमा सफलताभन्दा धेरै असफलता भयो।
सन् १९७९ मा, शीत युद्धताका, अमेरिकाको प्रमुख प्रतिद्वन्द्वी तत्कालीन सोभियत संघले अफगानिस्तानमा सेना पठाएर कब्जा गर्दा केही गर्न नसकेको उनलाई आरोप लाग्छ।
त्यस्तै अमेरिकाले त्यत्रो खर्च गरेर बनाएको नहरको स्वामित्व पनामालाई दिएको विषयलाई पनि उनका विरोधीसँगै, बहुमत जनतालाई पनि मनपरेको थिएन।
हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले त 'जिमीको गल्ती सच्याउँदै' सो नहरलाई पुनः अमेरिकाको नियन्त्रणमा ल्याउने घोषणा गरेका छन्।
चीनसँगको दौत्य सम्बन्ध सुरू गरेको पनि उनले खासै जस पाउँदैनन्। सम्बन्ध सुधारको पहल गरेका र चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका निक्सनलाई मात्रै जस दिइन्छ।
जिमीको कार्यकालको सबभन्दा ठूलो समस्या भने सन् १९७९ मा इरानको इस्लामिक क्रान्ति बन्यो।
अमेरिकाले समर्थन गरेको शाह-पहलवी वंशलाई सत्ताच्युत गरेर कट्टरपन्थीले शासन गर्न थालेपछि इरान अमेरिका विरोधी भयो। सत्ताच्युत भएपछि अन्तिम राजा मोहम्मद रेजा पहलवीलाई अमेरिकामा शरण दिएकाले इरान अमेरिकासँग झन् रूष्ट भयो।
जिमी शाहलाई शरण दिन चाहँदैन थिए। त्यसैले शाह इरानबाट भागेर मेक्सिको गए। मेक्सिकोमा हुँदै उनलाई क्यान्सर भयो र त्यहाँ उपचार नहुने भनेर जिमीका सहयोगीले उनलाई अमेरिका आउन दिनुपर्ने भनेर दबाब हाले। त्यसो गर्दा इरानीले विरोध गरेर अमेरिकी दूतावासमा आक्रमण गरी हाम्रा मान्छे बन्धक बनाए भने तिमीहरूले मलाई के गर्ने सल्लाह दिन्छौ भनेर जिमीले प्रश्न गरेका थिए।
नभन्दै उनलाई जे कुराको डर थियो, त्यही भयो।
शरण लिन शाह अमेरिका आएको ११ दिनपछि कट्टरपन्थी विद्यार्थीहरू सन् १९७९ नोभेम्बर ४ मा बलपूर्वक तेहरानस्थित अमेरिकी दूतावास छिरे। अमेरिकाले शाहलाई इरान फिर्ता पठाउन नमानेकाले ५० जनाभन्दा बढी कूटनीतिज्ञ र कर्मचारीलाई ४४४ दिनसम्म बन्दी बनाए।
इरानले दूतावास कब्जा गरेपछि जिमीले इरानी तेलमा प्रतिबन्ध लगाए। सन् १९७३ मा भएको अरब-इसराइल युद्धमा अमेरिकाले इसराइललाई हतियार दिएर सहयोग गरेको थियो। सोही कारण मुस्लिम राष्ट्रले अमेरिकालाई तेल बेच्न प्रतिबन्ध लगाएकाले अमेरिकामा तेलको संकट भएको थियो।
सो प्रतिबन्ध सन् १९७९ सम्म हटिसके पनि तेलको आपूर्ति पहिलेजस्तो सामान्य भइसकेको थिएन। त्यस्तो बेलामा जिमीले इरानी तेलमा प्रतिबन्ध लगाएकाले अमेरिकामा तेलको भाउ अझै बढ्यो। त्यस कारण महँगी पनि बढ्यो।
जिमीले जति प्रयास गरे पनि आफ्नो कार्यकालमा बन्धक भएका कूटनीतिज्ञ र कर्मचारी छुटाउन सकेनन्। सन् १९८० अप्रिल २४ मा उनले हेलिकप्टरमा सेना पठाएर उनीहरूको उद्धार गर्न खोजे। तर मरूभूमिमा हेलिकप्टर दुर्घटना भएर आठजना अमेरिकी सैनिक मारिए। उनको योजना सफल भएन।
जिमीका सहयोगीले सन् १९८० को निर्वाचनका लागि रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेदवार रोनाल्ड रेगनले चुनावअघि बन्धकहरूलाई नछोड्नू भनेर इरानसँग गोप्य सम्झौता गरेको आरोप लगाए। रेगनका चुनावी अभियानका प्रमुख विलियम केसीले चुनावपछिको रेगन सरकारले हतियार दिने प्रलोभन देखाएर इरानसँग वार्ता गरेको भनेर गत वर्ष मात्र त्यतिबेलाका एक रिपब्लिकन अधिकारीले स्वीकार गरेका थिए।
यसरी एकातिर जिमी बन्धक छुटाउन असफल भइरहेका थिए भने अर्कातिर अर्थतन्त्रमा ठूलो समस्या आएको थियो।
चुनावी प्रचारका क्रममा जिमीले पहिले फोर्डको आलोचना गर्न बनाएको 'मिजरी इन्डेक्स' को कुरा रेगनले उठाए। उनीहरूबीचको बहस क्रममा मिजरी इन्डेक्स २२ प्रतिशत पुगिसकेको भन्दै रेगनले 'चार वर्षअघिको अवस्थाभन्दा अहिले राम्रो कि नराम्रो’ भनेर जिमीलाई प्रश्न गरे।
सो चुनावमा जिमीको शर्मनाक हार भयो। रेगनले ४८९ इलेक्टोरल कलेज भोट पाए भने जिमीले मात्र ४९।
यसरी उनी एक कार्यकाल मात्रै राष्ट्रपति भएर ह्वाइटहाउसबाट बाहिरिए। पदबाट बाहिरिएपछि उनी राष्ट्रपति हुनुअघिकै निवासमा फर्किए। यसरी पहिल्यै बस्दै आएको निवासमा फर्किने उनी आधुनिक समयका पहिलो अमेरिकी राष्ट्रपति बने।
द वासिङ्टन पोस्टका अनुसार जर्जियाको प्लेन्सस्थित उनको दुई बेडरूमको एकतले घरको हालको मूल्य एक लाख ६७ हजार डलर मात्रै छ। त्योभन्दा महँगा त उनको घरमा तैनाथ सेक्रेट सर्भिसेजका सुरक्षाकर्मीका गाडी हुन्थे।
गत वर्ष जिमीकी श्रीमती रोजलिन र अहिले जिमीको निधन सोही सामान्य निवासमा भयो। सय वर्ष बाँच्ने पहिलो र एक मात्र अमेरिकी राष्ट्रपति पनि जिमी नै हुन्।
५६ वर्षकै उमेरमा राष्ट्रपति भएर अवकाश पाएपछि उनले आफ्नो जीवन शान्ति, प्रजातन्त्र र मानव अधिकार उत्थानका लागि खर्चे। श्रीमती रोजलिनसँग मिलेर उनले खोलेको 'कार्टर सेन्टर' ले अफ्रिका, र एसियाका नेपाल लगायत धेरै गरिब देशमा काम गर्यो। पूर्वअमेरिकी राष्ट्रपतिहरूमध्ये जिमीको नेपालसँग सबभन्दा धेरै आत्मीय सम्बन्ध थियो।
पञ्चायत कालमा जेल परेका बिपी कोइरालालाई छुटाउनदेखि माओवादीहरूलाई शान्ति प्रक्रियामा ल्याउन र संविधानसभा निर्वाचनमा समेत उनी जोडिएका थिए। उनी पहिलो संविधानसभा निर्वाचन २०६४ र दोस्रो संविधानसभा निर्वाचन २०७० मा चुनावी पर्यवेक्षण गर्न नेपाल आएका थिए। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा पनि सहयोगी बने।
बिपीलाई जेलबाट छुटाउन र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका अमेरिकी राष्ट्रपति कार्टर
सन् १९७८ मा इसराइल र इजिप्टबीच क्याम्प डेभिड सम्झौता गराएको र राष्ट्रपतिबाट अवकाश भएपछि पनि विश्वभरि शान्ति र मानव अधिकारका लागि निरन्तर काम गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पाए। यसपछि पनि उनले आफ्नो कामलाई निरन्तरता दिए।
कतिपयले जिमीले राष्ट्रपतीय कार्यकालभन्दा त्यसपछि धेरै सफलता हासिल गरेको भन्छन्।
तर त्यसो भन्नु उनीप्रति न्याय नहुने भनेर पनि कतिले भन्छन्।
रिपब्लिकन पार्टीलाई समर्थन गर्ने द वाल स्ट्रिट जर्नलले उनको निधनपछि 'उनी खराब समयमा राष्ट्रपति बनेका राम्रा मान्छे थिए' भनेर लेखेको छ। उनले निर्णय लिन नसकेर त्यति बेलाका समस्या अझ गिजोलेका थिए वा वर्षौंअघि रोपिएको बीउका कारण समाधान गर्नै नसकिने गरी बिग्रिएको अवस्थाको उनले सामना गर्नुपरेको थियो भन्ने कुरा इतिहास लेख्नेका लागि यक्ष प्रश्न हुने पनि भनेको छ।
***
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)