नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेपछि वामदेव गौतमले नयाँ आकाशतर्फ फेरि हिँड्नुपर्छ भन्ने कुरा भएको बताएका छन्।
अध्यक्ष नेपाललाई भेट्न नेता गौतम बुधबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए।
‘पुराना संस्मरणहरू पुनजीर्वित गरियो। नयाँ आकाशतर्फ फेरि हिँड्नुपर्छ भन्ने पनि कुरा भयो भनेर आजलाई स्थगित गरियो,’ गौतमले भने।
उनले एकीकृत समाजवादीमा जाने सम्भावना रहेको बताए।
एकीकृत समाजवादी र नेता गौतम नेतृत्वको अभियानबीच एकता गर्ने छलफल चलिरहेको छ। नेकपा विघटनपछि नेता गौतमले पार्टी एकता राष्ट्रिय अभियान चलाइरहेको छ।
अध्यक्ष नेपाल र नेता गौतमबीच यसअघि पनि पार्टी एकता गर्नेबारे छलफल भएको थियो।
त्यसपछि नेता गौतमले अभियानका महासचिव डिबी कार्कीको नेतृत्वमा तीन सदस्यीय एकता कार्यदलसमेत बनाएका छन्।