पूर्वअमेरिकी राष्ट्रपतिहरूमध्ये नेपालसँग सबभन्दा धेरै जोडिएका र आत्मीय सम्बन्ध भएका जिमी कार्टरको १०० वर्ष उमेरमा सोमबार बिहान निधन भएको छ।
पञ्चायत कालमा जेल परेका बिपी कोइरालालाई छुटाउनदेखि माओवादीहरूलाई शान्ति प्रक्रियामा ल्याउन र संविधानसभा निर्वाचनमा समेत उनी जोडिएका थिए।
जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा उनको निधन भएको छोरा चिप कार्टरले जानकारी दिएका छन्।
कार्टर अमेरिकाका ३९औं राष्ट्रपति थिए। उनी सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति बने।
उनले नेपालको शान्ति प्रक्रियामा मात्र होइन, सन् १९७८ मा इसराइल र इजिप्टबीच क्याम्प डेभिड सम्झौता गर्न पनि मध्यस्थता गरेका थिए।
यस्तै भूमिकाका कारण कार्टरलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो।
अमेरिकी राष्ट्रपतिबाट बाहिरिएपछि कार्टरले श्रीमती रोजालिनाको सहयोगमा कार्टर सेन्टर खोले। उक्त सेन्टरले शान्ति स्थापना, प्रजातन्त्र र स्वास्थ्य क्षेत्रमा विश्वका ८९ देशहरूमा काम गर्दै आएको सेन्टरकै वेबसाइटमा उल्लेख छ।
अमेरिकी राष्ट्रपतिहरूमध्ये कार्टर मात्र यस्ता व्यक्ति हुन्, जसको नेपालसँग साइनो छ।
उनी पहिलो संविधानसभा निर्वाचन २०६४ र दोस्रो संविधानसभा निर्वाचन २०७० मा चुनावी पर्यवेक्षण गर्न नेपाल आएका थिए। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा पनि कार्टर सहयोगी बने।
सन् २००८ देखि कार्टर सेन्टरमा राजनीतिक विश्लेषक रहेका घनश्याम ओझा माओवादीसँग शान्ति सम्झौतादेखि दोस्रो संविधानसभा निर्वाचनसम्मै कार्टरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सम्झन्छन्।
'सन् २००३ देखि कार्टरले नेपालको शान्ति प्रक्रियामा भूमिका खेल्नुभएको हो,' उनले भने, 'त्यस बेला सरकार र विद्रोही पक्ष (माओवादी) बीच संवादको वातावरण बनाउनमा उहाँको भूमिका थियो।'
त्यस बेला मुलुक द्वन्द्वले आक्रान्त थियो। २०६२/६३ को जनआन्दोलन र सरकार र माओवादीबीच २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौतापछि २०६४ चैत २८ मा संविधानसभा निर्वाचन भयो।
६०१ सदस्यीय संविधानसभामा प्रत्यक्षतर्फ २४० निर्वाचन क्षेत्र थियो, जसमध्ये १२० क्षेत्रमा माओवादीले चुनाव जितेको थियो। तर चुनावी परिणामलाई लिएर कांग्रेस र एमालेले असहमति जनाएका थिए।
चुनावी पर्यवेक्षणका लागि नेपालमा रहेका कार्टरले भने शान्तिपूर्ण तवरले चुनाव सम्पन्न भएको अभिव्यक्ति दिएका थिए।
'माओवादीले धाँधली गरेर चुनाव जितेको आरोप त्यस बेला कांग्रेस र एमालेको थियो। उनीहरूले चुनावी परिणाम मान्दैनौं भनेका भए मुलुक फेरि द्वन्द्वतिरै फर्कन सक्थ्यो। त्यही भयले पनि होला, कार्टरले शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न भएको अभिव्यक्ति दिनुभयो। त्यसले दलहरू र अन्तर्राष्ट्रिय समुदायमा गहिरो प्रभाव पार्यो,' ओझाले भने।
त्यो समय माओवादीका जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन र संविधान लेखन लगायत कयौं विषय हल गर्नुपर्ने थियो। फरक-फरक पृष्ठभूमि तथा सिद्धान्त बोकेका दलहरूबीच निर्वाचन प्रणाली लगायत विषयहरूमा मतभिन्नता थिए। यस्ता विषयमा सहजीकरण गर्न पनि कार्टरको भूमिका रहेको ओझाले जानकारी दिए।
'त्यस बेला नेपाली कांग्रेस र नेकपा (एमाले) प्रत्यक्ष निर्वाचन प्रणालीकै वकालत गर्थे। माओवादी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा उभिएको थियो,' ओझाले भने, 'दलहरूलाई मिश्रित निर्वाचन प्रणालीमा सहमत गराउन कार्टरले पनि भूमिका खेल्नुभएको हो।'
ओझाले कार्टरको आनीबानीबारे पनि चर्चा गरे। उनका अनुसार कार्टर सरल र समान व्यवहार गर्ने व्यक्ति थिए।
'नेपालमा आएका बेला उहाँले ठूलादेखि साना दलका नेताहरूसँग भेट्नुभयो। ती भेटमा शान्ति प्रक्रियामा प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुहुन्थ्यो। नेपालप्रति अलि बढी नै माया उहाँमा थियो,' उनले भने।
कार्टर सेन्टरले पहिलो संविधानसभा निर्वाचनपछि तत्कालीन पाँचवटै विकास क्षेत्रमा कार्यालय खोलेर शान्ति सम्झौतामा उल्लेख भएका कुरा परिपालना भयो कि भएन भन्ने प्रतिवेदन सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूलाई दिने गर्थ्यो।
'त्यस बेला कतिपय ठाउँमा माओवादीका सैन्य संरचना कायमै थिए। कब्जा गरिएका घरजग्गा फिर्ता भएका थिएनन्। सेनाका तर्फबाट पनि मानव अधिकार उल्लंघनका घटना भएका थिए। त्यसको कार्टर सेन्टरले निरन्तर रिपोर्टिङ गर्थ्यो,' उनले भने, 'त्यसले पनि नेपालमा शान्ति स्थापनामा भूमिका खेल्यो।'
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति जिमी कार्टरले नेपाल लगायत विभिन्न देशमा मानव अधिकार र द्वन्द्व व्यवस्थापनमा भूमिका खेलेको बताए।
'राष्ट्रपति कार्टरले मानवअधिकार र द्वन्द्व व्यवस्थापनका सन्दर्भमा विभिन्न क्षेत्र र देशमा सकारात्मक भूमिका खेल्नुभयो। नेपालमा द्वन्द्व चलिरहेका बेला उहाँले सबै पक्ष लचिलो भएर समस्या समाधान गर्नुपर्ने सुझाव दिनुहुन्थ्यो,' उनले भने।
मानवअधिकार निम्ति लड्ने पूर्वराष्ट्रपति कार्टरको निधनले नेपालले एउटा मित्रसमेत गुमाएको खनालको भनाइ छ।
द्वन्द्व व्यवस्थापन गर्न कार्टर सेन्टरका तर्फबाट सरकार, जनप्रतिनिधि, नागरिक समाज लगायतलाई एकै ठाउँ ल्याएर विभिन्न विषयमा छलफल गरी समस्या समाधानका आधार खोज्ने काम पनि भएको खनाल सम्झन्छन्।
कार्टरको निम्तोमा नेपालका विभिन्न दलका शीर्ष नेताहरू पटक पटक अमेरिका पनि गएका थिए।
शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का नेता मीनेन्द्र रिजाल, नेपाली कांग्रेसका नेता चक्र बास्तोला, एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल कार्टरलाई भेट्न अमेरिका गएका थिए।
'शान्ति प्रक्रियामा माओवादीलाई ल्याउने विषयमा एउटा बाटो बनाउन सकिन्छ कि भन्ने आत्मविश्वास थियो। त्यसैले हामी कार्टरलाई भेट्न गयौं। उहाँले त्यस बेला बलियो प्रयास गर्नुभयो,' कांग्रेस नेता रिजालले भने।
कार्टर सेन्टरकै अग्रसरतामा अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा एक सातासम्म चलेको शान्ति प्रक्रियासम्बन्धी गोष्ठीमा पनि नेपालबाट विभिन्न दलका नेताहरू सहभागी थिए।
त्यस बेला चक्र बास्तोला, रामशरण महत, प्रकाशचन्द्र लोहनी, झलनाथ खनाल, अशोक राई, विमलेन्द्र निधि, मीनेन्द्र रिजाल, अनिल झा लगायत नेताहरू हार्वर्ड विश्वविद्यालयमा भएको गोष्ठीमा सहभागी भएका थिए।
'कसरी माओवादीसँग वार्ता गर्ने र कसरी शान्ति प्रक्रिया अघि बढाउन सकिन्छ भन्ने कुरा त्यस बेला भएको थियो,' गोष्ठीमा सहभागी रिजालले भने।
कार्टर पटक पटक नेपाल आएको र पहिलो संविधानसभा निर्वाचनमा पर्यवेक्षण गरेको रिजाल सम्झन्छन्।
कांग्रेस नेता रिजालका अनुसार पूर्वराष्ट्रपति जिमी कार्टरले जेलमा रहेका बिपी कोइरालालाई रिहा गर्न पहलसमेत गरेका थिए।
'२०३३ सालपछि बिपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर नेपाल फर्कँदा जिमी कार्टर अमेरिकी राष्ट्रपति हुनुहुन्थ्यो,' रिजालले भने, 'बिपीलाई जेलबाट छुटाउन कार्टरले पहल गर्नुभएको थियो। मानवअधिकारप्रति चिन्तित हुनुहुन्थ्यो। त्यसले पनि बिपीलाई उपचारका लागि अमेरिका जाने बाटो बन्न मद्दत पुग्यो।'
अमेरिकाको बहालवाला राष्ट्रपति भएका कारण पनि कार्टरले बिपी र गणेशमान सिंह लगायतलाई सुन्दरीजल जेलमुक्त गराउने पहलले काम गरेको थियो।
'उति बेला बिपीलाई जेलबाट छुटाउने वातावरण बनाउन र पछि शान्ति प्रक्रिया अघि बढाउन त्यत्तिको गहिरो र नेपालप्रति अभिरूचि भएको कार्टरबाहेक अरू अमेरिकी राष्ट्रपति कोही पनि भएन,' रिजालले भने।
माओवादीसँग सरकारले वार्ताका लागि कुराकानी गर्नुअघि नै नेपालका विभिन्न दलका नेताहरूले कार्टरसँग अमेरिकामा छलफल गरेका थिए।
'जुन बेला माओवादीसँग वार्ताका लागि कुरा पनि सुरू भएको थिएन, त्यस बेला नेपाली कांग्रेस (प्रजातान्त्रिक) र एमालेको सरकार थियो। त्यति बेलै कार्टरसँग कुराकानी भएको थियो,' रिजालले भने, 'गिरिजाप्रसाद कोइरालाले पनि कार्टरको निम्तो अस्वीकार गर्न सक्नुभएन, चक्र बास्तोलालाई पठाउनुभयो।'
त्यस बेला माधव नेपाल, चक्र बास्तोला, मीनेन्द्र रिजाललाई राखेर जिमी कार्टरले शान्ति प्रक्रिया कसरी अघि बढाउनेजस्ता विषयमा कुराकानी गरेका थिए।
'त्यो महत्त्वपूर्ण समय थियो, अमेरिकामै बोलाएर हामीलाई उहाँले हौसला पनि दिनुभयो,' रिजालले भने।
सन् १९८० दशकमा उनी नेपाल भ्रमणमा आउँदा सगरमाथा आधारशिविर भ्रमण गर्न गएका थिए। त्यो बेला उनले सुरक्षा अधिकारीहरूलाई पनि आफूसँग लगेका थिएनन्।