नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन फेरि स्थगित भएको छ।
उमेर हदको विषयलाई लिएर विद्यार्थीहरूबीच विवाद र कुर्ची हानाहान भएपछि स्थगित भएको सम्मेलन मंसिरको २३ र २४ गते गर्ने भनिएको थियो।
तर तयारी नपुगेको र निर्वाचनको मोडालिटी पनि टुंगो लगाउन बाँकी रहेको भन्दै सम्मेलन स्थगित भएको अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष मदन भुलले जानकारी दिए।
आउँदो २७ गते बस्ने पार्टी स्थायी कमिटी बैठकले निर्वाचनको मोडालिटी तयार पारेपछि नयाँ मिति तोकिने खबर आफूहरूले पाएको उनले बताए। यसअघि असोज १० गतेदेखि कीर्तिपुरमा सम्मेलन सुरू भएको थियो।
तर सम्मेलनमा उमेर हदको विषय उठेपछि चर्किएको विवाद टुंगो लागेको थिएन।
क्रान्तिकारीको अध्यक्ष बन्न ३२, ३० र २८ वर्षमध्ये एउटा उमेर हद कायम गर्नुपर्ने माग हलमा उठेको थियो।
अध्यक्षका अधिकांश आकांक्षी ३२ वर्षभन्दा माथिका भएकाले उनीहरूले स्वीकार गरेका थिएनन्।
उमेर हद लगाउने कि नलगाउने, लगाउनै परे कति वर्ष कायम गर्ने भन्ने बारेमा सुरू भएको विवाद मञ्च, तोडफोड र कुर्ची हानाहानसम्मै पुगेको थियो। त्यसपछि स्थगित भएको सम्मेलन मंसिरको २३ र २४ गते गर्ने निर्णय अध्यक्ष मण्डलले गरेको थियो।