लुम्बिनी प्रदेशमा उपनिर्वाचनको सम्पूर्ण परिणाम आएको छ।
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतपरिणाम सोमबार दिउँसो सार्वजनिक भएसंगै प्रदेशको सबै नतिजा सार्वजनिक भएको हो।
विभिन्न कारणले रिक्त भएका पदका लागि मंसिर १६ गते भएको उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा एमालेलाई फाइदा भएको छ। प्रमुख सत्तासाझेदार एमालेले कांग्रेसबाट एउटा वडाध्यक्ष खोस्न सफल भएको छ।
लुम्बिनीमा पाँच जिल्लाका ६ पदमा उपनिर्वाचन भएको थियो। एक उपाध्यक्षसहित पाँच वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा कांग्रेस यथावत अवस्थामा पुगेको छ भने कांग्रेसले एउटा वडाध्यक्ष गुमाउनु परेको छ। यसअिघ कांग्रेसले जितेको कपिलवस्तु जिल्लाको एक वडाध्यक्ष एमालेले जितेको हो।
रूकुम पूर्वमा माओवादी उम्मेदवार निर्वाचित
सार्वजनिक मत परिणाम अनुसार पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ४२ वर्षीया नरपुरा बुढा निर्वाचित भएकी छन्। उनी ३६२७ मत प्राप्त गरि निर्वाचित भएकी हुन्।
२०७९ को स्थानीय तह निर्वाचनमा पनि गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन्। भूपेन्द्राको गत भदौ २८ गते काठमाडौंबाट घर तर्फ आउँदै गर्दा सवारी दुर्घटनामा मृत्यु भएको थियो। अहिले निर्वाचित नरपुरा बुढा भूपेन्द्राकी सहोर दिदी हुन्।
यो गाउँपालिकामा प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा फरक अभ्यास भएको थियो। कांग्रेसको रूख चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रिएकी नेकपा (एमाले) की ५५ वर्षीया केशकुमारी तुलाचनले २१२८ मत मात्रै प्राप्त गरेकी छन्। तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुन्।
वडा नं. २ मा निर्विरोध
पुथा उत्तरगंगा गाउँपालिका–२ को वडाध्यक्ष पदमा माओवादी केन्द्रबाट जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।
नेकपा एमालेका जीवन रोका र स्वतन्त्र रूपमा शुकराज विकले उम्मेदवारी झिकेपछि उनी निर्विरोध निर्वाचित भएका थिए। लुम्बिनीका पाँच जिल्लामा भएको उपनिर्वाचनमध्ये वडाध्यक्ष पदमा निर्विरोध भएको यही एक वडा हो। एमाले उम्मेदवारले समेत माओबादी उम्मेदवारको समर्थनमा उम्मेदवारी फिर्ता लिएपछि त्यहाँ आन्तरिक किचलो सुरू भएको थियो।
रोल्पामा कांग्रेसको जित
रोल्पाको रुन्टीगढी गाउँपालिका-४ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट भूपमणि पुन मगर निर्वाचित भए। कांग्रेसका मगरले ६४३ मत प्राप्त गरि निर्वाचित भएका थिए।
पूर्वशिक्षक समेत रहेका मगरले निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट बेगम पुन मगरको भन्दा १०८ मत बढी प्राप्त गरेका थिए। एमालेका मगरले ५३५ मत प्राप्त गरेका थिए। अर्का प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेशजंग सिंहले ७० मत प्राप्त गरेका थिए।
यो वडामा २०७९ सालमा पनि कांग्रेसकै टंकबहादुर पुन निर्वाचित भएका थिए। उनको मृत्यु भएपछि रिक्तस्थानमा मंसिर १६ गते उपनिर्वाचन भएको हो।
बर्दियामा कांग्रेसको जित
बर्दियाको ठाकुरबाबा नगरपालिका-४ को वडाध्यक्ष नेपाली कांग्रेसका अमिन थारू निर्वाचित भएका छन्।
थारुले १०४३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। आफ्ना प्रतिस्पर्धीभन्दा थारुले ३६५ मत बढी प्राप्त गरी निर्वाचित भएका हुन्।
माओवादीका शेरबहादुर थारूले ६७८ मत प्राप्त गरेका थिए। त्यस्तै एमालेका विष्णुप्रसाद देवकोटाले ३३७, नागरिक उन्मुक्ति पार्टीका प्रीतिलाल थारूले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर शाहीले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीकाले १७ मत प्राप्त गरेका थिए। यो वडामा २०७९ सालमा पनि कांग्रेसका सूर्यबहादुर विष्ट निर्वाचित भएका थिए।
गुल्मीका कांग्रेसको जित
गुल्मीको मुसिकोट-१ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
कांग्रेस उम्मेदवार आनन्द श्रेष्ठले ११८४ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दलबहादुर थापाले ९३० मत प्राप्त गरेका थिए। यहाँ माओवादीका दुर्गा विकले १४३ मत प्राप्त गरेका थिए। २०७९ मा यहाँ कांग्रेसका मोहन घिमिरे निर्वाचित भएका थिए।
कपिलवस्तुमा कांग्रेसबाट एमालेले खोस्यो वडाध्यक्ष पद
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ को अध्यक्षमा नेकपा (एमाले) का मोहम्मद ताहिर मुसलमान विजयी भएका छन्। मुसलमानले ११५० मत प्राप्त गरि निर्वाचित भएका थिए।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेशकुमार यादवले १०७६ मत प्राप्त गरेका थिए। तेस्रो भएका जनमत पार्टीकाका सीताराम पटेल कुर्मीले ४२३ प्राप्त गरे।
यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तिलकराम यादवले १०३२ मत पाएर विजयी हुँदा एमालेका अब्दुल मोजिव खाँले ८८९ पाएका थिए।