रुकुम पूर्वका पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा निर्वाचित भएकी छन्। उनले ३ हजार ६२७ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्।
यहाँ नेकपा एमालेकी केशकुमारी तुलाचनले नेपाली कांग्रेसको चुनाव चिन्ह लिएर लडेकी थिइन्। तर पराजित भइन्।
यस निर्वाचन परिणामबारे प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्ती दुई ठूला दलले गठबन्धन गरेपछि आफ्ना कार्यकर्ताहरू सक्रिय बनेको बताए।
लुम्बिनी प्रदेशका पूर्व सभामुखसमेत रहेका घर्ती दश दिन बढी पार्टीको जित पुथा उत्तरगंगामा खटेका थिए।
‘उहाँहरू बीचको गठबन्धन अमिल्दो थियो,’ उनले भने, ‘सँधै रुखमा मात्रै भोट हालेका कांग्रेस कार्यकर्ताले चिन्ह हाम्रो तर उम्मेदवार हाम्रो होइन भन्थे। एमालेका कार्यकर्ताले उम्मेदवार मात्रै हाम्रो हो, तर चुनाव चिन्ह हाम्रो होइन भन्ने मनोविज्ञान बोकेका थिए।’
अहिलेको चुनाव निकै सौहार्द, निष्पक्ष र शान्तिपूर्ण पूर्ण भएको उनले बताए।
के भन्छन् कांग्रेस र एमालेका नेताहरू?
नेपाली कांग्रेसका महासमिति सदस्य नन्द विष्टले गतिलो अभ्यास नगरी फिल्डमा दुई पार्टी मात्रै मिल्दैमा चुनाव जितिन्छ भन्ने कुरा गलत साबित भएको बताए।
माओवादीहरू यसपटक निकै मसिनो ढंगले घर-घर र बस्तीबस्तीमा प्रचारप्रसार गर्दा कांग्रेस-एमाले सामाजिक सञ्जालमा मात्रै रमाएको उनको विश्लेषण छ।
अघिल्लो निर्वाचनका क्रममा पार्टीभित्र देखिएको अन्तरविरोधलाई माओवादीले घटाउन सफल भएको उनले बताए।
गठबन्धनका उम्मेदवारले ३ देखि ५ सय मतान्तरले जित हालिस गर्ने अनुमान उनको थियो। तर घर दैलोमा जाँदा फरक पाइएको हुँदा माओवादीको जित स्वभाविक पनि रहेको उनले बताए।
नेकपा एमालेका जिल्ला इञ्चार्ज तथा पोलिटब्यूरो सदस्य खेममान खड्काले पनि पुथा उत्तरगंगा माओवादीको द्धन्दकालदेखिको आधार क्षेत्र भएको हुँदा जित स्वभाविक भएको बताए।
उनी निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन सुरू देखि नै खटिएका थिए। उनले सर्वसाधरण जनतामा माओवादीको त्रास कायमै रहेको बताए।
त्यस्तै उनले एमाले नेता कांग्रेसको चुनाव चिन्हबाट मैदानमा उत्रिँदा पनि केही समस्या देखिएको बताए।
‘एउटा त हामीलाई प्रचारप्रसारको समय कम भयो,’ उनले भने, ‘अर्कोतर्फ रूख चुनाव चिन्हबाट एमाले उम्मेदवार मैदानमा उत्रिएको भएपनि कांग्रेसबाट हुनुपर्ने स्रोतको परिचालन भएन भन्ने लाग्छ।’
प्रचारका लागि पालिकाका सबै वडा र घरबस्तीमा पुगेको भएपनि गठबन्धन प्रतिको लहर पैदा गर्न कठिन भएको उनले बताए।
२०७९ को स्थानीय तह निर्वाचनमा पनि गाउँपालिकाको उपाध्यक्ष माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन्।
भूपेन्द्राको गत भदौ २८ गते काठमाडौंबाट घर तर्फ आउँदै गर्दा सवारी दुर्घटनामा मृत्यु भएको थियो। अहिले निर्वाचित नरपुरा बुढा भूपेन्द्राकी सहोदर दिदी हुन्। यो गाउँपालिकामा प्रमुख दुई दल नेपाली
कांग्रेस र नेकपा एमालेका बीचमा फरक अभ्यास भएको थियो।
कांग्रेसको रूख चुनाव चिन्हवाट प्रतिष्पर्धामा उत्रिएकी नेकपा (एमाले) की ५५ वर्षीया केशकुमारी तुलाचनले २१२८ मत मात्रै प्राप्त गरेकी छन्।
तुलाचन एमाले जिल्ला कमिटी उपसचिव हुन्।
मनोनयन दर्ता गराएपनि नेकपा (एमाले) की सुनिता बुढा मगर, स्वतन्त्र रूपमा कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेवी सुना (बिक) सबैले अन्तिममा आएर आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
उम्मेदवारी फिर्ता लिएकामध्ये अधिकांसले माओबादीकी उम्मेदवारलाई समर्थन गरेका थिए।
उत्तरगंगा गाउँपालिकामा कुल १११३० मतदाता थिए।
मंसिर १६ गतेको उपनिर्वाचनमा ५९३२ मत मात्रै खसेको थियो। त्यो ५३.०३ प्रतिशत हुन्छ।
पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्ष पदमा माओवादी केन्द्रबाट जगत घर्ती यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। पुथा उत्तरगंगा गाउँपालिका-२ मा २०७९ सालमा पनि माओवादीका जसबहादुर श्रीपाइली विजयी भएका थिए। श्रीपाइलीको पनि गाउँपालिका उपाध्यक्षसँगै सवारी दुर्घटनामा मृत्यु भएको थियो।