काँध–काँधमा दलगत झन्डा, हात–हातमा पर्चा। हात जोड्दै स–साना समूहमा भोट माग्न हिँडिरहेकाहरू। कतै लाउडस्पिकर घन्काउँदै गाडी गल्ली पनि पसिरहेका छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ को चुनावी परिदृश्य हो यो। ठमेलदेखि नेपालटारसम्म पश्चिमोत्तर फैलिएका वडा काठमाडौं–१६ को निर्वाचनको भूगोल हो।
मंसिर १६ गते हुन उपनिर्वाचनका लागि यहाँ १८ जना उम्मेदवार चुनावी मैदानमा छन्।
नेपाली कांग्रेस, नेकपा (एमाले) जस्ता पुराना राजनीतिक दल मात्र होइन, नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि चुनावी मैदानमा छ। रास्वपा पहिलो पटक चुनावी प्रतिस्पर्धामा होमिएको हो।
यहाँ नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारलाई समर्थन गरेको छ।
त्यसका अतिरिक्त राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पनि प्रतिस्पर्धामा छन्।
१८ मध्ये ११ जना स्वतन्त्र उम्मेदवार हुन्।
चुनावका बेला राजनीतिक दलले डमी उम्मेदवार पनि खडा गर्छन् भन्ने आरोप छ। चुनावी आचारसंहिता छल्न, उम्मेदवारले पाउने सुविधा लिन तथा मदतानका बेला प्रतिनिधि खटाउनसमेत कामयावी हुने हुँदा राजनीतिक दलले एकभन्दा बढी पनि डमी उम्मेदवार तय गर्ने हुनाले वास्तविक स्वतन्त्र उम्मेदवारको संख्या तय गर्न गाह्रो हुने उनीहरू बताउँछन्।
रोचक कुरा त काठमाडौं १६ महानगरमध्येकै ठूलो वडा हो। यहाँ ८४ हजार ४ सय ४१ जना बसोबास गर्छन्। कूल ४५ हजार घरधुरी रहेको यस वडामा जम्मा मतदाता भने २१ हजार २५ छन्।
एक घर एक मतदाता पनि छैनन्। ‘चुनाव आउन ६ दिन पनि बाँकी छैन। घरघर पुगेर मत माग्न सकिने अवस्था पनि छैन,’ एक उम्मेदवार भन्दै थिए।
टोखा, तारकेश्वर र नागार्जुन नगरपालिकासँग पनि सीमा जोडिएको यस वडाको उपचुनावलाई दलहरूले मध्यावधि समीक्षाका रूपमा पनि लिएका छन्।
२०७४ को स्थानीय तह निर्वाचनअघि यस क्षेत्र वाम वर्चस्वको क्षेत्रमा रूपमा बुझिन्थ्यो। २०७० को संविधान सभा र २०७४ को प्रतिनिधि सभा निर्वाचन जितेका रामवीर मानन्धरले यसै वडाबाट निर्वाचित भएका थिए।
उनी २०४९ र २०५४ मा पनि काठमाडौं १६ का वडाध्यक्ष हुन्।
२०७४ पछि यस वडा नेपाली कांग्रेसले जित्न थाल्यो। १४ महिनाअघि मृत्यु भएका मुकुन्द रिजालले २०७४ र २०७९ मा दुई कार्यकाल वडाध्यक्ष निर्वाचित भएपछि नेकपा एमाले यहाँ पछि परेको हो।
यद्यपि २०७४ र २०७९ दुवै निर्वाचनमा ४ वडा सदस्य भने एमालेले नै जितेको छ। २०८० भदौ २१ गते वडाध्यक्ष रिजालको निधन भएपछि एमालेबाट निर्वाचित पुष्प महर्जन कार्यवाहक छन्। महर्जन २०७४ मा पनि वडा सदस्य थिए।
एमालेलाई आफ्नै मत जोगाउन सकस
एमालेले यस वडामा पुरानै प्रत्यासी लक्ष्मीरत्न तुलाधरलाई अघि सारेको छ। पार्टी कमिटीमा विशेष जिम्मेवारी नभए पनि उनी त्यस वडाका पुराना नेता हुन्।
२०५४ सालमै वडा सदस्य निर्वाचित भइसकेका उनले २०७४ मा भने टिकट पाएनन्। ‘त्यतिबेला म बाहिर बसेर पार्टीका उम्मेदवार जिताउन लागेँ। तर ४ वटा सदस्य जित्दा पनि वडाध्यक्ष जित्न सकिएन,’ उनले भने।
२०७४ मा कांग्रेसका रिजाल ४ हजार ३ सय ९९ मत ल्याएर वडाध्यक्ष निर्वाचित भए। एमाले उम्मेदवार विश्वराम सापकोटाले ४ हजार ३ सय ३० अर्थात् ६९ मतले पछि परे।
२०७९ मा पुनः रिजाल ४ हजार १९ मतसहित निर्वाचित भए। प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३ सय १० मत पाए। दुई उम्मेदवाबीचको मतान्तर ७०९ थियो।
एमाले विभाजनको असर यस निर्वाचनमा परेको एमालेको दाबी छ। एमालेबाट विभाजित भए बनेको पार्टी एकीकृत समाजवादीले पनि त्यहाँ उम्मेदवारी दिएको थियो। एकीकृत समाजवादीका लक्ष्मण गमालले १ हजार ५९८ मत ल्याएका थिए।
कांग्रेसका रिजाल आधारभूत तहसम्म भिजेको र कतिपय एमालेका मतदाताले उनलाई भोट हालेको एमालेका नेता–कार्यकर्ताको दाबी छ।
विगतमा वडा सदस्यले प्राप्त गरेको मत जोगाउने हो भने पार्टीको पल्लाभारी हुने एमालेका नेताहरूको बुझाइ छ। यसपालि पार्टीमा निस्क्रिय रहेका रामवीर मानन्धर पनि सक्रिय रहेकोले त्यसको प्रभाव पनि निर्वाचनमा पर्ने एमालेका नेताहरू बताउँछन्। तथापि संगठित पंक्ति भए पनि एमालेसँग चुनाव जित्ने ठोस र मजबुत आधार भने देखिँदैन।
एमाले उम्मेदवार तुलाधर यसबीचमा एमालेले गरेका कामहरू नै चुनाव जित्ने आधार भएको बताउँछन्।
‘२०७९ सालमा एमाले विभाजित थियो, एमालेविरूद्ध गठबन्धन पनि थियो। जसरी हुन्छ एमालेलाई लखेट्ने भन्ने नीति भएमाले म प्राविधिकरूपमा पछि परेँ। अहिले पार्टी पंक्ति एकताबद्ध पनि छ,’ एमालेबाट वडाध्यक्षका उम्मेदवार तुलाधरले भने, ‘वडाध्यक्ष रिजालको निधनपछि हामीले कार्यवाहक लिएर चलाइराखेको अवस्थामा यस १४ महिनाको अवधिमा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधिहरूले गरेका काम नै हाम्रो जितको आधार हो।’
थप भिडिओमा हेर्नुहोस्:
पार्टी एकताबद्ध बनाउने कांग्रेसको चुनौती
कांग्रेसले वडा नम्बर १६ मा देवेन्द्र पाठकलाई अघि सारेको छ। उनी त्यस वडामा कांग्रेस सभापति पनि हुन्।
लगातार दुई कार्यकाल जितेकाले विगतको परिणामलाई कायम राख्नु कांग्रेसका लागि चुनौतीपूर्ण छ। त्यहाँ मुकुन्द रिजालका छोरा सन्देश र पत्नीले पनि टिकटको आकांक्षा राखेका थिए।
तर पाठकलाई उम्मेदवार बनाउने तयारी गरेपछि उनीहरूले ‘सहमतिका लागि मार्ग प्रशस्त गरेको’ भन्दै उमेदवारको आकांक्षाबाट बाहिरिएका थिए।
परिवारका सदस्यले टिकट नपाएकाले पार्टी पंक्तिलाई एकताबद्ध बनाउन सकिँदैन कि भन्ने आशंका कांग्रेसवृत्तमा छँदैछ।
तर, एमाले विभाजित नै रहेको र विगतमा पराजित भएकै उम्मेदवार मैदानमा उतारेकाले सहजै जित्न सकिने आकलन पनि कांग्रेसको छ।
कांग्रेस उम्मेदवार पाठक दिवंगत रिजालले गरेका काम नै पार्टीले जित्ने आधार भएको बताउँछन्। रिजालको कार्यकालमा वडा भवन बनाउनेदेखि विकास निर्माणमा उल्लेख्य प्रगति भएको उनको भनाइ छ।
‘मुकुन्द रिजाल वडाध्यक्ष भइसकेपछि धेरै कामहरू गर्नुभएको छ। त्यसका अतिरिक्त हाम्रो बलियो संगठन छ। हाम्रो वडा स्वर्गीय गणेशमान सिंह, मंगलादेवीको वडा पनि हो। यहाँ पुरानो बासिन्दा पनि हुनुहुन्छ। बाहिरबाट आएर पनि बस्नुभएको छ। दुवै तहमा पार्टी उत्तिकै भिजेकाले मत पाउनेमा हामी आशावादी छौं,’ उनले भने।
थप भिडिओमा हेर्नुहोस्:
‘पुराना दलप्रति वितृष्णा बढेकाले हामीले मत पाउँछौं’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुराना दलहरू वितृष्णा बढेकाले त्यसको ‘क्यास’ गर्ने बताएको छ। राप्रपाले श्यामकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ।
२०७९ सालमा राप्रपाले बिन्दीका गुरूङलाई उम्मेदवार बनाएको थियो। उनले त्यतिबेला ५५७ मत प्राप्त गरेकी थिइन्।
‘विगतमा निर्वाचित भएका ठूला पार्टीका उम्मेदवारले केही काम गर्न सकेनन्। उनीहरूको व्यवहारले दिक्क छन् मतदाता।यसपटक मत परिवर्तन गर्नुपर्छ भन्ने उहाँहरूको भावना पाएका छौं। म ३० वर्षदेखि यही समाजमा छु। सामाजिक काममा सक्रिय छु। मेरो विगतको क्रियाशीलता र समर्पणभावले चुनाव जित्नेमा ढुक्क छु,’ यसपटक उम्मेदवार बनेका श्रेष्ठले भने।
‘भ्रष्टाचार र बेथिति रोक्छु’
नेकपा (एकीकृत समाजवादी) ले मीनबहादुर मानन्धरलाई अघि सारेको छ। मानन्धरलाई माओवादी केन्द्रले पनि समर्थन गरेकाले दुई पार्टीका साझा उम्मेदवार हुन्।
यसअघि १६ नम्बर वडामा एकीकृत समाजवादीले १ हजार ५ सय ९८ मत प्राप्त गरेको थियो। माओवादी केन्द्रले त्यतिबेला नेपाली कांग्रेसलाई समर्थन गरेको थियो।
२०७४ को स्थानीय तह निर्वाचनमा त्यहाँ माओवादी केन्द्रका उम्मेदवार दिलीपराज वन्तले ८७५ मत प्राप्त गरेको थियो। वडा सदस्यहरूले पनि त्यही हाराहारी मत प्राप्त गरेकाले एक हजार हाराहारी मत रहेको पार्टीको दाबी छ।
एकीकृत समाजवादीले अहिले १६ नम्बर वडा विचौलियाले चलाइरहेको बताएका छन्। यसैकाविरूद्ध पार्टीले उम्मेदवारी दिएको एकीकृत समाजवादीको कथन छ।
‘अहिलेका जनप्रतिनिधिहरू भ्रष्टाचारमा लिप्त रहेको देखियो। सेवा प्रवाह पनि चुस्त देखिएन। सिफारिस लिन आएका नागरिकलाई तलबाट माथि र माथिबाट तल पठाएर दुःख दिने गरेको गुनासो छ। सुशासन कायम गर्न नै मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने।
यसका अतिरिक्त वडा नम्बर १६ मा रास्वपाले पहिलो पटक निर्वाचनमा भाग लिँदैछ। रास्वपाले रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ।
२०७९ को प्रतिनिधि सभामा निर्वाचनमा रास्वपाका गणेश पराजुली निर्वाचित भएको क्षेत्र हो। काठमाडौं–७ बाट पराजुली ८ हजार ७ सय ४३ मत सहित निर्वाचित भएका थिए। उनका प्रतिद्वन्द्वी एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय मत ल्याएका थिए।
अहिले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको कसुरमा कास्की प्रहरीको हिरासतमा छन्। सरकारले उनीमाथि प्रतिशोध साँधेको बताउँदै अहिलेको उपनिर्वाचनमा रास्वपाले यसैलाई चुनावी मुद्दा बनाइरहेको छ।
कांग्रेस, एमालेले भ्रष्टाचार र विचौलियातन्त्र संस्थागत गरिररहेको भन्दै यसैकाविरूद्ध पार्टीले उपचुनावमा उम्मेदवारी दिएको रास्वपाले बताएको छ।