पूर्वसांसद रामवीर मानन्धर नेकपा (एमाले) मै फर्किएका छन्।
उनी केही वर्षदेखि राजनीतिमा निस्कृयजस्तै थिए।
काठमाडौंको वडा नम्बर १६ मा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। सो वडामा उम्मेदवारी घोषणा गर्ने एमालेको कार्यक्रममा सहभागी भएर अब आफू एमालेमा फर्किएको बताएका हुन्।
एमालेले वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाएको छ। सोमबार भएको उम्मेदवार घोषणा सभामा मानन्धर पनि सहभागी भए।
सेतोपाटीसँग कुरा गर्दै मानन्धरले आफू फेरि एमाले राजनीतिमा सक्रिय भएको बताए।
‘म दुई/दुई पटक वडा नम्बर १६ को अध्यक्ष भएँ, यही क्षेत्रबाट दुई पटकसम्म सांसद जितेँ,’ मानन्धरले भने, ‘पछिल्ला दुइटा चुनावमा एमाले यो क्षेत्रबाट पराजित भयो, अहिले एमालेलाई जिताउने अभिभारासहित म सक्रिय भएको छु।’
मानन्धर २०४९ र २०५४ सालको निर्वाचनमा वडा नम्बर १६ को वडा अध्यक्ष निर्वाचित भएका थिए।
उनले २०७० र २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचन जितेका थिए।
एमालेमा तत्कालीन नेता वामदेव गौतमनिकट मानिने मानन्धर २०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा मेयरको प्रतिष्पर्धा गर्न चाहन्थे। तर एमालेले केशव स्थापितलाई टिकट दिएपछि फरक मत राख्दै पार्टीबाट अलग भएको घोषणा गरेका थिए।
त्यतिबेला मंसिरमा भएको आम चुनावमा उनी स्वतन्त्र उम्मेदवार बने पनि पराजित भए। एमालेमा फर्किए पनि आफ्नो जिम्मेवारीका बारेमा भने अहिले टुंगो लागिनसकेको मानन्धरले बताए।
‘यो क्षेत्रमा अहिले हाम्रो पकड कम हुँदै गएको छ। एमालेका उम्मेदवारलाई चुनाव जिताउने लक्ष्यसहित एमालेमा सक्रिय भएको छु,’ मानन्धरले भने, ‘पहिले मंसिर १६ को उपनिर्वाचन जितौं त्यसपछि पार्टीमा जिम्मेवारीबारे छलफल गरौंला।’
गत निर्वाचनमा काठमाडौं-१६ नेपाली कांग्रेसका मुकुन्द रिजालले जितेका थिए। उनको निधन भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो।