नेपाली कांग्रेस र नेकपा एमालेले पोखरामा फुक्काफाल अराजनीतिक गतिविधि चलिरहेको भन्दै नियन्त्रण गर्न सरकारलाई अनुरोध गरेका छन्।
दुईदलीय गठबन्धनको केन्द्रीय निर्णय अनुसार प्रदेश संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै उक्त निर्णय गरेका हुन्।
दुईदलीय संयन्त्रको निर्णयमा भनिएको छ, 'नेपालको संविधान र कानुनी राज्यको अवधारणा विरूद्ध भइरहेको जुनसुकै अराजनीतिक अराजक गतिविधिप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता गतिविधि समयमै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै कानुनी राज्यको कार्यान्वयनका लागि आवश्यक सहयोग गर्न सबै पक्षसँग हार्दिक अपिल गने निर्णय गरियो।'
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा हिरासतमा परेपछि पार्टीले निरन्तर आन्दोलन गर्दै आएको छ। उक्त आन्दोलन अराजनीतिक र फुक्काफाल भएकाले सरकारलाई नियन्त्रण गर्न सुझाव दिएको नेकपा एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले बताए।
'रास्वपा नेता विरूद्ध जाहेरी परेपछि अदालती प्रक्रिया चलिरहँदा कानुनी राज्यलाई कमजोर बनाउने खालको अराजनीतिक गतिविधि गर्न भएन। यस्तो प्रवृत्तिको विरोध गरेका हौं,' उनले भने, 'जे पनि गर्ने बहादुर, अनि नियममा चल्नुपर्छ भन्ने कमजोर हुँदैन। सरकारले यस्ता प्रवृत्ति नियन्त्रण गरोस् भनेर सुझाव दिएका छौं।'
पोखरामा देखिएको गतिविधि प्रहरी प्रशासनले नियन्त्रण गर्न नसकेको भन्दै उनले प्रधानमन्त्री विरूद्ध रंगशालामा नाराबाजी गर्ने काम पनि गलत भएको बताए।
'पोखरामा जस्तोसुकै अराजकता हुँदा पनि प्रहरीले कारबाही गरेको देखिँदैन। गर्न नहुने काम सडकमा भएका छन्,' उनले भने, 'पोखरामा होस् कि काठमाडौं रंगशालामा प्रधानमन्त्री विरूद्ध नाराबाजी गर्ने गतिविधि, गर्न भएन।'
जुनसुकै राजनीतिक दल र समूहलाई पनि शान्तिपूर्ण विरोध गर्ने छुट भए पनि अराजक खालको गतिविधि छुट हुन नहुने उनले बताए।
संयन्त्रको अध्यक्षता गरेका नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले पनि राष्ट्रिय झण्डा बोकेर सडकमा गालीगलौज गर्ने काम गलत भएको बताए। कानुन अनुसार गल्ती गरेका व्यक्तिले दण्ड पाउने भन्दै कसैलाई अपमानित गर्न नहुने बताए।
'सरकारले कानुनी शासन लागू गर्नुपर्यो। अहिले सडकमा फुक्काफाल अराजकता छ,' उनले भने, 'रवि लामिछानेको कानुनी प्रक्रिया छिटो बनाउने उपाय छ भने सरकारले त्यसै गर्नुपर्छ तर सडकमा अराजकता मच्चाउन दिनुहुँदैन।'
उनले विधि र कानुनको पालना सबैले गर्नुपर्नेमा जोड दिए।
दुवै नेताले संयन्त्रमार्फत सरकारलाई सुझाव दिने निर्णय पनि गरेका छन्। सरकारलाई दिगो बनाउन, गल्ती भएका बेला सुझाव दिन र राम्रा कामको प्रचारप्रसार गर्न संयन्त्र गठन गरेको एमाले अध्यक्ष शर्माले बताए।
कांग्रेस सभापति शर्माले भने जनताको चाहना अनुसार परिणाम दिने काम सरकारले गर्न नसकेको बताए। विशेष परिस्थितिका कारण कांग्रेस र एमालेको सरकार बनेको भन्दै उनले जनताको जीवनमा सुधार आउने काम गर्न सुझाव दिने, सरकारलाई सचेत र सावधान बनाउने काम संयन्त्रले गर्ने उनले बताए।
'सरकारले गरेका यी काम राम्रा छन्, यी छैनन् भनेर हामी मूल्यांकन गरेर सुझाव दिन्छौं,' उनले भने।
कांग्रेस गण्डकीको कार्यालयमा सभापति शुक्रराज शर्माको अध्यक्षतामा संयन्त्रको पहिलो बैठक मंगलबार बसेको थियो। बैठकले संयन्त्रको अर्को बैठक एमाले गण्डकी प्रदेश कार्यालयमा प्रदेश अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बस्ने निर्णय गरेको छ।
संयन्त्रमा कांग्रेसका तर्फबाट सभापति शर्मा, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पार्टीका महामन्त्री विष्णुप्रसाद लामिछाने छन्। एमालेका तर्फबाट प्रदेश इन्चार्ज किरण गुरूङ, प्रदेश संसदीय दलका नेता खगराज अधिकारी र प्रदेश नवराज शर्मा छन्।
संयन्त्र गठन गर्न बसेको बैठकले संयन्त्रको नेतृत्व र व्यवस्थापन आलोपालो गर्ने निर्णय गरेका छन्। उनीहरूले जिल्ला जिल्लामा पनि दुईदलीय संयन्त्र गठन गर्न निर्देशन दिएका छन्। कांग्रेस र एमालेबीच स्थानीय तहमा देखिएका विवाद सम्बन्धित निकायका दुई दल बसेर सहकार्यलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन्।