हिरासतमा रहेका सभापति रवि लामिछाने भेटेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनका लागि अपिल गरेको छ।
मंगलबार अपिल जारी गर्दै रास्वपाले सभापति लामिछानेलाई अन्यायको चक्रव्यूहमा फसाइएको आरोप लगाएको छ।
रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी) र स्वर्णिम वाग्लेले सोमबार कास्की हिरासतमा पुगेर सभापति लामिछानेलाई भेटेका थिए। साथै रास्वपाले मंगलबार बिहान भर्चुअल रूपमा केन्द्रीय समिति बैठक गरेका थिए।
‘आज यस घडीमा नेपाल, न्याय र लोकतन्त्र माथि विश्वास राख्ने हामी सबैले आक्रोशका साथ भन्नैपर्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्यायको चक्रव्यूहमा फसाइएको छ। यो त्यस्तो बिन्दु हो कि यहाँ राज्यको डरलाग्दो, निकृष्ट प्रतिशोध छ भनेर सायद अब कसैलाई पनि बुझाइराख्नु पर्दैन,’ रास्वपाको दाबी छ।
सत्ता सञ्चालकले प्रतिशोधको ज्वाला दन्काएको रास्वपाको भनाइ छ।
सामान्य जागिर खाएर सुखको जीवन निर्वाह गर्न सक्ने अवस्था नरहेको भन्दै जन्मेदेखि मर्दासम्म नागरिकलाई पाइला पाइलामा सास्ती भएको रास्वपाले बताएको छ।
गत कात्तिक २ गते पक्राउ परेको रवि लामिछानेमाथि कास्की प्रहरीले चौथो पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ। पछिल्लो पटक थपिएको म्याद मंसिर ९ गते सकिँदैछ।
मंगलबार सभापति लामिछानेलाई अनुसन्धानका लागि रूपन्देही पनि लगिएको छ। त्यहाँ रहेको सुप्रिम सहकारीबाट लामिछानेको खातामा पैसा आएको देखिएकाले अनुसन्धानका लागि रूपन्देही लगिएको हो।
सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेका थिए।