प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनको उपलब्धी सार्वजनिक गरेका छन्।
बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै सरकारको सय दिनको उपलब्धी सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्रीले सरकार बनेकै दिनदेखि विरोध सुरू भएको बताएका छन्।
‘म यहाँ एउटा तथ्य उल्लेख गर्न चाहन्छु– सरकारले १०० दिन पूरा गरेपछि होइन, सरकार बनेकै दिनदेखि विरोध सुरू गरियो। यसको कारण थियो– देशमा साम्प्रदायिक विद्वेष खडा गर्ने, अराजनीतिक बोली र व्यवहारबाट हाम्रो सभ्यता र संस्कृतिमाथि हमला गर्ने, चलिरहेका उद्योगहरू बन्द गराउने, पुँजी पलायन गराउँदै देशको अर्थतन्त्र र वाणिज्य क्षेत्रलाई तहसनहस पार्ने र नयाँ उद्योग स्थापना हुन नदिने,’ उनले भने।
अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर हाम्रो राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको पनि उनले बताए।
तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको उनले बताए।
‘सरकारले लोकतन्त्रलाई सुदृढ गर्न बनेको संविधानको रक्षा गर्नेछ। साम्प्रदायिक विद्वेष र घृणा होइन, सामाजिक न्याय र समानतामा आधारित सामाजिक सद्भावको बाटोबाट राष्ट्रिय एकता कायम गर्ने हाम्रो नीति दृढताका साथ कार्यान्वयन गर्ने छ। हाम्रा सुन्दर, शिष्ट र समृद्ध सामाजिक–सांस्कृतिक मूल्यहरूलाई कमजोर पार्ने प्रयत्नलाई असफल बनाउने छ,’ उनले भने।
सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको उनले बताए।
यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला भएको उनले बताए।
‘कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छ। हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ। अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्छ। कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाहरुले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन्,’ उनले भने।
पूर्णपाठ