नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरू पार्टीलाई सिध्याउने गरी दल विभाजन अध्यादेश ल्याए त्यो मान्य नहुने बताएका छन्।
उनले दल विभाजन गर्ने अध्यादेश नल्याउन सरकारलाई चेतावनी पनि दिए।
कपिलवस्तुमा सोमबार भएको लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देश विकासका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
‘देशलाई विकास कसरी गर्ने त्यसमा छलफल गर्नुस्, हामी पनि छलफल गर्न तयार छौं तर अरू पार्टी सिध्याउने अध्यादेश मान्य हुँदैन,’ अध्यक्ष नेपालले भने।
अरूलाई सिध्याउँछु भन्नेहरू आफैं समाप्त भएर जाने पनि उनको भनाइ थियो।
आफूमा ओली वा अरू कोहीप्रति पनि बदलाको भावना नरहेको नेपालको भनाइ छ।
‘कतिपयले एकीकृत समाजवादी एमालेमा बिलिन हुने वा माओवादीमा मिसिन लागेको भनेर भ्रम फैलाएका छन्, हामी कसैसँग पनि बिलिन हुँदैनौं,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिन एकीकृत समाजवादी सक्षम छ।’
सरकारले केन्द्रीय सदस्य वा सांसदमध्ये २० प्रतिशत भए नयाँ दल गठन गर्न सक्ने गरी अध्यादेश ल्याउने चर्चा भइरहेको छ।
यो पनि: केन्द्रीय सदस्य वा सांसदमध्ये २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी अध्यादेशको मस्यौदा तयार