राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सभापति रवि लामिछाने सहकारीसम्बन्धी छानबिनलाई सहयोग गर्न तयार नै रहेको बताएका छन्।
यो कुरा सभापति लामिछानेले पनि सार्वजनिक रूपमा अभिव्यक्ति दिइसकेको उनले बताए।
नयाँ बानेश्वरमा शुक्रबार प्रतिपक्षी दलहरूको छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले विधि र प्रक्रियाअनुसार हुने छानबिनमा सभापति लामिछानेले सहयोग गर्न तयार नै रहेको बताएका हुन्।
‘उहाँले पनि पूर्वाग्रहचाहिँ स्वीकार गर्दिनँ तर विधिवत हिसाबमा सहयोग गर्न तयार छु भनेर अभिव्यक्ति नै दिनुभएको छ,’ उनले भने, ‘कतिखेर समात्दा ठिक हुन्छ भनेर उहाँहरू बाजे देखाउन गएको जस्तो लाग्छ मलाई। ग्रहदशा हेर्ने पनि उहाँहरूको बानी छ।’
विधिवत हिसाबको छानबिनका लागि पहिले र अहिले पनि आफूहरू तयार रहेको उनले बताए।
सहकारी संस्थाको बचत अपचलनमा रास्वपाका सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेको थियो।
भिडिओ: