राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले अप्ठ्यारो घडीमा पार्टी एकजुट छ भन्ने सन्देश दिन भ्रमण छोट्याएर फर्किएको बताएका छन्।
चीन भ्रमणमा गएका रास्वपाका १४ सांसद, नेता बिहीबार स्वदेश फर्किएका हुन्। उनीहरू १० दिनका लागि चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा चीन भ्रमणमा गएका थिए। गोर्खा मिडियाका तत्कालीन सञ्चालक छबिलाल जोशी पक्राउ परेपछि तरंगित हुँदै रास्वपाले चीन भ्रमणमा रहेका सांसद नेतालाई यथाशक्य छिटो स्वदेश आउन भनेको थियो।
‘घटनाक्रमहरू आएपछि हामी अवगत नै थियौं। हामी १४ जना नै बसेर सामूहिक परामर्श गर्यौं अप्ठ्यारो घडीमा, पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन, त्यो संस्था हो। त्यो माथि प्रहार भइरहेको छ भने इगोका कारणले प्रहार भइरहेको छ भने हामी एकजुट भएर सामना गर्नुपर्छ। अहिले अप्ठ्यारो घडीमा हामी नेपाल नै हुनुपर्छ एकदमै एक मतका साथ निर्णय गर्यौं। हामीले भोलिपल्टै फर्कने तयारी गर्यौं। अहिले टिकटको चाप पनि र यता पनि सोचेजस्तो घटनाक्रम नभएकाले अलिकति हलुका हुने मौका मिल्यो,’ उनले भने।
भ्रमणका तीनवटामध्ये दुईवटा कार्यसूची पूरा गरेर फर्किएको उपसभापति वाग्लेले बताए।
‘अन्तिमको राजनीति भेटघाट चाहिँ पछि गर्ने कुरा भएको छ। हामीले भ्रमण छोटयाएका हौं, रद्द नै चाहिँ गरेका होइनौं। उहाँहरूले त्यत्रो महत्त्वसहित आतित्थ्यता दिइराख्नुभएको थियो। हामीलाई असहज त पक्कै थियो। यो अप्ठ्यारो घडीमा पार्टी एकढिक्का छ, हामी सभापतिका साथमा छौं भन्ने सन्देश दिनुपर्ने थियौं। यो दुवैलाई हामीले सन्तुलनमा राख्यौं,’ उनले भने।
सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिले रास्वपा सभापति रवि लामिछानेलाई पनि कारबाहीको सिफारिस गरेको छ। उनी गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक छँदा सहकारीबाट आएको पैसा दुरुपयोगमा जिम्मेवार देखिएको भन्दै कारबाही सिफारिस गरिएको हो।