राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका छन्।
उपसभापति स्वर्णिम वाग्ले, सांसदहरू मनिष झा, शिशिर खनाल, तोसिमा कार्की तथा नेताहरू गरी १४ जना चीन भ्रमणका लागि गएका थिए।
उनीहरूलाई पार्टीले गत आइतबार तत्काल स्वदेश फर्कन निर्देशन दिएको थियो।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक रहेका पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेपछि पार्टी सभापति रवि लामिछाने पनि समातिने आशंका थियो।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि पनि संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस गरेको छ। जोशी पक्राउ परेपछि लामिछानेलाई पनि पक्राउ गर्न लागेको भन्दै रास्वपा नेता, कार्यकर्ता गत आइतबार पार्टी कार्यालय भेला भएका थिए।
रास्वपाले सभापति पक्राउ परे प्रतिवाद गर्ने निर्णय गरेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा गत शनिबार राति रास्वपा उपसभापति वाग्लेसहित सांसद खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता झा, सांसद गणेश पराजुली, कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए।
चिनियाँ तर्फबाट औपचारिक रूपले आएको पहिलो निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना नेता गएका थिए। भ्रमण तालिका १० दिनको थियो। यस क्रममा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम थियो।
तीमध्ये अधिकांश कार्यक्रममा सहभागी जनाइएको रास्वपा नेताहरूले बताएका छन्।