राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चीन भ्रमणमा रहेका उपसभापति स्वर्णिम वाग्लेसहितका सांसद तथा नेता सोमबार फर्कंदैछन्।
पार्टी सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई फिर्ता बोलाएको थियो।
त्यहीअनुसार चीन भ्रमणमा रहेका सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ फर्कन लागेका हुन्।
चिनियाँ तर्फबाट औपचारिक रूपले आएको पहिलो निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना नेता गएका हुन्। भ्रमण तालिका १० दिनको थियो। यस क्रममा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम थियो।
सहकारी बचत अपचलन, दुरुपयोग, ठगी सम्बन्धनमा छानबिन गर्न गठित संसदीय समितिले रास्वपा सभापति रवि लामिछानलेलाई पनि कारबाही गर्न सिफारिस गरेको छ। उनीसँगै कारबाही सिफारिस भएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार दिउँसो पक्राउ परेका थिए।
त्यसपछि तरंगित बनेको रास्वपाले आइतबार नै उपत्यकाका कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय चःमति बोलाएको थियो।
भेला भएका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले आफूलाई निरन्तर खेद्ने र लखेट्ने कोसिस भइरहेको बताएका थिए।
पार्टी पदाधिकारीहरूसँग छलफलपछि राति १० बजेतिर नेता–कार्यकर्तालाई सम्बोधन गर्न थालेका सभापति लामिछानेले सहकारी ठगी प्रकरणमा आफू संलग्न नरहेको भनी छानबिन समितिले प्रतिवेदन दिए पनि सरकारले ’ट्रायल’ गर्न खोजेको आरोप लगाए।
‘मैले बुझेअनुसार अहिलेसम्म मेरो नाममा पक्राउ पुर्जी जारी भएको छैन, तर ढुक्क हुने स्थिति छैन,’ उनले भने, ’सरकार ट्रायल गर्न खोजिरहेको छ। अनुसन्धानको कुन कसीमा उभिनुपर्छ, कहाँ सघाउनुपर्छ म तयार छु, तर एउटा मानिसलाई जसरी निरन्तर लखेट्ने र खेद्ने काम भइरहेको छ, त्यसको प्रतिवाद हुन्छ।’
‘वर्षौंदेखि राजनीति गरिरहेका दलहरू एउटा मानिसदेखि डराएको सुहाएन। डराएर धरपकड गर्ने कोसिस गरेको सुहाएन। यसले सरकार अधिनायकवादतिर जाँदैछ कि भन्ने संकेत देखिएको छ। हामी तयार भएर बसेका छौं। म हिजो पनि अन्यायको सिकार भएको हुँ। आज पनि निरन्तर घेरबन्दीमा छु। मैले केही बिराएको पनि छैन, म डराएको पनि छैन,’ उनले भने।
उनले अगाडि भने, ‘केही वर्षअघि मलाई मध्यरात बुट बजारेर पक्राउ गरिएको थियो। त्यति बेलादेखि मलाई अन्यायमा पारिएको छ। राज्यसत्ता दुरूपयोग गरेर एउटा मानिसलाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको छ। तर सरकारले के बिर्सेको छ भने रास्वपा अब एउटा व्यक्तिको रहेन, मेरो रहेन; यो अभियान भइसकेको छ।’
यसबीच चीन भ्रमणमा रहेका रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापतिमाथि षड्यन्त्र हुने लक्षण देखिएकाले आकस्मिक रूपमा फर्किन लागेको बताएका छन्।
‘नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखियो, त्यसैले तत्काल फर्किन लागेका छौं,’ भ्रमण टोलीको नेतृत्व गरेका उपसभापति वाग्लेलाई उद्धृत गर्दै रास्वपा सचिवालयले भनेको छ।