चितवनका एक सुन व्यापारीले बीमाबाट पैसा लिन करोडौं मूल्यको सुन, चाँदी चोरी भएको हल्ला फैलाएको खुलेको छ।
असार १ गते कालिका नगरपालिका–६ खोलेसिमलमा रहेको विनोद सुनचाँदी पसलमा केही व्यक्तिले लुटपाट गरेको खबर फैलिएको थियो। दुई जना व्यक्तिले हतियार देखाएर धम्काउँदै दुई करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुन, चाँदी र हिराका गरगहना लुटेर लगेको सूचनाको आधारमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
राति सवा ८ बजेतिर नचिनेका व्यक्तिहरूले पसलका व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई खुकुरी, चक्कु घाँटीमा राखी डर देखाएर गरगहना लुटेको जानकारी सञ्चालक विनोद सुनारले प्रहरीलाई दिएका थिए।
उक्त घटनामा अनुसन्धान गर्दै जाँदा सञ्चालक सुनारले नै योजनाबद्ध रूपमा चोरी भएको हल्ला फैलाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालले बताए।
‘अनुसन्धानबाट सुनारले झुटा चोरी तथा लुटपाट गर्ने योजना बनाएर बीमाको रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकम चोरी भएको देखाई जालसाजी गरी फाइदा लिन खोजेको देखियो,’ एसपी रिमालले भने, ‘घटनाको केही महिनाअघि मात्रै उनले पसलको बीमा गराएका रहेछन्। बीमाको पैसा लिने मनसायले नाटक गरिएको रहेछ।’
जिल्ला प्रहरीका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार सञ्चालक सुनारले लुटपाटको लागि पूर्णबहादुर विश्वकर्मा नामका व्यक्तिलाई जिम्मा दिएका थिए। जिम्मेवारीअनुसार तनहुँ घर भएका ५० वर्षीय विश्वकर्मा बाराका १८ वर्षीय पवनकुमार पासवानलाई असार १ गते राति सवा ८ बजेतिर मोटरसाइकलमा विनोद सुनचाँदी पसल पुगेका थिए। त्यतिखेर पसलका व्यवस्थापक विजय विश्वकर्मा पसलमै थिए। उनले सञ्चालक विनोदको योजनामा साथ दिँदै चोरी गर्न आएका दुई जनालाई सघाएको अनुसन्धानको क्रममा भेटिएको डिएसपी रिजालले बताए।
विश्वकर्मा र पासवानले पसलबाट चोरी गरेका गरगहना सञ्चालककै योजनाअनुसार अन्जना पुडासैनी केसीको घरमा पुर्याएका थिए। त्यसपछि प्रहरीले घटनाबारे सूचना पाएको थियो।
सूचना पाएलगत्तै प्रहरीले अनुसन्धान सुरू गरेको थियो। घटनाको दुई दिनपछि विनोदले अन्जनाको घरमा राखिएका गहनाहरू फिर्ता लगेर लुकाएको भेटिएको डिएसपी रिजालले बताए।
आफ्नो मिल्ने साथी भएकाले विनोदले केही दिन गरगहना लुकाउन सहयोग मागेका थिए। प्रहरीले उनलाई मतियारको रूपमा सहयोग गरेको भनेर पक्राउ गरेको छ।
प्रहरीले सञ्चालक विनोद सुनार, अन्जना र पसलका व्यवस्थापक विजय विश्वकर्मालाई सोमबार पक्राउ गरेको थियो।
मंगलबार पूर्णबहादुर विश्वकर्मा र पवनकुमार पासवानलाई पक्राउ गरेको डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।
उनीहरूको साथबाट छुट्टाछुट्टै ठाउँबाट एक किलो ७३४ ग्राम र ४४ तोला सुन जस्तो देखिने गरगहनाहरू बरामद गरेको जनाइएको छ।
प्रहरीका अनुसार सञ्चालकले सिद्धार्थ इन्स्योरेन्सबाट दुई करोड २० लाख रुपैयाँ बराबरको बीमा गरेका थिए। उनले पसलमा लुटपाट भएको भन्दै बीमा रकम दाबी पनि गरेका थिए।
एसपी रिमालकाअनुसार सञ्चालक विनोद सुनारले दुई जनालाई ५० हजार रुपैयाँ दिएर चोरी काम गर्न लगाएका थिए।
‘पछि थप पैसा दिने भनेर काम लगाएको देखियो,’ उनले भने।
हरेक महिनाको एक गते खोलेसिमल बजारका सबै पसलहरू बन्द हुन्छन्। असार १ गते विनोद सुनचाँदी पसल खुलेको थियो।
‘बन्द हुने दिनमा खुलेको, राति अबेरसम्म खुलेको, सानो बजारमा ठूलो चोरी भएको भनिएको लगायतका कुराबाटै हामीले केही नयाँ कुरा छ भन्ने अनुमान लगाएका थियौं। सिसिटिभी क्यामेराको फुटेजबाट थप संकेतहरू पायौं,’ एसपी रिमालले भने, ‘अनुसन्धान गर्दै जाँदा सञ्चालककै योजनामा सबै काम भएको पुष्टि भयो।’
घटनाको अनुसन्धान गर्न प्रहरीले राष्ट्रिय अनुसन्धान ब्युरो सिआइबीको समेत सहयोग लिएको थियो। अनुसनधानका लागि चितवन प्रहरी र सिआइबीले ‘धनानन्द’ अपरेसन चलाएको थियो।
पक्राउ परेकाहरूलाई लुटपाट र चोरीको मुद्दामा अनुसन्धान गर्न चितवन जिल्लाबाट ६ दिनको म्याद लिइएको छ। थप अनुसन्धान गर्दै जाँदा अन्य कानुन पनि आकर्षित हुनसक्ने एसपी रिमालले बताए।