अमेरिकी सरकारसँग सम्झौता गरेपछि विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायती जेलबाट मंगलबार छुटेका छन्।
लगभग एक करोड गोप्य अमेरिकी कागजातहरू विकिलिक्समार्फत प्रकाशित गरेका असान्जविरूद्ध विभिन्न १८ कसुरमा अमेरिकाले मुद्दा चलाएको थियो।
ती अभियोगमा उनलाई १७५ वर्षसम्मको कैद सजाय हुन सक्थ्यो।
तर ५२ वर्षीय अस्ट्रेलियन नागरिक असान्जले गैरकानुनी तरिकाले राष्ट्रिय सुरक्षा सामग्री हात पारी प्रकाशित गरेर एउटा फौजदारी अपराध गरेको स्वीकार गर्ने भनेर अमेरिकी अभियोजनकर्तासँग सहमति गरेपछि उनी बेल्मार्स जेलबाट छुटेका हुन्।
असान्जलाई सुपुर्दगी गर्न अमेरिकाले बेलायतलाई लामो समयदेखि दबाब दिइरहेको थियो। तर मुद्दा लगाइएका विपक्षीलाई दिनुपर्ने सबै अधिकार अमेरिकाले आफूलाई प्रत्याभूति नगरेको भन्दै उनले सुपुर्दगी रोक्न बेलायती अदालतमा मुद्दा हालेका थिए।
असान्जले अमेरिकी सरकारसँग सम्झौता गरेपछि उनलाई मंगलबार छोडिएको हो। सम्झौता गरे पनि उनले अमेरिका जान अस्वीकार गरेका छन्।
अस्ट्रेलियाबाट लगभग दुई हजार माइल उत्तरमा रहेको पश्चिमी प्रशान्त महासागरको अमेरिकी भूमि नर्दन म्यारियाना आइल्यान्ड्सको राजधानी साइपानमा रहेको अमेरिकी अदालतमा उनलाई बुधबार पेस गरिने छ। सम्झौता अनुसार बेलायती जेलमा पाँच वर्षभन्दा बढी (विकिलिक्सका अनुसार १९०१ दिन) बिताएका असान्जलाई उक्त अदालतले पाँच वर्ष हाराहारी जेल सजाय सुनाउने छ। उनले बेलायती जेलमा बिताएको समय समेत गनेर उनलाई रिहा गरिने छ।
यसरी १३ वर्षभन्दा बढी समयदेखि अमेरिकी सरकारबाट लुकेर बसेका असान्जले स्वतन्त्र जीवन जिउन पाउने छन्।
असान्जले सन् २००६ मा स्थापना गरेको विकिलिक्स संस्थाले अमेरिकी सैनिक ब्र्याडली एडवर्ड म्यानिङबाट (ब्र्याडली लिंग परिवर्तन गरेर अहिले चेल्सी भएकी छिन्) प्राप्त एक भिडिओ सन् २०१० मा प्रसारित गरेर चर्चा बटुल्यो।
सन् २००७ मा बगदादमा समाचार संस्था रोयटर्सका दुई पत्रकारसहित करिब एक दर्जनलाई अमेरिकी सेनाको हेलिकप्टरबाट गोली हानेर मारिएको थियो। विकिलिक्सले म्यानिङबाट प्राप्त लाखौं गोप्य दस्तावेज प्रकाशन गर्यो। ती दस्तावेजहरू मुख्यतः अफगानिस्तान र इराकमा अमेरिकाले युद्ध क्रममा गरेका गल्ती, अमेरिकाले ग्वान्टानामोमा आतंककारी भनेर अमानवीय तरिकाले थुनेर राखेका बन्दी र विश्वभरिका अमेरिकी दूतावासले पठाएका कूटनीतिक सन्देशबारे थिए। नेपालमा रहेको अमेरिकी दूतावासले अमेरिकी सरकारलाई पठाएका सन्देशहरू पनि प्रकाशित भएको थियो।
विकिलिक्सलाई गोप्य दस्तावेज उपलब्ध गराएको आरोपमा अमेरिकी सरकारले म्यानिङलाई गिरफ्तार गर्यो। त्यस्ता संवेदनशील र गोप्य दस्तावेज प्रकाशित गरेका कारण विकिलिक्समाथि अमेरिकाले छानबिन सुरू गर्यो। असान्जलाई पनि अमेरिकी सरकारले तारो बनायो।
सन् २०१० मै स्वीडेनमा उनीविरूद्ध बलात्कारको मुद्दा पर्यो। तर उनी मुद्दाको सामना गर्न स्वीडेन गएनन् र बेलायतमै बसे। उनलाई स्वीडेनले अमेरिकालाई बुझाउने भन्दै उनले बेलायतबाट स्वीडेन सुपुर्दगी रोक्न बेलायतमा मुद्दा हाले। त्यो मुद्दा चल्दा जमानतमा छुटेका असान्जले मुद्दा हारेपछि सन् २०१२ जुनमा लन्डनमा रहेको इक्वेडरको दूतावासमा राजनीतिक शरण लिए।
असान्जले दूतावासमा शरण लिएर बसे पनि विकिलिक्सले गोप्य सामग्रीहरू प्रकाशन गर्न छाडेन। सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि डेमोक्र्याटिक पार्टीको राष्ट्रिय कमिटी र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनका चुनावी अभियानका म्यानेजरका इमेल रूसी जासुसहरूले ह्याक गरी प्राप्त दस्तावेजहरू प्रकाशित गर्यो। त्यसले रूसको चाहना अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनाव जित्न सहयोग गरेको मानिन्छ।
त्यसपछि पनि अमेरिकाको जासुसी संस्था सिआइएसँग सम्बन्धित गोप्य सामग्री प्रकाशन गर्यो।
असान्जले दूतावासमा शरण लिएर बसेकाले मुद्दा अघि बढाउन नमिलेको भन्दै स्वीडेनले सन् २०१७ मेमा उनीविरूद्धको बलात्कार मुद्दा रोक्यो। २०१९ अप्रिलमा इक्वेडरले राजनीतिक शरण दिने निर्णय फिर्ता गरेपछि दूतावासको निमन्त्रणामा बेलायती प्रहरीले उनलाई दूतावासबाटै पक्रियो। इक्वेडरले उनलाई दूतावासमा बसेर अरू देशलाई हानि हुने काम गरेको, इक्वेडरको अरू देशसँगको सम्बन्धमा हस्तक्षेप गरेको लगायत आरोप लगाएको थियो।
त्यस्तै बाथरूम राम्ररी सफा नगरेको, दूतावासको भित्तामा दिसा फ्याँकेको, आफ्नो बिरालोको राम्रो हेरचाह नगरेको लगायत साधारण आरोप पनि उनीमाथि लगायो। साथै उनलाई दूतावासभित्र उपचार गर्न नमिल्ने रोग लागेको पनि इक्वेडरले बतायो।
उनलाई दूतावासबाट पक्राउ गरेपछि स्वीडेनले उनीविरूद्धको बलात्कार मुद्दा ब्युँत्यायो। सन् २०१९ नोभेम्बरमा भने सो घटना भएको लामो समय भएर प्रमाणहरू कमजोर भएको भन्दै मुद्दाको छानबिन रोक्यो।
त्यसपछि बेलायती जेलमा रहेका असान्जलाई रिहा गर्न मानव अधिकारवादी र प्रेस स्वतन्त्रतावादीहरूले माग गरे। अमेरिकाले उनलाई सुपुर्दगी गर्न बेलायतलाई दबाब दिइराख्यो।
दस्तावेजहरू सार्वजनिक गर्न विकिलिक्ससँग साझेदारी गरेका अमेरिकी अखबार द न्यूयोर्क टाइम्स, बेलायतको द गार्डियन, फ्रान्सको लु मोन्ड, जर्मनीको डेयर स्पिगल र स्पेनको एल पाइसले अमेरिकी सरकारलाई खुलापत्र लेख्दै असान्जविरूद्धको मुद्दा फिर्ता लिन आग्रह गरेका थिए। असान्जलाई अमेरिकाको जासुसी कानुन अनुसार मुद्दा चलाउँदा त्यसले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कमजोर बनाउने उनीहरूको जिकिर थियो।
पछिल्लो समयमा अमेरिकाको नजिकको साझेदार अस्ट्रेलियाको सरकारले पनि आफ्ना नागरिक असान्जलाई रिहा गराउन अमेरिकी सरकारलाई आग्रह गरिरहेको थियो।
असान्जलाई रिहा गरेपछि विश्वभरि नै प्रेस स्वतन्त्रताका पक्षधरहरूले खुसी मनाएका छन्।
उनलाई साँच्चै पत्रकारिताका नायक मान्न त्यति सजिलो भने छैन।
अरूले नछाप्ने गोप्य सामग्री हामी छाप्छौं भन्दै त्यस्ता सामग्री आफूलाई पठाउनू भनेर विकिलिक्स संस्था सुरू भएको थियो।
विकिलिक्सले छापेका जस्ता गोप्य र अमेरिकी राष्ट्रिय सुरक्षासँग सम्बन्धित सामग्रीहरू विश्वकै सबभन्दा विश्वासिला मिडियाले छापेर ठूला-ठूला खुलासाहरू गरेका छन्। अझै पनि गरिरहेका छन् र भविष्यमा पनि गर्नेछन्। त्यस अर्थमा विकिलिक्सले मिडियाको काम गरेको मान्नुपर्ने हुन्छ।
तर विकिलिक्स र असान्जले गरेका केही काम अनि उनीविरूद्ध चलेका मुद्दाले पत्रकारिताबारे गम्भीर प्रश्न उठाएका छन्।
उदाहरणका लागि, विकिलिक्सले धेरै अमेरिकी गल्तीहरू उजागर गरेको छ। अमेरिकाको विपरीत खेमामा रहेका रूस वा चीनका गल्ती उजागर गर्ने सामग्री भने प्रकाशित गरेको छैन। विकिलिक्सले नियतवश त्यस्तो एउटा कित्ताको गल्ती मात्रै उजागर गरेको भन्ने ठाउँ छैन। संसारका शक्ति राष्ट्रका दुई ध्रुवमध्ये एउटालाई मात्रै घाटा हुने खालका सामग्री लगातार प्रकाशन गर्दा शंका उब्जिन्छन् नै।
अर्कोतर्फ, पत्रकार वा विकिलिक्स जस्तो संस्थाले नियतवश एउटा पक्षको विरोधको मात्रै सामग्री खोज्न मिल्दैन। तर एउटा पक्षको गल्तीको मात्रै खुलासा हुने भयो भनेर नछापी बस्न पनि मिल्दैन। कुनै पनि पक्षले गल्ती गरेको पुष्टि हुने प्रमाण फेला परेपछि छाप्ने उसको धर्म हो।
कतिपयले विकिलिक्स र असान्जले अमेरिकालाई मात्र खेदे, रूसबारे केही नराम्रो खुलासा गरेनन् भन्छन्।
यसलाई अर्को तरिकाले पनि हेर्न सकिन्छ।
रूस र चीनजस्ता देशमा तानाशाही व्यवस्था छ। उनीहरूले मानव अधिकार लगायत विषयलाई उति महत्त्व दिँदैनन् भनेर सबैलाई थाहा छ। अर्कातिर अमेरिकाले प्रजातन्त्र र मानव अधिकारको दुहाई दिन्छ र अरूलाई यसबारे पाठ पढाउँछ। गल्ती जसले गरे पनि, बराबर हुने भए पनि, अमेरिकी सरकारले गल्ती गर्यो भने त्यसले गल्ती मात्रै नभएर झन् पाखण्ड पनि देखाउँछ। त्यस अर्थमा अमेरिकी गल्तीबारेको खुलासाको महत्त्व झन् धेरै हुन्छ।
तर पत्रकारले आफ्नो हातमा प्रमाण आउनेबित्तिकै नछापेर त्यसले पार्ने असरबारे पनि विचार गर्नुपर्छ। त्यो छाप्दा जनता-देश र अन्तर्राष्ट्रिय मिडिया अनि विकिलिक्स जस्तो संस्थाका हकमा विश्वलाई धेरै फाइदा हुन्छ कि घाटा भन्नेबारे गहिरो सोच-विचार गरेर मात्रै सम्पादकले निर्णय लिनुपर्छ। कसैले आफ्नो निहित स्वार्थका लागि प्रमाण उपलब्ध गराएको पो हो कि भनेर विचार गर्नुपर्छ। कहिलेकाहीँ त्यसरी निहित स्वार्थका लागि प्रमाण उपलब्ध गराएको भन्ने थाहा नै भए पनि त्यो छाप्दा देश र जनताका लागि फाइदा पुग्छ भने छाप्नुपर्ने हुन्छ।
विकिलिक्सले यस्तो कुरामा त्यति विचार नपुर्याएको देखिन्छ। विश्वभरिका अमेरिकी दूतावासले पठाएका कूटनीतिक सन्देशबारेको दस्तावेज सबै हुबहु छाप्दा समाचारको महत्त्व खासै नहुने तर संवेदनशील व्यक्तिगत सूचना सार्वजनिक हुने भनेर विकिलिक्सका साझेदार द न्यूयोर्क टाइम्स, द गार्डियन, लु मोन्ड, डेयर स्पिगल र एल पाइसले संशोधित अंश मात्रै छापेका थिए। विकिलिक्सले त्यसबारे नसोची सबै छापिदियो।
त्यस्तै राम्रा पत्रकारले गैरकानुनी माध्यमबाट सूचना प्राप्त गर्दैनन्। तर असान्जले म्यानिङलाई अमेरिकी रक्षा मन्त्रालयको नेटवर्क ह्याक गर्न सिकाएको भनेर अमेरिकाले आरोप लगाएको छ। उनी पत्रकार नभएर ह्याकर भएको दाबी गरेको छ। अमेरिकाले मुद्दा चलाउँदा पनि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा आँच नआओस् भन्ने ख्याल गर्दै गोप्य दस्तावेज प्रकाशन गरेको अभियोग नलगाएर गैरकानुनी तरिकाले सूचना प्राप्त गरेको अभियोग लगाएको दाबी उसको छ।
विकिलिक्सले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि डेमोक्र्याटिक पार्टीको राष्ट्रिय कमिटी र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनका चुनावी अभियानका म्यानेजरको इमेल रूसी जासुसहरूकले ह्याक गरी प्राप्त दस्तावेजहरू प्रकाशित गर्यो। कुनै देशको जासुसले ह्याक गरेर दिएको दस्तावेज हो भन्ने थाहा पाएको स्वतन्त्र संस्थाले त्यो प्रकाशन गर्दैन। प्रकाशन गरिहाले पनि कोबाट प्राप्त भएको भनेर खुलाउनुपर्छ। विकिलिक्सले त्यसो नगरी प्रकाशन गर्यो।
विकिलिक्स र असान्जले गरेको काम पत्रकारिताका लागि जायज भए पनि, नभए पनि अमेरिकासँगको सम्झौतापछि उनी छुटेका छन्।
उनले गल्ती नै गरेको भए पनि त्यसका लागि उनले पाँच वर्षभन्दा बढी जेल सजाय बिताइसकेका छन्।
उनी जेलमुक्त हुँदा प्रेस स्वतन्त्रताका पक्षधरहरूले खुसी मनाए पनि विगतमा विकिलिक्ससँगै सम्झौता गरेको द गार्डियनले प्रेस स्वतन्त्रताका लागि घाटा भएको लेखेको छ।
असान्जले गैरकानुनी तरिकाले राष्ट्रिय सुरक्षा सामग्री हात पारी प्रकाशित गरेर फौजदारी अपराध गरेको स्वीकार गरेपछि अमेरिकाको जासुसी कानुनको तरबार अरू पत्रकारको टाउकोमाथि पनि लट्किने भनेर सचेत गराएको छ। असान्ज अस्ट्रेलियन नागरिक भएको औंल्याउँदै त्यस्तो खतरा अमेरिकी पत्रकारलाई मात्रै नभएर अरूलाई पनि रहेको भनेको छ।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)