नागरिक उन्मुक्ति पार्टी (नाउपा) की संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ धनगढी आइपुगेकी छन्।
नाउपाका दुई सांसदले आइतबार बेग्लाबेग्लै गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
पार्टीका सांसदहरू कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
कैलाशले संघीय सत्ता गठबन्धनको साथमा र लक्ष्मणकिशोरले नेपाली कांग्रेससहित गठबन्धन गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
कैलाश नाउपा संस्थापक अध्यक्ष श्रेष्ठनिकट र लक्ष्मणकिशोर नाउपा संरक्षक रेशम चौधरीनिकट मानिन्छन्।
पार्टीकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँलाई भेट्न अध्यक्ष चौधरी प्रदेश प्रमुख कार्यालय पुगेकी हुन्।
प्रदेश प्रमुख कार्यालय परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले संघीय गठबन्धनअनुसार नै प्रदेश सरकार बन्ने प्रतिक्रिया दिइन्।
‘नागरिक उन्मुक्ति पार्टी एउटै हो। अरू बाहिरबाट साथीहरू आएर नाउपा पार्टी हो भनेर मिलेर अरू कोहीसँग जानुहुन्छ भने त्यसको जबाफदेही हामी हुने छैनौं,’ उनले भनिन्, ‘संघीय गठबन्धनअनुसार नाउपा अघि बढ्छ। आज बिहान पनि प्रधानमन्त्रीज्यूसँग छलफल गरेर आएका छौं।’
यो पनि:
घनश्याम भूसालको प्रतिक्रिया- सुदूरपश्चिममा के-के भइरहेको छ हामीलाई थाहा छैन
सुदूरपश्चिम मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरीले पनि गरे दाबी पेस
प्रदेश प्रमुखलाई भेटेर सुदूरपश्चिम मुख्यमन्त्रीमा नाउपाका चौधरीले गरे दाबी पेस