२०६५ सालमा सुर्खेतको वीरेन्द्रनगरमा रहेको जन नमूना माविमा अध्ययनरत कालिकोटको साविक पाखा गाविसका १७ वर्षीय राजबहादुर मल्लको विवादका क्रममा मृत्यु भयो। त्यतिबेला स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर भएको विवादका क्रममा उनको मृत्यु भएको थियो।
मल्ललाई तत्कालीन माओवादीको जनमुक्ति सेनाको छैठौं डिभिजनमा कार्यरत लडाकू र माओवादी निकटको अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले हत्या गरेको जाहेरी पीडित परिवारले दियो। जाहेरीमा अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित माओवादी निकट कार्यकर्ताहरूलाई किटान गरिएको थियो।
मल्लको हत्या हुनुअघि माओवादीनिकट विद्यार्थी नेताहरूविरूद्ध उनले आवाज उठाएको देखिन्छ। त्यतिबेला क्रान्तिकारीका सिंहसहित ४५ जना माओवादी कार्यकर्ताहरूले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत क्याम्पसमा अध्ययनका लागि भर्ना भएको आरोप लागेको थियो। त्यो विषयमा मल्लले आवाज उठाएको देखिएको छ। त्यसपछि उनीहरूको भर्ना रद्द भएको थियो।
यस विषयमा विरोध गरेपछि २०६५ माघ ११ गते सुर्खेतको वीरेन्द्रनगर–३ तातापानीमा आफन्तको घरमा बसिरहेका मल्ललाई तत्कालीन क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य सिंहको तत्कालीन जनमुक्ति सेनाको गाडी र लडाकूहरूलाई ल्याएर घर घेरा हालेको राजबहादुरका बुवाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
‘सिंहको नेतृत्वमा तत्कालीन जनमुक्ति सेनाका लडाकूहरूले घर घेरा हालेपछि झ्यालबाट भागेर छोरो नेपालगञ्ज पुगेको थियो, केही समयपछि राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय र इन्सेकको सहजीकरणपछि छोरो सुर्खेत आएको थियो,’ बुवा नन्दबहादुर मल्लले दिएको जाहेरीमा भनिएको छ।
जाहेरीअनुसार नेपालगञ्जबाट सुर्खेत पुगेको केही समयपछि २०६५ फागुन २६ गते बेलुका ८ बजेतिर बसपार्कमा खाना खाएर आफ्नो कोठातर्फ जाँदै गरेका राजबहादुरमाथि आक्रमण भएको थियो। त्योबेला उनीमाथि खुकुरी प्रहार भएको थियो। घटनामा गम्भीर घाइते भएका राजबहादुरको उपचारका क्रममा वीरेन्द्रनगरकै देउती अस्पतालमा मृत्यु भएको थियो।
त्यसलगत्तै मृतक राजबहादुरका काका नवराज मल्लले सुरू जाहेरी दिएका थिए। सुरू जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतले राजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख थियो। मृतकका बुवा नन्दबहादुरले छोराको हत्यामा उल्लेखित पञ्चा सिंहसहित ६ जनाको नाम किटान गरी पूरक जाहेरी २०७९ साउन १३ गते दिए। त्यसमा नाम र यकिन ठेगाना नखुलेका दैलेखका दुई जनाको संलग्नता पनि रहेको उल्लेख छ।
पूरक जाहेरीमा कालिकोटको महावै गाउँपालिकाका प्रतिमा भन्ने पञ्चा सिंह (अखिल क्रान्तिकारी अध्यक्ष), टाइगर भनिने पदमबहादुर रावत, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाँडाचक्र नगरपालिकाका सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीको नाम किटान गरिएको छ।
राजबहादुरको हत्या भएको भन्दै प्रहरीमा परेको सुरू जाहेरीपछि प्रहरीले हालसम्म ३१ जनालाई उक्त घटनाको अनुसन्धानका लागि ‘अनुसन्धान अधिकारी’ तोकिसकेको छ। राजनीतिक दबाबका कारण अहिलेसम्म ती अधिकारीले अनुसन्धानलाई अन्तिम रूप दिन सकेका छैनन्।
यो घटनामा बल्ल प्रहरीको सक्रियता बढेको छ। सुर्खेत जिल्ला अदालतले जाहेरीमा नाम किटान गरिएका सिंहसहित ६ जनालाई नै पक्राउ गर्न अनुमति दिइसकेको छ।
‘प्रहरीले माघ ५ गते पक्राउ पुर्जी मागेको थियो, अदालतले सोही दिन अनुमति दिइसकेको छ,’ सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्ज्वल रावलले भने।
पक्राउ पुर्जी जारी भइसकेपछि आरोपितहरूको ठेगाना तलासीका लागि सम्बन्धित प्रहरी इकाईहरूलाई पत्राचार गरिसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
‘सुरू जाहेरी आउँदा राजनीतिक इस्यु हो कि भनेर अहिलेसम्म अनुसन्धान पूरा हुन सकेको थिएन, यो विषयमा किटानी जाहेरी नै आएपछि अब टुंग्याउनुपर्छ भनेर प्रहरी लागेको छ,’ जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले भने, ‘अब यो विषय छिट्टै टुंगिन्छ।’
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहलाई नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाउन खोजेको थियो।
त्यसका लागि माओवादीको नेतृत्व मुद्दाको प्रकृति बुझ्न जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगेको थियो। उनीविरूद्ध गम्भीर आरोप लागेको र मुद्दा नटुंगिएको पाएपछि उम्मेदवार बनाउनबाट पार्टी पछि हट्यो।