बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)को गोलकार भित्र हँसिया हतौडा चिन्हमा चुनाव लड्ने भएको छ।
निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एकल चुनाव चिन्हमा निर्वाचन लड्ने गरी दल दर्ता गराएका छन्। यो सँगै नेपालमा पहिलो पटक एकल चुनाव चिन्हमा निर्वाचन लड्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ। अहिलेसम्म कुनै पनि दलले यसरी संयुक्त निर्वाचन लडेका थिएनन्।
यसपटकको निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले जस्तै अन्य दलहरुले पनि संयुक्त चुनाव लड्दैछन्। तर ती दलहरु खासै नाम सुनिएका दलहरुले भने होइनन्। समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रवादी पनि संयुक्त रुपमा चुनाव लड्न निर्वाचन आयोगमा दर्ता भएका छन्। त्यस्तै समाजवादी एकता पार्टी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी र नेपाल दलित पार्टी पनि संयुक्तरुपमा एकल चुनाव चिन्हमा निर्वाचनमा जाँदैछन्।
'बाबुराम भट्टराई र कमरेड प्रचण्डको संयुक्त रूपमा अनुसूची १३ अनुसारको निवेदन हामीले आयोगमा दियौं', समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले सेतोपाटीसँग भने, 'वामदेव गौतमको हस्ताक्षर छैन।'
राजनीतिक दलसम्बन्धी ऐनको अनुसूची १३ मा एकल चुनाव चिन्ह लिएर निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने फारम छ। जसमा संयुक्त चुनाव लड्ने दलका नेता अथवा अधिकार प्राप्त व्यक्तिले हस्ताक्षर गर्नुपर्ने हुन्छ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ ले एकल चुनाव चिन्ह लिई दलहरूले निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरेको छ। तर नेपालमा अहिलेसम्म यो व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन।
चुनावमा भाग लिने दलहरूले नयाँ चुनाव चिन्ह अथवा संयुक्त चुनाव लड्नेमध्ये कुनै एउटा दलको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार माओवादी केन्द्रको चुनाव चिन्ह नेपाल समाजवादी पार्टीले प्रयोग गर्न लागेको हो।
यसरी संयुक्त रूपमा निर्वाचनमा गएका दलहरूले चुनावपछि सबैभन्दा धेरै सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन गर्नेछन्। संयुक्त चुनाव लड्नेमध्ये सबैभन्दा धेरै सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने व्यवस्था राजनीतिक दलसम्बन्धी ऐनमा छ। अर्थात् बाबुराम भट्टराईसहित उनको पार्टीका उम्मेदवारले जिते माओवादीको संसदीय दलको सांसद हुनेछन्। उनीहरूलाई माओवादीको ह्विप लाग्नेछ।
बाबुराम भट्टराई र उनको दलका उम्मेदवार विजयी भएपछि ह्विप पालना नगरेको अवस्थामा कारबाही कसरी हुन्छ भन्ने व्यवस्थामा अन्यौल छ। राजनीतिक दलसम्बन्धी ऐनले नै ह्विप उल्लंघन गर्ने सांसदलाई राजनीतिक दलको केन्द्रीय समितिले कारबाही गर्ने व्यवस्था गरेको छ। यस्तोमा संयुक्त चुनाव लड्ने दलहरूका छुट्टाछुट्टै केन्द्रीय समिति हुने भएकाले विवादको अवस्थामा दल भित्रको ह्विपको व्यवस्था खासै कार्यान्वयन नहुने देखिन्छ। फरक दलको संसदीय दलको नेताको ह्विप अर्को दलबाट चुनिएका सांसदहरूले नमानेको अवस्थामा संसदीय दल नै काम गर्न नसक्ने अवस्थामा पुग्ने देखिन्छ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने दलहरूमा विवाद भएको अवस्थामा समाधान गर्ने विषय जटिल रहेको बताएका छन्।
बाबुराम भट्टराईको पार्टी र नेकपा माओवादी केन्द्रले एकल चुनाव चिन्हमा लड्ने भए पनि उम्मेदवारी दिने बेला कुन दलको हो भन्ने छुट्याउनु पर्ने हुन्छ। त्यस्तै समानुपातिक तर्फको सूची पनि एउटै बुझाउनुपर्छ। दलहरूले समानुपातिक तर्फ ११० सिटका लागि बन्दसूची बुझाउनुपर्छ। यसरी बुझाइएको बन्दसूचीमा पनि कुन दलको सदस्य हो भन्ने खुलाउनु पर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
'११० जनाको नाम बुझाउँदा को कुन दलको हो भन्ने उल्लेख गर्नुपर्छ', पौडेलले भने, 'आयोगले चुनाव लड्ने प्रयोजनका लागि एउटा दलको बुझ्छ।'
वामदेव गौतमले भने माओवादीको चुनाव चिन्हमै चुनाव लडेको अवस्थामा उनी माओवादीको सांसद मानिनेछन्। गौतम माओवादीबाट उम्मेदवार बनेर जित हात पारे उनलाई माओवादी केन्द्रको संसदीय दलको ह्विप लाग्छ। त्यस्तै उनलाई केन्द्रीय समितिले सांसदबाट समेत हटाउन सक्छ। अर्थात् अघिल्लो निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा निर्वाचन लडेका हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ताले जस्तै हैसियत गौतमको प्राप्त गर्नेछन्। गौतमले आफूले प्यूठानबाट चुनाव लड्ने सेतोपाटीलाई बताइसकेका छन्।
गौतमको पार्टी निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानको नाममा दर्ता रहेको छ। जसको चुनाव चिन्ह दुई अर्धगोलाकार रेखा भित्र झुकेका धानका तीन बाला छ। गौतम आफैं माओवादी केन्द्रको चुनाव चिन्हबाट उठ्ने भएपनि उनको दल छ्ट्टै रुपमा निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ।