आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले अहिले दल दर्ता गरिरहेको छ।
आयोगले दल दर्ताका लागि आह्वान गरेको सूचनामा दुई वा दुईभन्दा बढी दल मिलेर एउटै चिन्हमा चुनाव लड्न मिल्ने गरी दर्ताका लागि निवेदन दिन सक्ने जनाएको छ।
अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले समाजवादी केन्द्र बनाएर संयुक्त रूपमा निर्वाचनमा जाने गृहकार्य गरिरहेका छन्। कांग्रेससँगै सत्ता गठबन्धनमा रहेका यी चार दलले छुट्टै उपगठबन्धन निर्माण गर्न छलफल गरिराखेका छन्। यसरी संयुक्त रूपमा चुनावमा जाने दलहरूले साउन ३१ गतेभित्र संयुक्त रूपमा चुनावमा जाने गरी निर्वाचन आयोगमा निवेदन दिनु पर्नेछ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग संयुक्त मोर्चा बनाएर निर्वाचनमा जाने गरी छलफल जारी रहेको बताए।
'कुराकानी भइराखेको छ। तर केही समय लाग्छ होला', महराले एकल चुनाव चिन्हमा निर्वाचन लड्ने विषयमा भने, 'हामी एउटै चिन्हमा चुनाव लड्ने सम्भावना छ।'
महराले दाबी गरेजस्तो एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने विषयमा सहमति नजिक नपुगेको एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले बताए।
'एकल चुनाव चिन्हमा निर्वाचन लड्ने सम्भावना छैन', भुसालले भने, 'आफ्नै चुनाव चिन्हमा निर्वाचन लड्ने सम्भावना धेरै छ।'
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ ले एकल चुनाव चिन्ह लिई दलहरूले निर्वाचनमा भाग लिन सक्ने व्यवस्था गरेको छ।
यसरी चुनावमा भाग लिने दलहरूले नयाँ चुनाव चिन्ह अथवा संयुक्त चुनाव लड्नेमध्ये कुनै एउटा दलको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्न पाउँछन्। तर संयुक्त रूपमा निर्वाचनमा गएपछि सबैभन्दा धेरै सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुन्छ। नयाँ निर्वाचन चिन्ह लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी भएमा निर्वाचित सदस्यहरूको नयाँ संसदीय दल गठन हुनेछ। त्यस्तो संसदीय दलले आफ्नो दलको नामसमेत आफैंले निर्धारण गर्न सक्नेछ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यसरी एकल निर्वाचन चिन्ह लिने दलहरूले प्रत्यक्षतर्फ मात्र नभई समानुपातिकतर्फ पनि एउटै चुनाव चिन्ह प्राप्त गर्नेछन्।
'एकल चुनाव चिन्ह प्रत्यक्ष र समानुपातिक दुबैतर्फका लागि हो', थपलियाले सेतोपाटीसँग भने, 'हामीले राजनीतिक दल दर्ता ऐनअनुसार एकल चुनाव चिन्हमा लड्ने दलहरूका लागि पनि दर्ताको आह्वान गरेका हौं।'
थपलियाले एकल चुनाव चिन्हमा निर्वाचन लड्ने विषयमा जटिलता भने रहेको बताए।
'जटिलता हामीले पनि देखेका छौं', थपलियाले भने, 'आयोगले पनि भोलि कुनै 'इस्यु' आयो भने अध्ययन गर्छ। यो विषयमा कानून पनि 'परफेक्ट' छैन।'
अहिले एउटै निर्वाचन चिन्हमा चुनाव लड्ने दल पछि विभाजनमा जाने अवस्थामा जटिलता हुन सक्ने थपलियाले बताए। अरू कस्ता जटिलता आउन सक्छन् भन्ने विषय भने उनले खुलाएनन्।
राजनीतिक दलसम्बन्धी ऐनले संयुक्त निर्वाचन लड्ने दलहरूले एउटै संसदीय दल गठन हुने र त्यस्तो दलले पनि ह्विप लगाउन सक्ने व्यवस्था गरेको छ। ऐनले नै ह्विप उल्लंघन गर्ने सदस्यलाई राजनीतिक दलको केन्द्रीय समितिले कारबाही गर्ने व्यवस्था गरेको छ।
यस्तो अवस्थामा फरक दलको संसदीय दलको नेताको ह्विप अर्को दलबाट चुनिएका सांसदहरूले नमानेको अवस्थामा कारबाही गर्न सक्ने अवस्था रहँदैन। त्यस्तो अवस्थामा संसदीय दल नै काम गर्न नसक्ने अवस्थामा पुग्ने देखिन्छ।
निर्वाचन आयोगका अर्का आयुक्त रामप्रसाद भण्डारी पनि संयुक्त चुनाव चिन्ह लिएर निर्वाचन लडे पनि एउटै संसदीय दल बन्ने अवस्थामा पछि समस्या आउन सक्ने बताउँछन्।
'सरसर्ती हेर्दा केहीगरी विवाद भयो भने जुन दलको व्यक्ति हो त्यो सोही दलको सदस्य मान्न सकिएला तर यो विषयमा थप अध्ययनको आवश्यकता छ', भण्डारीले भने, 'अहिलेसम्म कुनै दल एकल चुनाव चिन्हमा लड्न आएका छैनन्। यो निर्वाचनमा पनि आउलान् जस्तो देखिएको छैन।'
निर्वाचन आयोगका अनुसार यसअघिको निर्वाचनमा पनि दल दर्ताका लागि आह्वान गर्दा एकल चुनाव चिन्हमा लड्न चाहने दलहरूका लागि दर्ता आह्वान भएको थियो। उक्त आह्वानअनुसार कुनै पनि दल दर्ता गर्न पुगेका थिएनन्।
एकल चुनाव चिन्हमा निर्वाचन लड्न दलहरूले आफ्नो पार्टीको केन्द्रीय समितिबाट निर्णय गराउनुपर्छ र त्यस्तो निर्णयसहित आयोगमा दल दर्ताका लागि निवेदन दिनुपर्छ।