कर्णालीको दुर्गम भेगका विभिन्न स्वास्थ्य संस्थाहरूमा स्वयंसेवीका रूपमा काम गर्दै हिँडेका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी यही साउन १४ गते डोल्पाको जगदुल्ला गाउँपालिका पुगेका थिए।
उनी वडा नम्बर ६ काे रिमी स्वास्थ्य चौकीमा गएर हाडजोर्नीसम्बन्धी समस्या भएका नागरिकलाई सेवा दिन चाहन्थे।
दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा दिने भावना राखेर गएका डा. केसीलाई जगदुल्ला गाउँपालिकामा भने स्थानीय जनप्रतिनिधिले नै काम गर्न दिएनन्।
गाउँपालिका अध्यक्ष नारसिंह रोकायाले स्वास्थ्य चौकीका कर्मचारीलाई फोन गरेर उनलाई काम गर्न नदिन निर्देशन दिएका थिए। त्यसलगत्तै स्वास्थ्य चौकीका कर्मचारीले पनि डा. केसीलाई काम गर्न रोक लगाए।
यसबारे डा. केसीले बुधबार सेतोपाटीमा लेख लेखेका छन्। सेवा भावना लिएर दुर्गम क्षेत्र पुगेका एक विशेषज्ञ डाक्टरलाई स्वयंसेवा गर्छु भन्दा पनि किन रोक लगाइयो?
हामीले यही प्रश्न गाउँपालिका अध्यक्ष रोकायालाई सोध्यौं।
उनले डा. केसी आफूसँग कुनै समन्वय नगरी गाउँपालिकामा सेवा गर्न आएको जवाफ दिए। ‘कुनै पनि काम गर्दा गाउँपालिकासँग समन्वय गर्नु जरूरी हुन्छ, उहाँले हामीलाई कुनै पनि जानकारी दिनुभएन,' उनले सेतोपाटीसँग भने, 'त्यसैले हामीले केही समय रोक्न भनेका हौं।’
डा. केसीले आफूसँग समन्वय नगरी स्वास्थ्य चौकीमा सेवा गर्न आउनु अनुचित भएको उनले बताए।
‘उहाँ कोसँग समन्वय गरी यहाँ सेवा गर्न आउनुभयो? कसैले पनि कुनै क्षेत्रमा काम गर्दा त्यस क्षेत्रको नेतृत्वदायी संस्था वा नेतृत्वकर्तासँग समन्वय त गर्नुपर्यो नि,’ गाउँपालिका अध्यक्ष रोकायाले भने।
गाउँपालिका अध्यक्ष रोकायाले रिमी स्वास्थ्य चौकी भएको वडाका अध्यक्ष भीम बोहरालाई डा. केसीको काम रोक्न पठाएका थिए। यसबारे बोहरासँग कुरा गर्दा उनले भने, ‘समन्वय नगरी सेवा गर्न आएको भन्ने कुरा अध्यक्षज्यूले भनेपछि मलाई कुरा गर्न पठाउनुभयो। म आएर कुराकानी भयो। उहाँ कुनै औषधि र कुनै टोलीविना आउनुभएको थियो।’
डा. केसी तीन दिन स्वयंसेवा गर्न डोल्पाको रिमी स्वास्थ्य चौकी पुगेका थिए। स्थानीय जनप्रतिनिधिहरूले काम गर्न नदिएपछि उनले एक दिन मात्र सेवा गरे।
यो एक दिनमा उनले ८० जना बिरामीलाई हेरेका थिए। उनले जाँचेका पहिलो बिरामी उनलाई काम गर्न रोक्ने वडाध्यक्षकै श्रीमती थिइन्। केसीका अनुसार उनको हड्डी भाँचिएको र लकडाउनका कारण उपचार पाएकी थिइनन्।