प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण प्रधाकरणका कार्यकारी अधिकृत शुसील ज्ञवाली र काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई मौलिकता जोगाएर सम्पदाको पुननिर्माण गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री ओलीले पुनर्निमाण भइरहेको त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर,बसन्तपुर क्षेत्रको काष्ठमाण्डप लगायतका विभिन्न मन्दिरहरुको निरक्षणका क्रममा यस्तो निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
गोरखा भूकम्पको चौथो स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा कुनै विवाद नझिक्न पनि आग्रह गरेका छन्।
'भूकम्पपछिको पुनर्निर्माणका क्रममा कुनै पनि विवाद झिक्नु आवश्यक छैन र हाम्रो ऐतिहासिकतालाई पनि तोडमोड गर्नुहुँदैन,' उनले भने।
नेपालीहरुलाई बहादुरीले मात्र होइन विद्वताले पनि चिनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
'नेपालीहरु विद्वान पुर्खाका सन्तान हुन् । हामीलाई संसारले बहादुर भनेर मात्र चिन्यो तर हामीले नेपालाई विद्वानहरुको देश भनेर पनि चिनाउनु पर्छ,' उनले भने।
२०महिनाभित्र पुननिर्माणको सबै काम सकिने प्रधानमन्त्री ओलीले दाबी गरे। 'अबको २० महिना भित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न भइक्छन्,' उनले भने।