आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रका भूकम्प पश्चातको पुनर्निर्माण परियोजनाको भारत र नेपालले संयुक्त रूपमा प्रगति समीक्षा गरेका छन्।
भारत सरकारको २५० मिलियन डलर अनुदानमा भइरहेको यी क्षेत्रहरुको पुनर्निर्माणका लागि सोमबार राजधानीमा समिक्षा भएको हो।
नेपालको नेतृत्व राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीले गरेका थिए भने भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारत सरकार विदेश मन्त्रालयका उत्तर डेस्क सह–सचिव सुधाकर दलेलाले गरेका थिए।
गोरखा तथा नुवाकोट जिल्लाका सामाजिक प्राविधिक सहजीकरण परामर्शदाता युएनडीपी तथा युएनओपीएसले पुनर्निर्माणमा भएको प्रगतिका साथै दुई जिल्लाका लाभग्राहीहरुलाई प्रदान गरिदै आएको सहजीकरण बारे प्रतिवेदन प्रस्तुत गरेको थिए।
पुनर्निर्माण परियोजनामा भएको सम्झौता पश्चात दुवै पक्षको संयुक्त प्रयासद्वारा आवास क्षेत्रमा एथेष्ट प्रगति भएको अवगत गराएका थिए।
शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रका विषयमा पनि छलफल भएको थियो। दुवै पक्ष बीच सबै क्षेत्रका प्रगतिलाई द्रूत गतिमा अघि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।
नेपाली पक्षले भारत सरकारद्वारा नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण परियोजनामा गरेको सहयोगको सराहना गर्यो। पुनर्निर्माण परियोजनाको कार्यान्वयनलाई द्रूत गतिमा अघि बढाउन सँगै काम गर्न पनि दुवै पक्ष सहमत भए।
भारत–नेपाल संयुक्त परियोजना अनुगमन समितिको अर्को बैठक आपसी अनुकुल मितिमा हुने निर्णय भएको छ।