दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह नै नगरी विज्ञप्ति निकालेको खुलेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै दाहालले भेनेजुयलामा राष्ट्रिय सभाका नेता ३५ वर्षीय हुवान गोवाइदोलाई राष्ट्रपतिको वैधानिकता दिने अमेरिकी कदमको कडा आलोचना गरेका थिए।
‘भेनेजुयलाका जनता, राष्ट्रको सार्वभौमसत्ता र चुनावबाट निर्वाचित वैधानिक राष्ट्रपतिका पक्षमा नेकपाले यो विज्ञप्ति जारी गरेको छ,’ दाहालको विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई विभाजित गरी प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिई हिंसा बढाउने मनसायसहित भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका गठबन्धन राष्ट्रले गरेको हस्तक्षेपको भत्सर्ना गर्दछ।’
भेनजुयलामाथि अमेरिकी हस्तक्षेप अस्वीकार्य : प्रचण्ड
आफू विदेशमा भएका बेला जारी यो विज्ञप्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अनभिज्ञता प्रकट गरेका छन्।
स्वीटजरल्याण्डको डावोसमा सम्पन्न वर्ल्ड इकोनोमिक फोरममा सहभागी भएर फर्किएका ओलीलाई शनिबार विमानस्थलमा पत्रकारहरूले प्रचण्डको विज्ञप्तिबारे प्रश्न सोधेका थिए। जवाफ प्रधानमन्त्रीले यो विषयमा आफूले बुझ्न बाँकी रहेको बताए।
प्रधानमन्त्रीले भने- मैले सुनेको छु अलिकति तर म भर्खर आइपुगेको छु।
त्यसपछि उनले कहानी सुनाए।
‘नेपाल कस्तो देश हो भने एकपटक कोही भट्टराई लडेर घाइते हुनुभएछ। त्यसबेला कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो। भट्टाराई भन्नेबित्तिकै उहाँलाई बुझिने अवस्था थियो। ‘भट्टराई लडेर घाइते’ भनेपछि धुमधाम भयो। हामी पनि चिन्तित भयौं।
बुझ्दा त भट्टराईलाई त केही पनि थाहा छैन। भट्टराई त भट्टराई तर अर्कै भट्टराई रहेछ।
जवाफमा उनले अर्को कहानी पनि सुनाए।
‘मिडियामा मेरो फोटोसहित जीप दुर्घटनामा संखुवासभामा निधन भन्ने तपाईंहरूले पढ्नुभयो होला’, ओलीले भने, ‘यस्तो देशमा राम्ररी नबुझिकन नपढिकन प्रतिक्रिया दिनु वाञ्छनिय होला जस्तो लाग्दैन।’
डावोस यात्रामा प्रधानमन्त्रीसँग रहेका उनका परराष्ट्र सल्लाहकार राजन भट्टराईले यात्रामा रहेकाले दुई अध्यक्षबीच भेनेजुयलाबारे सल्लाह हुन नपाएको बताए।
‘उहाँ यात्रामा हुनुहुन्थ्यो। भेनेजुयलामा के भएको हो भन्ने पनि धेरै बुझ्न पाउनु भएको थिएन। प्रचण्डको विज्ञप्तिबारे पनि कुरा भएको थिएन,’ भट्टराईले भने,‘विमानस्थलमा भनेजस्तै यस विषयमा के भएको हो? अध्यक्षहरूबीच छलफल होला।’
भेनेजुयलाबारे विश्वका अधिकांश देश अमेरिका र रूसको खेमामा विभाजित भएका बेला विज्ञप्ति जारी गर्दै प्रचण्डले अमेरिकी कदमको कडा आलोचना गरेका थिए।
दाहालले हुवान गुवाइदोलाई मान्यता दिने अमेरिकी कदम मडुरोमाथिको ग्रान्ड डिजाइन भएको उल्लेख गरेका थिए।
‘आन्तरिक मामिलामाथिको यो हस्तक्षेप र साम्राज्यवादी कुको प्रयास अस्वीकार्य छ,’ दाहालले भनेका विज्ञप्तिमा छन्, ‘अमेरिकाले गत दशकदेखि आर्थिक नाकाबन्दी लगाई सैनिक हस्तक्षेपको डर देखाएर भेनेजुयलामा अस्तव्यस्तता ल्याउन प्रयास गरिरहेको छ। यो संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती हो।’
दाहालले अमेरिका लगायत अन्य राष्ट्रलाई अहस्तक्षेप, राष्ट्रिय सार्वभौमता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई सम्मान गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा दाहालले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायलाई सार्वभौमसत्ताको रक्षा गर्ने भेनेजुयलाका जनताको कदम साथ दिन पनि आह्वान गरेका छन्।
भेनेजुयलामा भएको के हो?
दक्षिण अमेरिकी मुलुक भेनेजुयलाको राष्ट्रिय सभामा विपक्षी नेता हुवान गुवाइदोले बुधबार सरकारविरोधी एक प्रदर्शन क्रममा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे।
त्यसको केही घन्टा नबित्दै शक्ति राष्ट्र अमेरिकाले ३५ वर्षीय हुवानलाई राष्ट्रपतिको वैधानिकता दियो। अमेरिकासँगै ब्राजिल, कोलम्बिया, चिली, पेरू, इक्वेडर, अर्जेन्टिना र पाराग्वे पनि हुवानकै पक्षमा उभिए।
अचानक विकसित भएको यो राजनीतिक घटनापछि वर्षौंदेखि आर्थिक संकटसँग जुधिरहेको भेनेजुयलामा राजनीतिक अनिश्चितता पनि थपिएको छ। दोस्रो कार्यकालका लागि हालै सपथ लिएका राष्ट्रपति निकोलस मडुरोविरूद्ध केही दिनयता लगातार रूपमा प्रदर्शन भइरहेको थियो। प्रदर्शनका क्रममा १०० बढी ज्यान गइसकेको छ।
भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक विकासक्रमबारे विश्वका देशहरू दुई खेमामा विभाजित छन्। रूस र उसको गठबन्धन देशले मडुरोलाई समर्थन गर्दै हस्तक्षेप नगर्न अमेरिकालाई भनिरहेका छन्।
राजनीतिक विश्लेषकहरूले भेनेजुयलाको राजनीतिक भविष्य के हुन्छ? भन्ने त्यहाँको सेनाले कसलाई समर्थन गर्छ भन्नेमा भर पर्ने बताएका छन्।
युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुयलाका नेता मडुरो सन् २०१३ मा सत्तामा आएका थिए। लोकप्रिय कम्युनिष्ट नेता ह्युगो चाभेजले क्यान्सरपीडित भएपछि मडुरोलाई उत्तराधिकारी बनाएका थिए।
त्यतिबेला विद्यार्थी नेता रहेका हुवानले मडुरोलाई सत्ता सुम्पने कदमको विरोध गरेका थिए। मडुरो राष्ट्रपति भएपछि गरिएको संसदीय चुनावमा विपक्षी दलहरूले बहुमत ल्याएपछि उनले घोषणामार्फत् संविधान सभा बनाएका थिए।
सत्ता सञ्चालनबारे विपक्षीहरूसँग खटपट भएपछि मडुरोले संविधान सभा चुनावको घोषणा गरेका थिए।
विपक्षीहरूले बहिष्कार गरेको सो चुनावमा मडुरोनिकटहरूले मात्र उम्मेदवारी दिएका थिए। पछि उक्त संविधान सभाले संसदीय अधिकार पनि आफूसँगै रहेको घोषणा गरेको थियो।
गत वर्ष मे २० मा भएको राष्ट्रपतीय चुनावमा पनि मडुरोले मुख्य विपक्षी नेताहरूलाई उम्मेदवारी दिन रोक लगाएका थिए। सो चुनाव धाँधली गरेर मडुरोले जितेको विपक्षीको आरोप छ।
रूसको लयमा लय मिलाउँदै नेकपा अध्यक्ष दाहालले विज्ञप्ति निकालेपछि भेनेजुयलाबारे नेपाल सरकारले नै आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने दबाब आएको कूटनीतिज्ञले बताएका छन्।
‘उहाँले जारी गरेको विज्ञप्तिले सरकारको धारणा भन्दैन। तर सत्तारूढ दलको अध्यक्षले विज्ञप्ति निकालिसकेपछि योबारे धारणा सार्वजनिक गर्न सोही पार्टीको सरकारलाई दबाब हुन्छ,’ परराष्ट्रविद् डाक्टर भेषबहादुर थापाले सेतोपाटीसँग भने, ‘हेरौं, सरकारले के धारणा राख्छ।’